मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
युद्धको छाया

पश्चिम एसिया युद्धको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि

मङ्गलबार, १० चैत २०८२, १६ : ३०
मङ्गलबार, १० चैत २०८२

सारांश

  • हेटौंडा औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव र मूल्यवृद्धिका कारण उद्योगहरू बन्द हुने अवस्था आएको छ।
  • अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा अवरोधले उद्योगीहरू उत्पादन कटौती गर्न बाध्य भएका छन्।
  • उद्योगीहरूले पेट्रोलियम पदार्थ, प्लास्टिकका दाना, र गहुँको आयात प्रभावित हुँदा बजारमा अभाव र मूल्यवृद्धि भएको बताएका छन्।

मकवानपुर । पश्चिम एसियामा बढ्दो तनावको प्रभाव विश्वव्यापी रूपमा पर्न थालेको छ । नेपालकै ठुलो औद्योगिक क्षेत्रका रूपमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा पनि पश्चिम एसिया युद्धको प्रभाव देखिएको छ ।

युद्धभूमिबाट भौगोलिक रूपमा निकै टाढा रहे पनि कच्चा पदार्थ र इन्धनका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर नेपाली उद्योग अहिले आपूर्तिमा देखिएको समस्याले सङ्कटमा छन् ।

हेटौंडा औद्यागिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार १४७ वटा प्लटमध्ये १२६ प्लटमा उद्योग सञ्चालनमा छन् । ४ वटा उद्योग निर्माणको क्रममा छन् भने बाँकी प्लटमा सार्वजनिक संस्थान चलिरहेका छन् । पछिल्लो समयमा सञ्चालनमा रहेका उद्योगहरूले पनि पूर्ण क्षमतामा उत्पादन गर्न सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ ।

विशेषगरी पेट्रोलियम पदार्थमा आधारित कच्चा पदार्थको मूल्य अप्रत्याशित बढेको र आपूर्ति शृङ्खलामा देखिएको अवरोधले हेटौंडाका उद्योगीहरू उत्पादन कटौती तथा उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

उद्योगीहरूका अनुसार प्लास्टिकका दानादेखि खाद्य सामग्रीका लागि आवश्यक गहुँसम्मको आयात प्रभावित हुँदा एकातिर बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि भएको छ भने अर्कोतिर उद्योग सञ्चालनमा चुनौती थपिएको छ । आगामी महिनादिनसम्म यस्तै अवस्था रहे अधिकांश उद्योग कच्चा पदार्थको अभावमा बन्द हुने उद्योगीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढ्दा ढुवानी खर्च आकासिनु र विद्युत् सङ्कटका कारण महँगो डिजेल प्रयोग गरेर उद्योग चलाउनुपर्ने दोहोरो मारमा परिएको उनीहरू बताउँछन् ।

उद्योग परिसंघ बागमती प्रदेशका उपाध्यक्ष एवं उद्योगी स्वागतराज प्याकुरेलका अनुसार अन्तर्राष्ट्रियस्तरमा बढ्दो तनाव र आर्थिक अस्थिरताका कारण नेपाली उद्योगमाथि अनेक चुनौती देखापरेको छ । पछिल्लो समय कच्चा पदार्थको उपलब्धता, अनपेक्षित मूल्यवृद्धि तथा इन्धनको सहज आपूर्तिमा बाधा पुग्दा उत्पादन क्षेत्रहरू प्रभावित बनिरहेको उनको भनाइ छ ।

युद्धका कारण उद्योगहरू बन्द हुने तथा चलेकाले पनि उत्पादन कटौती गर्नुपर्दा दैनिक ३ करोड रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नुपर्ने बाध्यता रहेको प्याकुरेलले बताए । गत जनवरी वा फेब्रुअरीको तुलनामा अहिले प्याकेजिङका लागि प्रयोग हुने प्लास्टिकको दानाको मूल्य झन्डै दोब्बर भइसकेको उनले बताए ।

प्याकुरेलले प्लास्टिकजन्य उद्योगका साथै पेन्ट उद्योगहरू पनि समस्यामा रहेको जिकिर पारे । पेन्ट बनाउन आवश्यक पर्ने इमल्सन र अन्य कच्चा पदार्थ पेट्रोलियम पदार्थमा आधारित हुने भएकाले तिनको मूल्य बढ्नुका साथै बजारमा उपलब्धता समेत कम हुँदै गएको उनको भनाइ छ ।

‘हेटौंडा औद्योगिक क्षेत्रमा साढे १० घण्टासम्म विद्युत् अवरुद्ध हुन्छ । यस्तो अवस्थामा महँगो डिजेल प्रयोग गरेर जेनेरेटरमार्फत उद्योग चलाउनु पर्दा लागत झनै बढेको छ । डिजेलको मूल्य वृद्धिले ट्रान्सपोर्टेसनमा पनि सिधा मार पारेको छ,’ प्याकुरेलले भने ।

वर्तमान समस्या समाधानका लागि पेट्रोलियम पदार्थ र इन्धनको सहज व्यवस्थापनका लागि सरकारले कूटनीतिक र प्रो–एक्टिभ भूमिका खेल्नुपर्नेमा प्याकुरेलले जोड दिए ।

बैंकहरूले ब्याजदरमा केही राहत र भुक्तानी प्रक्रियामा सहजता ल्याइदिए उद्योगीहरूले बेलैमा कच्चा पदार्थ सुरक्षित गर्न सक्ने अवस्था रहने उनले प्रस्ट पारे । ६० वर्षदेखि एउटै ढर्रामा चलिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भूमिकामा समयसापेक्ष सुधार र परिवर्तन आवश्यक रहेको पनि उनले औँल्याए ।

प्याकुरेलले बजारमा व्याप्त नकारात्मक सेन्टिमेन्टका कारण पनि औद्योगिक वातावरण बिग्रँदै गएकाले यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको युद्धको प्रभावले हेटौंडाका उद्योगहरू धराशायी हुने स्थितिमा पुगेको बताए ।

शर्माका अनुसार हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरू पूर्णतः आयात गर्नुपर्ने कच्चा पदार्थमा निर्भर रहेकाले बाह्य द्वन्द्वको असर सिधै उत्पादनमा देखिएको हो । विशेषगरी पेट्रोलियम पदार्थमा आधारित कच्चा पदार्थ प्रयोग गर्ने प्लास्टिक उद्योगहरू सबैभन्दा बढी प्रभावित भएको उनले बताए ।

अध्यक्ष शर्माले खाद्य उद्योगहरू समेत सङ्कटमा रहेको औँल्याए । स्वदेशी कच्चा पदार्थ नहुँदा पिठो उद्योगका लागि गहुँ समेत बाह्य मुलुकबाटै आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘हेटौंडामा करिब २८ देखि ३२ वटा प्लास्टिक उद्योगहरू छन् । प्लास्टिकका दानाहरू पेट्रोलियम उत्पादनबाटै बन्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्ने बित्तिकै हेटौंडाका उद्योगहरूमा प्रत्यक्ष असर परिसकेको छ,’ शर्माले भने, ‘नेपालका ठुला व्यापारीहरूले यसै बहानामा कच्चा पदार्थको भाउ ५० देखि ५५ प्रतिशतसम्म बढाइसकेको र बजारमा कृत्रिम अभाव समेत सिर्जना गर्न थालिएको छ ।’

अहिलेको परिस्थिति लम्बिँदै गएमा हेटौंडाका धेरै उद्योग बन्द हुने अवस्थामा पुग्ने शर्माको भनाइ छ । बाह्य अवरोधका कारण कच्चा पदार्थको आपूर्ति शृङ्खला बिग्रँदा औद्योगिक क्षेत्रको उत्पादन कटौती र आर्थिक मन्दीको जोखिम बढेको उनले प्रस्ट पारे ।

उक्त विषयमा उद्योग संघ मकवानपुरले नेपाल उद्योग परिसंघ लगायतका माथिल्लो निकाय र महासंघहरूसँग अनौपचारिक संवाद र छलफल गरिरहेको शर्माको भनाइ छ ।

कच्चा पदार्थ अभावले उद्योग बन्द हुने अवस्थामाः कुँवर

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका क्षेत्र व्यवस्थापक संगीता कुँवरले कच्चा पदार्थको अभाव र मूल्यवृद्धिका कारण उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइन् ।

बाह्य मुलुकबाट आउने कच्चा पदार्थमा निर्भर उद्योगहरू, विशेषगरी प्लास्टिक उद्योगहरू सबैभन्दा बढी प्रभावित भएको उनले बताइन् ।

‘प्लास्टिकका दानाहरू बाहिरबाटै आउनुपर्ने हुन्छ । अहिलेको स्थिति हेर्दा उद्योगहरूसँग भएको मौज्दातले १५ दिनदेखि बढीमा एक महिनासम्म मात्र उत्पादन धान्न सक्ने देखिन्छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र कच्चा पदार्थको बढ्दो लागतका कारण उत्पादन प्रक्रिया महँगो भएको छ ।’

हेटौंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग तेस्रो मुलुकबाट आउने कच्चा पदार्थमा आधारित रहेकाले यो समस्या प्लास्टिकमा मात्र सीमित नभई खाद्यान्न लगायतका अन्य क्षेत्रमा पनि देखिन थालेको कुँवरले प्रस्ट पारिन् ।

उनका अनुसार हेटौंडा औद्योगिक क्षेत्रमा हाल कुल १४७ वटा उद्योगमध्ये १२६ वटा सञ्चालनमा छन् । ती उद्योग पनि अहिले आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको उनको भनाइ छ ।

कुँवरका अनुसार कतिपय उद्योग ४० देखि ५० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका छन् । उत्पादनमा आएको गिरावटले आगामी दिनमा रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने उनले बताइन् ।

औद्योगिक क्षेत्रमा देखिएको सङ्कट समाधानका लागि कार्यालयले माथिल्लो निकायसँग समन्वय गरिरहेको कुँवरले बताइन् । ‘हामीले अनौपचारिक रूपमा केन्द्र र मन्त्रालयलाई वस्तुस्थितिको जानकारी गराइरहेका छौँ । थप केही समयको अवस्था हेरेर नीतिगत सुधारका लागि उद्योग मन्त्रालय र सम्बन्धित तालुकदार निकायमा औपचारिक रूपमा पहल गर्ने प्रक्रिया अगाडि बढाउनेछौँ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप