शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इरान युद्धको असर, दृश्यम ३ को रिलिज मिति सारियो

बुधबार, ११ चैत २०८२, १० : २५
बुधबार, ११ चैत २०८२

सारांश

  • मोहनलाल स्टारर फिल्म 'दृश्यम ३' अब २०२६ मे २१ मा रिलिज हुने भएको छ।
  • फिल्म रिलिज मोहनलालको जन्मदिनको अवसर पारेर तय गरिएको छ।
  • खाडी मुलुकमा जारी तनाव र युद्धका कारण पनि रिलिज मिति सारिएको मिडिया रिपोर्टमा उल्लेख छ।

मुम्बई । मलयालम सुपरस्टार मोहनलालको बहुप्रतिक्षित फिल्म 'दृश्यम ३' को प्रदर्शन मिति परिवर्तन भएको छ। जितु जोसेफको निर्देशनमा बनेको यो फिल्म अब पूर्व निर्धारित अप्रिल २ को सट्टा मे २१, २०२६ मा सिनेमाघरमा आउने भएको छ।

सोमबार साँझ स्वयम् मोहनलालले सामाजिक सञ्जालमार्फत यो खबरको पुष्टि गरेका हुन्। विशेष कुरा के छ भने मे २१ मा मोहनलालको ६६औँ जन्मदिन पनि पर्छ, त्यसैले निर्माण पक्षले यो दिनलाई फिल्म रिलिजका लागि रोजेको हो।

मोहनलालले एक्समा फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘अतित कहिल्यै शान्त रहँदैन... यसले केवल प्रतीक्षा गर्छ। जर्जकुट्टी आउँदैछ, मे २१, २०२६ मा।’ फिल्मको छायांकन गत वर्ष डिसेम्बरमै सकिएको भए पनि सुपरस्टारको जन्मदिनलाई विशेष बनाउन रिलिजमा ढिलाइ गरिएको हो।

मिडिया रिपोर्टका अनुसार फिल्मको रिलिज मिति सर्नुको पछाडि खाडी मुलुकमा जारी तनाव र युद्ध पनि एक प्रमुख कारण हुनसक्छ। निर्माण पक्ष अन्तर्राष्ट्रिय बजारमा रिलिजलाई लिएर कुनै जोखिम लिन चाहँदैनन्। यसबाहेक, हालै यशको फिल्म ‘टक्सिक’ को रिलिज पनि जुन महिनासम्मका लागि सरेको छ।

सन् २०१३ मा सुरु भएको दृश्यम फ्रेन्चाइज मलयालम सिनेमाका लागि कोशेढुङ्गा सावित भएको छ। यसको दोस्रो भाग सन् २०२१ मा आएको थियो। हिन्दीमा यो फिल्मलाई अजय देवगनले रिमेक गरेका थिए, जसलाई दर्शकले निकै रुचाए।

निर्देशक जितु जोसेफले यस पटक फिल्मलाई सिधै ५ भाषामा प्यान-इन्डिया रिलिज गर्ने स्पष्ट पारेका छन्। अर्थात्, मोहनलाल अभिनित दृश्यम ३ हिन्दी भाषामा पनि एकैसाथ प्रदर्शन हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप