कांग्रेसको पुनर्जागरण : नैतिक जवाफदेहितादेखि संरचनागत रूपान्तरणसम्मको मार्गचित्र
सारांश
- नेपाली कांग्रेसले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्ने अभिभारालाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने बेला आएको छ।
- कांग्रेसले सरकारलाई सुशासन र विकासको बाटोमा डोर्याउन रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ, र ३५ वर्षको सुशासनको समीक्षा आवश्यक छ।
- पार्टीलाई सुदृढ बनाउन र युवा पुस्तालाई आकर्षित गर्नका लागि संगठन सुदृढीकरण र १५औं महाधिवेशनको कार्यतालिका पारित गरिनेछ।
नेपाली राजनीतिको एउटा विशिष्ट र अत्यन्त संवेदनशील मोडमा नेपाली कांग्रेस उभिएको छ। २००७ सालको क्रान्तिदेखि आजसम्म आइपुग्दा नेपाली माटोमा लोकतन्त्रको बिरुवा हुर्काउन आफ्नो प्राणको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैगर्दा, हामीले उनीहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र स्वतन्त्रताको रक्षा गर्ने युगीन अभिभारालाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने बेला आएको छ।
पछिल्लो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै देशले एउटा नयाँ राजनीतिक कोर्ष लिएको छ। नागरिकहरूले लोकतन्त्र र निर्वाचन प्रक्रियामा देखाएको उत्साहपूर्ण सहभागिता र प्रतिबद्धता लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। यो निर्वाचनमार्फत सुविधायुक्त ढंगले आगामी पाँच वर्षका लागि सरकार सञ्चालन गर्ने जनादेश प्राप्त गरेको नयाँ नेतृत्वलाई नेपाली कांग्रेस हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ। संविधानको मर्म, लोकतान्त्रिक भावना र आजको नौजवान पुस्ताको सुशासनप्रतिको भोकलाई सम्बोधन गर्दै यो सरकारले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरोस् भन्ने हाम्रो शुभेच्छा छ।
यस लेखमार्फत मैले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राखेका केही गम्भीर विषय, राष्ट्रिय राजनीतिमा कांग्रेसको अबको भूमिका र पार्टीको आन्तरिक जीवनलाई रूपान्तरण गर्ने भावी खाकालाई आम सञ्चारमाध्यम र देशभरिका लाखौं साथीहरूको बीचमा सार्वजनिक बहसमा ल्याउने जमर्को गरेको छु।
१. नैतिक जवाफदेहिता : राजनीतिक संस्कारको सुरुआत
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामपछि, मैले फागुन ३ गते नै नेपाली कांग्रेसको नेतृत्व तहमा आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ। यो राजीनामा कुनै हतारो वा हतास मनस्थितिको उपज थिएन। यो त केवल अकाउन्ट्याबिलिटी अर्थात् नैतिक जवाफदेहिताको उच्चतम् अभ्यास थियो।
विशेष महाधिवेशन नगरीकन हामी जुन प्रतिकूल अवस्थामा निर्वाचनमा होमियौं, त्यसको सामना कसरी गर्नुपर्यो भन्ने कुरा निर्वाचित भएका साथीहरू र प्रतिस्पर्धा गरेका १४७ जना उम्मेदवारहरूलाई राम्ररी थाहा छ। निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका लागि मत माग्न नजाने वा असहयोग गर्ने प्रवृत्तिले पार्टीलाई कति क्षति पुर्यायो भन्ने विषयको समीक्षा हुँदै गर्ला। तर, एउटा निर्वाचन अभियानको कमान्ड सम्हालेको नेतृत्वकर्ताको हैसियतले पराजय वा अपेक्षित परिणाम नआउनुको सम्पूर्ण नैतिक जिम्मेवारी लिनु मेरो राजनीतिक धर्म थियो।
राजनीतिमा पद भन्दा माथि नैतिकता हुन्छ। मैले राजीनामा दिँदा यसको बाह्य टिप्पणी के होला भन्ने कुरालाई प्राथमिकतामा राखिनँ। मलाई केवल पार्टीका ती इमानदार र निष्ठावान् कार्यकर्ताहरूको चिन्ता थियो, जसले अत्यन्त प्रतिकूल अवस्थामा पनि पार्टीको झन्डा बोकेर रातदिन खटेका थिए। विधानको व्यवस्थाबमोजिम मेरो राजीनामा केन्द्रीय समितिमा प्रवेश पायो।
केन्द्रीय समितिले दुई दिनसम्म सघन छलफल गरेर वर्तमान नेतृत्वले नै आगामी महाधिवेशनसम्मको जिम्मेवारी पूरा गर्नुपर्ने निर्णय गर्यो। यद्यपि मेरो अपेक्षा राजीनामा स्वीकृत होस् र एउटा नयाँ संस्कारको थालनी होस् भन्ने थियो। तर, लोकतान्त्रिक पार्टीमा व्यक्ति भन्दा संस्था ठूलो हुन्छ। म भन्दा केन्द्रीय कार्यसमिति ठूलो हो र केन्द्रीय समिति भन्दा महाधिवेशन ठूलो हो। त्यसैले केन्द्रीय समितिको निर्णयलाई सम्मान गर्दै मैले यो अध्यायलाई यहीँ विश्राम दिएको छु। अब निर्वाचन र नेतृत्वको मूल्याङ्कनको अन्तिम छिनोफानो आगामी १५औं महाधिवेशनको हलले नै गर्नेछ।
२. सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका
निर्वाचनले नेपाली कांग्रेसलाई सरकारको साँचो होइन, संसद्मा प्रमुख प्रतिपक्षको गरिमामय जिम्मेवारी सुम्पेको छ। लोकतन्त्रमा सरकारको जति महत्त्व हुन्छ, प्रतिपक्षको भूमिका त्यो भन्दा कुनै कोणबाट कम हुँदैन। अझ संसद्मा सरकार गणितीय रूपमा अत्यधिक बलियो भएको अवस्थामा प्रतिपक्षको भूमिका झनै चनाखो, सशक्त र जिम्मेवार हुनुपर्छ।
हामीले निर्वाचनको बेला जनतासामु एउटा प्रतिज्ञा गरेका थियौँ, आगामी पाँच वर्षमा सुशासन, विकास र सेवा प्रवाहको गतिलाई तीनदेखि चार गुणाले बढाउनेछौँ। जनताले हामीलाई सरकारमा गएर यो काम गर्ने जनमत दिएनन्, तर प्रतिपक्षमा रहेर सरकारलाई यो बाटोमा हिँडाउन निरन्तर खबरदारी गर्ने म्यान्डेट दिएका छन्। त्यसैले, हामी हाम्रो प्रतिज्ञाबाट पछि हट्ने छैनौं।
हाम्रो प्रतिपक्षीय भूमिका रचनात्मक हुनेछ। देश विकास र सुशासनको यात्रामा सरकारले सही कदम चाल्दा हाम्रो पूर्ण साथ र प्रोत्साहन रहनेछ। तर, जहाँ सरकारको गति सुस्त हुन्छ, जहाँ नागरिकका अधिकार कुण्ठित हुन्छन्, त्यहाँ हाम्रो कडा दबाब र निर्मम प्रश्न खडा हुनेछ। हामीले यो पनि प्रतिज्ञा गरेका थियौं कि देशलाई अब कुनै पनि दुर्घटना वा अतिवादको भुमरीमा फस्न दिने छैनौं। विगतमा पटक-पटक राजनीतिक अस्थिरता र द्वन्द्वको चपेटामा परेको देशलाई अब कुनै पनि प्रकारको राजनीतिक दुर्घटनाबाट जोगाउने र अतिवादलाई निस्तेज पार्ने प्रमुख पहरेदारको भूमिका नेपाली कांग्रेसले निर्वाह गर्नेछ।
३. सुशासनको सङ्कल्प : ३५ वर्षको निर्मम समीक्षाको आवश्यकता
नयाँ बन्ने सरकारसँग आम नागरिकको ठूलो अपेक्षा छ, विशेषगरी सुशासनको क्षेत्रमा। सुशासनका गफ धेरै भए, अब निर्मम एक्सनको आवश्यकता छ। हामीले स्पष्ट भनेका छौँ, अबको पाँच वर्ष सुशासन र विकासको नयाँ अध्याय हुनुपर्छ। तर, अगाडिको बाटो तय गर्दैगर्दा विगतलाई चटक्कै भुलेर वा विगतका अपराधहरूलाई उन्मुक्ति दिएर नयाँ अध्याय सुरु हुन सक्दैन।
त्यसैले, नेपाली कांग्रेस प्रस्ट रूपमा यो प्रस्ताव अघि सार्दछ : २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बनेको २०४८ सालको सरकारदेखि आज २०८२ सालसम्म जति पनि सरकारहरू बने, ती सबै कालखण्डमा सार्वजनिक पदधारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एउटा उच्चस्तरीय र अधिकारसम्पन्न 'सम्पत्ति छानबिन आयोग' तत्काल गठन गरियोस्। सार्वजनिक पदको दुरुपयोग गरेर, भ्रष्टाचार गरेर वा अनुचित लाभ लिएर गैरकानुनी रूपमा आर्जन गरिएको जुनसुकै सम्पत्ति जफत गरिनुपर्छ। नयाँ सरकारले यसका लागि सय दिनभित्र आयोग बनाउने जुन घोषणा गरेको छ, त्यसमा नेपाली कांग्रेसको पूर्ण समर्थन र खबरदारी रहनेछ।
यो ३५ वर्षको अवधिमा देशले राजनीतिक क्रान्ति र परिवर्तनका ठूला फड्को मारेको साँचो हो। तर, यही अवधिमा शासकीय शक्तिको चरम दुरुपयोग पनि भयो। सार्वजनिक ओहोदामा बस्नेहरूले राज्यको ढुकुटीमाथि गरेको दोहनका कारण आज नागरिकमा चरम निराशा छ। चियापसलदेखि चोकचोकसम्म आज काण्डै काण्डका मात्र चर्चा छन्।
चाहे त्यो गिरिबन्धु टी-स्टेटको जग्गा घोटाला प्रकरण होस्, चाहे ललिता निवासको सरकारी जग्गा हिनामिना होस्, चाहे वाइडबडी विमान खरिद प्रकरण होस् वा भाद्र २४ गते अमुक नेताको घरमा भेटिएको भनिएको जग्गाको अकुत पैसाको विषय होस्— यी कुनै पनि काण्डहरू अब राजनीतिक सौदाबाजी वा आरोप-प्रत्यारोपका विषय मात्र बन्नु हुँदैन। कांग्रेसको स्पष्ट मान्यता छ : यी सबै प्रकरणको कानुनसम्मत, निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्छ। दुधको दुध र पानीको पानी छुट्याइनुपर्छ। भ्रष्ट्राचार गर्ने व्यक्ति जुनसुकै पार्टी वा ओहोदाको किन नहोस्, उसले आफ्नो कर्मको भारी आफैं बोक्नुपर्छ। अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका सन्दर्भमा कुनै पनि पूर्वाग्रह नराखी दोषीलाई कडा कारबाही गर्ने कुरामा नेपाली कांग्रेसले कसैसँग कुनै सम्झौता गर्ने छैन।
४. सहकारी ठगी : नागरिकको पसिनाको रक्षा
आज देशव्यापी रूपमा उठेको अर्को सबैभन्दा ज्वलन्त र गम्भीर विषय हो, सहकारी ठगी। आज हजारौं सर्वसाधारण नागरिक, जसले आफ्नो जीवनभरको पसिना काटेर, गाँस काटेर सहकारीमा दुई–चार पैसा जम्मा गरेका थिए, उनीहरू सडकमा रुन बाध्य छन्। माइतीघर मण्डलादेखि देशका विभिन्न सडकहरूमा पीडितहरूको आर्तनाद गुन्जिरहेको छ।
सहकारी ठगी कुनै सामान्य आर्थिक हिनामिना होइन, यो आम गरिब र मध्यमवर्गीय नागरिकमाथिको गम्भीर आर्थिक अपराध हो। यसमा जसको संलग्नता देखिए पनि उसलाई तत्काल कानुनी दायरामा ल्याइनुपर्छ। अनुसन्धानका क्रममा जो दोषी देखिन्छ, ऊ सत्तामा होस् वा विपक्षमा, ऊ कुन पार्टीको हो वा कुन पदमा आसीन छ भन्ने कुराले कुनै अर्थ राख्नु हुँदैन। तर, दोषीलाई कारबाही गरेर मात्र पुग्दैन; राज्यको प्रमुख दायित्व भनेको ती गरिब नागरिकको डुबेको रकम स-ब्याज फिर्ता गराउनु हो।
नयाँ सरकारले सहकारी ठगी प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै पीडितको बचत फिर्ता गराउने ग्यारेन्टी तत्काल गरोस्। नेपाली कांग्रेस यस कार्यमा सरकारलाई पूर्ण सहयोग गर्न तयार छ र ढिलासुस्ती भएमा सडक र सदन दुवै तर्फबाट कडा आन्दोलन गर्न पनि पछि पर्ने छैन।
५. संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार
विगत केही वर्षयताको हाम्रो संसदीय अभ्यासले एउटा गम्भीर यथार्थलाई उजागर गरेको छ— वर्तमान निर्वाचन प्रणालीले कुनै पनि एउटा राजनीतिक दललाई स्पष्ट बहुमत ल्याउन लगभग असम्भव बनाएको छ। सधैं मिलिजुली र गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यात्मक अवस्थाले देशमा चरम राजनीतिक अस्थिरता, नीतिगत विचलन र सत्ता स्वार्थको फोहोरी खेललाई प्रश्रय दिएको छ। आम नागरिकमा यो निर्वाचन प्रणालीप्रति गम्भीर वितृष्णा पैदा भइसकेको छ।
त्यसैले, अब निर्वाचन प्रणालीमा गम्भीर सुधार गर्नुपर्ने बेला आइसकेको छ। तर, निर्वाचन प्रणाली परिवर्तन गर्नु भनेको संविधान संशोधन गर्नु हो। संविधान संशोधन कुनै एउटा दलको चाहना वा बहुमतले मात्र सम्भव हुने वा गरिनु पर्ने विषय होइन; यसका लागि बृहत् राष्ट्रिय सहमति आवश्यक पर्छ। तसर्थ, नेपाली कांग्रेसको केन्द्रीय समितिले अबिलम्ब एउटा ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गर्नुपर्छ। यस समितिले निर्वाचन प्रणालीलाई कसरी स्थिर र जनमुखी बनाउने, साथै संविधान कार्यान्वयनका क्रममा देखिएका अन्य त्रुटिहरूलाई कसरी सच्याउने भन्ने विषयमा गहन अध्ययन गरी पार्टीलाई ठोस सुझाव दिनेछ। सोही सुझावका आधारमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग राष्ट्रिय सहमतिको पहलकदमी अगाडि बढाउनेछ।
६. पार्टीको आन्तरिक जीवन र संगठन सुदृढीकरण
राष्ट्रिय राजनीतिका यी अभिभाराहरू पूरा गर्न नेपाली कांग्रेस स्वयम् भित्रबाट बलियो, सुदृढ र रूपान्तरित हुन आवश्यक छ। हामीले १६५ वटै निर्वाचन क्षेत्रमा गएर गत निर्वाचनको निर्मम र वस्तुगत समीक्षा गर्नुपर्छ। कहाँ हाम्रो संगठन बलियो छ? कहाँ हामी चुक्यौं? अन्तर्घातका कारणहरू के हुन्? यी सबै विषयको चिरफार नगरी हामी अगाडि बढ्न सक्दैनौं।
आज देशमा, विशेष गरी युवा पुस्तामा चरम निराशा छाएको छ। यो निराशालाई चिर्ने तागत नेपाली कांग्रेसले राख्नुपर्छ। यसका लागि हामीले हाम्रा कार्यक्रम र एजेन्डाहरूलाई युवालक्षित बनाउनुपर्छ र संगठनलाई गाउँ, टोल र प्रत्येक घरको दैलोसम्म पुर्याउनुपर्छ।
यस संगठनात्मक पुनर्जागरणका लागि म नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको स्पष्ट कार्यतालिका (क्यालेन्डर) यसै केन्द्रीय समितिबाट पारित गर्न प्रस्ताव गर्दछु :
• २०८२ वैशाख १ गतेदेखि: पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणको महाअभियान सुरु गर्ने। यो प्रक्रिया पूर्ण रूपमा 'अनलाइन' मार्फत हुनुपर्छ, ताकि स्वदेश तथा विदेशमा रहेका जो कोही पनि लोकतन्त्रप्रेमी नागरिकले सहजै कांग्रेसको सदस्यता प्राप्त गर्न सकुन्। यसले पार्टीलाई प्रविधिमैत्री र पारदर्शी बनाउनेछ।
• २०८२ साउन ६ गते: देशभर एकैसाथ वडा अधिवेशन सम्पन्न गर्ने।
• २०८२ साउन १२ गते: पालिका तहका अधिवेशनहरू सम्पन्न गर्ने।
• २०८२ साउन २३ गते: प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने।
• २०८२ साउन ३० गते: प्रतिनिधि सभा क्षेत्रीय (जिल्ला क्षेत्र) अधिवेशन सम्पन्न गर्ने।
• २०८२ भदौ ६ र ७ गते: सबै जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने।
• २०८२ भदौ १५ र १६ गते: सातवटै प्रदेशका अधिवेशनहरू सम्पन्न गर्ने।
• २०८२ भदौ २४, २५ र २६ गते: नेपाली कांग्रेसको ऐतिहासिक १५औं केन्द्रीय महाधिवेशन संघीय राजधानी काठमाडौंमा भव्यताका साथ सम्पन्न गर्ने।
यो स्पष्ट कार्यतालिकालाई आजै अनुमोदन गरेर अगाडि बढ्दा पार्टी पङ्क्तिमा छाएको अन्योल हट्नेछ र ग्रास रुट (तल्लो तह) सम्म एउटा नयाँ सांगठनिक ऊर्जाको सञ्चार हुनेछ।
७. क्याडर बेस्डबाट मास बेस्ड पार्टी र ल्याटरल इन्ट्रीको अवधारणा
विश्वको राजनीति द्रुत गतिमा परिवर्तन भइरहेको छ। हिजोको परम्परागत शैलीले मात्र अबको पुस्तालाई नेतृत्व गर्न सकिँदैन। अब नेपाली कांग्रेसलाई सीमित कार्यकर्तामा आधारित क्याडर बेस्ड (Cadre-based) पार्टीको घेराबाट बाहिर निकालेर सम्पूर्ण जनसमुदायमा आधारित खुला मास बेस्ड (Mass-based) पार्टीमा रूपान्तरण गर्नुपर्छ।
पार्टीभित्र विद्यमान गुट–उपगुटको अस्वस्थ प्रतिस्पर्धालाई वैचारिक मन्थनमा रूपान्तरण गरी उचित व्यवस्थापन गर्नुपर्छ। यसका साथै, मैले अत्यन्त महत्त्वका साथ अघि सारेको विषय हो, ल्याटरल इन्ट्री (Lateral Entry) को व्यवस्था। राजनीतिमा जीवनभर झोला बोकेका मात्र आउनुपर्छ भन्ने छैन। अर्थतन्त्र, प्रविधि, स्वास्थ्य, शिक्षा, कूटनीति, पूर्वाधार लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो विज्ञता र उत्कृष्टता प्रमाणित गरिसकेका क्षमतावान् व्यक्तिहरूलाई पार्टीको नेतृत्व तहमा सहजै प्रवेश गराउने वैधानिक व्यवस्था नै 'ल्याटरल इन्ट्री' हो। यस्ता विज्ञहरू पार्टीमा जोडिएपछि मात्र पार्टीले आधुनिक राज्य सञ्चालनको स्पष्ट खाका कोर्न सक्छ र देशले उनीहरूको विज्ञताको भरपूर उपयोग गर्न पाउँछ।
८. नेतृत्व प्रतिष्ठानको स्थापना
अन्तमा, पार्टीलाई वैचारिक र रणनीतिक रूपमा तिखार्न नेपाली कांग्रेसभित्र एउटा अधिकारसम्पन्न र साधनस्रोत युक्त नेतृत्व प्रतिष्ठान (Leadership Academy) को स्थापना गर्नु नितान्त आवश्यक भइसकेको छ। यस प्रतिष्ठानले पार्टीका हजारौं कार्यकर्ता, भ्रातृ संस्थाका प्रतिनिधिहरू तथा स्थानीय, प्रदेश र संघीय तहमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूलाई नियमित रूपमा सैद्धान्तिक, व्यावहारिक र प्राविधिक प्रशिक्षण दिनेछ। यसले हाम्रा नेता तथा कार्यकर्ताहरूको नेतृत्व क्षमता, नीति निर्माणको ज्ञान र जनसेवाको सीपलाई समयानुकूल अभिवृद्धि गर्नेछ।
निष्कर्ष:
नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलनको ढुकढुकी हो। हिजोका दिनमा राणाशासन, पञ्चायत र राजतन्त्र ढाल्न जसरी यो पार्टीले अभूतपूर्व नेतृत्व गर्यो, आज सुशासन कायम गर्न, भ्रष्टाचार निर्मूल पार्न र आर्थिक समृद्धिको ढोका खोल्न पनि यसले त्यही स्तरको क्रान्तिकारी नेतृत्व दिनु आवश्यक छ।
जवाफदेहिताको सुरुवात आफैंबाट गरेर, सुशासनको एजेन्डालाई कडाइका साथ उठाएर र पार्टीको आन्तरिक संरचनालाई महाधिवेशनको स्पष्ट कार्यतालिका र आधुनिक अवधारणाहरूमार्फत सुदृढ गरेर मात्र हामीले आउने पुस्तालाई एउटा जीवन्त र भरोसायोग्य कांग्रेस हस्तान्तरण गर्न सक्नेछौं। केन्द्रीय कार्यसमितिले यी गम्भीर प्रस्तावहरूमाथि विवेकपूर्ण छलफल गरी पार्टी र राष्ट्रको हितमा ठोस र ऐतिहासिक निर्णय गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
जय नेपाल !
(नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा गरिएको सम्बोधनको सम्पादित अंश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण