शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आरसीबीलाई झट्का: यश दयाल आईपीएलबाट बाहिरिए

मङ्गलबार, १० चैत २०८२, १५ : ०१
मङ्गलबार, १० चैत २०८२

सारांश

  • रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का बलर यश दयालले व्यक्तिगत कारण देखाउँदै आईपीएल २०२६ का खेलहरू नखेल्ने भएका छन्।
  • आरसीबीका अर्का बलर जोस हेजलवुड पनि चोटका कारण सुरुवाती खेलहरूमा उपलब्ध नहुने भएका छन्।
  • दयालभन्दा पहिले नै, हेजलवुडको अनुपस्थितिले आरसीबीको बलिङ आक्रमणमा संकट थपेको छ।

बेंगलुरु । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का लागि आगामी आइपिएल सिजन सुरु हुनुअघि नै नराम्रो खबर आएको छ। टोलीका मुख्य तीव्र गतिका बलर यश दयालले व्यक्तिगत कारण देखाउँदै आईपीएल २०२६ का सबै खेलहरू नखेल्ने भएका छन्। 

आरसीबीका क्रिकेट निर्देशक मो बोबाटले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दयाल टोलीसँग अनुबन्धित रहे पनि यो सिजन मैदानमा नदेखिने पुष्टि गरेका हुन्। निर्देशक बोबाटले दयालसँग कुराकानी भएको र हाल उनी जुन व्यक्तिगत परिस्थितिबाट गुज्रिरहेका छन्, त्यस्तो अवस्थामा टोलीमा आबद्ध हुनु उनी र फ्रान्चाइजी दुवैको हितमा नहुने निर्णय लिइएको बताए। 

यद्यपि, उनले दयालको समस्याबारे विस्तृत जानकारी दिन भने चाहेनन्। यश दयालले सन् २०२५ को आईपीएल फाइनल पछि कुनै पनि व्यावसायिक क्रिकेट खेलेका छैनन्। उनीमाथि यौन दुर्व्यवहारको कानुनी मुद्दा समेत चलिरहेको छ, जसले गर्दा उनको उपलब्धता पहिलेदेखि नै शंकाको घेरामा थियो।

आरसीबीले अक्सन (लिलामी) को समयमै दयाल उपलब्ध नहुन सक्ने ‘खराब अवस्था’ लाई ध्यानमा राखेर रणनीति बनाएको बोबाटले स्वीकार गरेका छन्। दयालको अनुपस्थितिसँगै आरसीबीको तीव्र गतिको बलिङ आक्रमणमा थप संकट पैदा भएको छ। 

टोलीका अर्का मुख्य बलर अस्ट्रेलियाका जोस हेजलवुड पनि पुरानो चोटका कारण सिजनको सुरुवाती खेलहरूमा उपलब्ध हुने छैनन्। यतिबेला आरसीबीले हेजलवुडको स्वास्थ्य अवस्थाबारे क्रिकेट अस्ट्रेलियासँग समन्वय गरिरहेको छ।

मुख्य दुई बलरहरूको अभावमा अब आरसीबीको बलिङको कमाण्ड अनुभवी भारतीय बलर भुवनेश्वर कुमारको काँधमा आइपुगेको छ। टोलीसँग अन्य विकल्पका रूपमा रसिक सलाम, अभिनन्दन सिंह, मंगेश यादव जस्ता अनक्याप्ड भारतीय खेलाडीहरू छन् भने विदेशी बलरहरूमा ज्याकोब डफी, नुवान थुसारा र अलराउन्डर रोमारियो शेफर्ड रहेका छन्। 

मार्च २८ मा सनराइजर्स हैदराबाद विरुद्धको पहिलो खेलमै आरसीबीले आफ्नो नयाँ बलिङ रणनीतिको कडा परीक्षा दिनुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप