बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्षयरोगका कारण गण्डकीमा १४ सयले गुमाए ज्यान, एआईबाट एक्सरे थालियो

बुधबार, ११ चैत २०८२, ०७ : ३६
बुधबार, ११ चैत २०८२

सारांश

  • गण्डकी प्रदेशमा एक वर्षमा झण्डै १४ सय क्षयरोगका बिरामीको मृत्यु भएको छ।
  • क्षयरोग अन्त्य गर्ने लक्ष्य लिए पनि लुकेर बसेका बिरामी खोज्न र सामाजिक विभेद हटाउन चुनौती छ।
  • प्रदेश सरकारले एआई जडित एक्सरे मेसिन प्रयोग गरी क्षयरोग पहिचान र उपचारमा जोड दिएको छ।

पोखरा । गण्डकीमा पछिल्लो एक वर्षमै झण्डै १४ सय क्षयरोगका विरामीको निधन भएको छ । गत वर्ष गण्डकीमा २ हजार ८ सय १ जनामा क्षयरोग पुष्टि भएकोमा १ हजार ३ सय ९० जनाले ज्यान गुमाएका थिए । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा जोखिम बढी हुने भएकाले समयमै परीक्षण र नियमित औषधि सेवन जरुरी रहेको स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।

नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य राखे पनि समुदायमा लुकेर रहेका बिरामी खोज्न र सामाजिक विभेद अन्त्य गर्न अझै पनि ठुलो चुनौतीका रूपमा रहेको सरोकारवालाहरु बताउँछन् । प्रादेशिक रोग नियन्त्रण कार्यालय गण्डकीका कार्यक्रम अधिकृत सन्तोष पौडेलका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा मात्रै प्रदेशमा १ हजार ४ सय ५३ जना नयाँ क्षयरोगी फेला परेका छन् । जसमा पुरुषको संख्या बढी छ । ९ सय २ जना पुरुष र ५ सय ५१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

पुरुषहरूको बढी हिँडडुलका कारण उनीहरूमा संक्रमणको जोखिम उच्च देखिएको पौडेलले बताए । यस अवधिमा २२ जना बालबालिकामा पनि क्षयरोग देखिएको छ । प्रदेशमा हालसम्म २६ जनामा ड्रग रेसिस्टेन्ट अर्थात् सामान्य औषधिले काम नगर्ने कडा खालको क्षयरोग भेटिएको छ । यस्ता बिरामीहरूको व्यवस्थापनका लागि प्रदेशमा डीआर होमको समेत व्यवस्था गरिएको छ ।

क्षयरोगको उपचार पूर्ण रूपमा निःशुल्क छ । एकजना सामान्य क्षयरोगीको पूर्ण उपचारका लागि राज्यले करिब १ लाख ५० हजार रुपैयाँ खर्च गर्दै आएको छ । तर, समाजमा अझै पनि यो रोग लुकाउने र लाञ्छनाका कारण उपचारमा नआउने समस्या छ । ‘क्षयरोग अझै पनि हाम्रो समाजमा लाञ्छना र भेदभावको विषय बनिरहेको छ । यसले गर्दा बिरामीहरू समुदायमा लुकेर बस्ने र मृत्युवरण गर्ने सम्मको अवस्थामा पुगेका छन्,’ पौडेल भन्छन् ।

राज्यले एकजना बिरामीको पूर्ण उपचारका लागि करिब डेढ लाख रुपैयाँ लगानी गरेर सबै सेवा निःशुल्क उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारले क्षयरोग पहिचानका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) जडित एक्सरे मेसिनको प्रयोग गर्न थालेको छ । गत वर्ष मात्रै एआई एक्सरेको सहायताले ४ सय ५८ जना बिरामी पत्ता लागेका थिए । परम्परागत विधिबाट छुट्न सक्ने विरामीहरु एआई एक्सरेबाट सहजै फेला पर्ने गरेका सरकारले जनाएके छ । हाल प्रदेशमा दुईवटा एआई एक्सरे मेसिनमार्फत गाउँ गाउँमा पुगेर खोजपड्ताल अभियान सञ्चालन भइरहेको स्वास्थ्य मन्त्री कृष्ण पाठकले जानकारी दिए ।

‘यसमा राज्यको ठूलो लगानी छ । नागरिक तहबाट पनि यसको उन्मुलनको लागि सहयोग आवश्यक छ,’ उनले भने, ‘बिरामी भेटिए भने छिछि गर्ने होइन, सही उपचारको सल्लाह दिने हो । सबैले सम्मान गर्ने भने बिरामी लुकेर बस्न पर्दैन ।’ क्षयरोग पूर्ण रूपमा निको हुने रोग हो । क्षयरोग नियमित ६ महिना औषधि खाएमा पूर्ण रूपमा निको हुन्छ । तर यसबारे जनचेतनाको कमी रहेको मन्त्री पाठक बताउँछन् ।

प्रदेशभर ८ सय २९ डट्स केन्द्रहरू प्रयोगमा छन् भने १ सय १ वटा माइक्रोस्कोपी निदान केन्द्र सञ्चालन भएका छन् । १० वटा जीन एक्सपर्ट केन्द्र र ३ वटा एक्सपर्ट एक्सडिआर केन्द्र, ३ वटा औषधि प्रतिरोधी उपचार केन्द्र सञ्चालनमा छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा यसको जोखिम बढी हुने भएकाले समयमै परीक्षण र नियमित औषधि सेवन गर्न विज्ञहरुको सुझाव छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप