८ महिनामै भित्रिए डेढ लाख थान विद्युतीय चुलो
सारांश
- पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण ग्यास आपूर्तिमा समस्या आएपछि उपभोक्ताहरू इन्डक्सन चुलोतर्फ आकर्षित भएका छन्।
- इन्डक्सन चुलोको माग बढ्दा व्यवसायीहरू उत्साहित छन्, र यसले आयातमा वृद्धि भएको छ।
- विद्युतीय चुलोको प्रयोग बढे पनि उपभोक्ताहरूले बिजुलीको नियमित आपूर्तिको माग गरेका छन्।
विराटनगर । पश्चिम एसियामा चुलिँदो भू–राजनीतिक तनाव र त्यसले निम्त्याएको सम्भावित इन्धन सङ्कटको परकम्प नेपाली भान्सासम्म पुगेको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको हमला र त्यसपछि महत्त्वपूर्ण मानिने ‘हर्मुज नाका’मा सिर्जना भएको अवरोधका कारण विश्वव्यापी रूपमा एलपी ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भइरहेको छ ।
विश्व बजारमा ग्यासको अभाव र मूल्य आकासिएको बेला नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले आधा सिलिण्डर ग्यास वितरण गर्न निर्देशन दिनु र भरेको सिलिण्डर लिन लामो लाइन लाग्नुपर्ने अवस्था अहिले नै देखिन थालेको छ । यही समस्याका बाबजुद नेपालका उपभोक्ता अहिले वैकल्पिक ऊर्जा, विशेषगरी इलेक्ट्रिक चुलोतिर आकर्षित हुन थालेका छन् ।
विराटनगर–४ की विनिता पोखरेलले इन्डक्सन चुलो प्रयोग गरेको लामो समय भयो । उनको अनुभवमा इन्डक्सन चुलो प्रयोग गर्दा एक त भान्सा सस्तो भएको छ भने अर्कोतिर ग्यास अभाव हुँदा पनि आत्तिनु पर्ने अवस्था छैन ।
उनले भनिन्, ‘सुरुमा ग्यासकै बानी थियो, तर अहिले बिजुलीमा पकाउँदा पैसाको पनि बचत भएको छ । युद्ध भइरहेको छ, ग्यास आउँदैन रे भन्ने सुन्दा पनि अहिले मलाई खासै तनाव छैन ।’
उनीजस्तै अहिले अधिकांश मानिस बजारमा एलपी ग्यास अभाव हुँदा सिलिण्डर लिन लाइन बस्नुभन्दा इन्डक्सन चुलो प्रयोग गर्नतिर आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरान र इजरायलबिचको द्वन्द्वले खाडी क्षेत्रबाट हुने इन्धन आपूर्तिमा ठुलो जोखिम निम्त्याएको छ ।
हर्मुज नाकाबाट विश्वको झन्डै एक तिहाइ तरल प्राकृतिक ग्यास ओसारपसार हुन्छ । त्यहाँ अवरोध हुँदा नेपालजस्ता आयातमा निर्भर देशहरूलाई सबैभन्दा बढी असर पर्ने निश्चित छ ।
यही सङ्कटको सङ्केत पाएपछि विराटनगर–१२ का आयुष थापाले इन्डक्सन चुलो खरिद गरे । उनले ग्यास अभाव हुने त्रासका कारण इलेक्ट्रिक चुलो किन्नु परेको बताए । ‘ग्यास अभाव हुने सुनिएको छ । एउटा सिलिण्डर लिन लाइन बस्नु परेको भिडियोहरू पनि हेरिरहेका छौँ । त्यसो गर्नुभन्दा इन्डक्सन चुलो किन्नु नै ढुक्क हुन्छ भनेर आएको,’ उनले भने, ‘अहिले ग्यास पनि सर्टेज जस्तो देखिन्छ । आधा सिलिन्डर पनि दिइरहेका छैनन् । अब यो पनि बन्द भयो भने त गाह्रो हुन्छ । बरु बिजुली त आफ्नै देशको उत्पादन हो, यो त बन्द हुँदैन नि त, कम्तीमा पकाएर खान त पाइयो ।’

व्यवसायीहरूका अनुसार पनि अहिले विद्युतीय चुलोको मागमा अप्रत्याशित वृद्धि भएको छ ।
विराटनगरस्थित अरुण इलेक्ट्रोनिक्सका सञ्चालक अरुण अग्रवालका अनुसार विगतका हप्ताहरूमा भन्दा अहिले ग्राहकको चाप धेरै छ । ‘पहिले दैनिक १–२ वटा चुलो विक्री हुन्थ्यो । अहिले त दैनिक १० वटासम्म बिक्री भइरहेको छ,’ अग्रवालले भने, ‘अन्तर्राष्ट्रिय बजारमा ग्यासको अभाव भएको खबरले मानिसहरू डराएका छन् । इलेक्ट्रिक चुलोको आयात र बिक्री दुवै दिन प्रतिदिन बढ्दो क्रममा छ ।’
उनले इलेक्ट्रिक चुलो प्रयोग गर्दा समस्या पो हुने हो कि भन्ने डर केही उपभोक्तामा देखिएको बताए । यद्यपि त्यस्तो समस्या अहिलेसम्म नदेखिएको उनको अनुभव छ ।
भन्सार विभागको तथ्याङ्कले पनि नेपाली समाज बिस्तारै विद्युतीय भान्सातर्फ रूपान्तरण भइरहेको पुष्टि गर्छ । विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको फागुन महिनासम्ममा मात्रै ३० करोड ४१ लाख १२ हजार मूल्य बराबरका १ लाख ४७ हजार ८६४ थान इलेक्ट्रिक चुलो नेपाल भित्रिएका छन् । जसमा इन्डक्सन चुलोको हिस्सा सबैभन्दा ठुलो छ ।

तथ्याङ्क अनुसार २२ करोड २७ लाख ५ हजार बराबरको १ लाख ४ हजार ७१७ थान इन्डक्सन चुलो आयात भएको छ । यस्तै, ७ करोड ६७ लाख ७ हजार बराबरको ४२ हजार २१८ वटा इन्फ्रारेड चुलो र अन्य इलेक्ट्रिक स्टोभहरू ९२९ थान आएका छन् ।
राजस्व सङ्कलनको दृष्टिले पनि यी विद्युतीय उपकरणहरू राज्यका लागि आम्दानीको स्रोत बनेका छन् । इन्डक्सन, इन्फ्रारेड र अन्य गरी तीन वटै वस्तुबाट भन्सार विभागले ४ करोड ३३ लाख ७ हजार बराबरको भन्सार राजस्व प्राप्त गरेको छ ।
माघ मसान्तसम्ममा तीन वटै वस्तु आयातको संख्या १ लाख ३९ हजार ६३३ थान रहेकोमा फागुन महिनामा मात्रै थप ८ हजार २३१ थान बढी सामान भित्रिएका छन् ।
अघिल्लो आर्थिक वर्ष (२०८१÷०८२) को तथ्याङ्कसँग तुलना गर्दा यो वर्ष आयातको दर अझै बढ्ने देखिन्छ । गत वर्ष इन्डक्सन, इन्फ्रारेड र अन्य गरी जम्मा ४६ करोड ९१ लाख ६७ हजार मूल्य बराबरको २ लाख ३९ हजार १७२ थान चुलो आयात भएको थियो । जसबाट राज्यले ६ करोड ६८ लाख ५ हजार भन्सार महसुल उठाएको थियो ।
चालु आर्थिक वर्ष सकिन अझै ५ महिना बाँकी रहेको र विश्वव्यापी युद्धको असरका कारण आयातको ग्राफ उकालो लाग्न सुरु गरेको छ । विक्रेता अग्रवालका अनुसार यो वर्ष चुलो आयातले पुरानो रेकर्ड तोड्न सक्ने अनुमान गर्न सकिन्छ ।
_9W8xoWrvVs.jpg)
नेपालले अर्बौं रुपैयाँ खर्चिएर भारतबाट एलपी ग्यास आयात गर्दै आएको छ । तर, हर्मुज नाकामा हुने अवरोधले भारतमै ग्यासको आपूर्ति कम हुन सक्छ, जसको सिधा असर नेपालमा पर्नेछ । यस्तो अवस्थामा स्वदेशमै उत्पादित जलविद्युतको प्रयोग बढाउनुको विकल्प छैन ।
विद्युतीय चुलोको प्रयोग बढ्नु सकारात्मक पक्ष भए पनि सरकारले विद्युतको नियमित आपूर्तिमा ध्यान दिनु जरुरी देखिएको उपभोक्ता बताउँछन् । ‘हामी ग्यासको लाइनबाट मुक्त हुन त चाहन्छौँ, तर अघोषित लोडसेडिङ वा लो–भोल्टेजका कारण फेरि समस्यामा परिने हो कि भन्ने डर छ,’ मोरङ कटहरीका बब्लु मिश्रले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण