विश्वभर नै राजनीतिमा कलाकारको आकर्षण, को कति सफल ?
सारांश
- निर्वाचनबाट कलाकारिता पृष्ठभूमि भएका व्यक्तिहरू संसद्मा पुगेका छन्।
- विभिन्न देशका कलाकारहरू राजनीतिमा प्रवेश गरेको र सफल भएको उदाहरणहरू प्रस्तुत गरिएको छ।
- नेपालमा बालेन शाह काठमाडौंको मेयर र प्रधानमन्त्रीको उम्मेदवार बनेको चर्चा छ।
काठमाडौँ । फागुन २१ को आम निर्वाचनबाट उल्लेख्य संख्यामा सेलिब्रेटीहरू संसद्मा पुगेका छन् । सेलिब्रेटीको अर्थ व्यापक भए पनि सामान्य रूपमा फिल्म र संगीत क्षेत्रका कलाकर्मी भनेर बुझौं । कतिपयले भन्ने गर्छन्- कलाकार र खेलाडीले राजनीति नगरेकै राम्रो । यो तर्कमा कति दम छ, यो छुट्टै बहसको विषय हो । यद्यपि यो चुनावमा दुईतिहाइबाट दुई सिट मात्रै कम जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रै संख्यामा सेलिब्रेटीहरूलाई स्थान दिएको छ ।
कुन कलाकार सबैभन्दा पहिले राजनीतिमा प्रवेश गरे भनेर ठ्याक्कै भन्न त नसकिएला । आधुनिक राजनीतिको युग सुरू भएपछि सन् १९६० मा हलिउड अभिनेता जर्ज मर्फी अमेरिकाको पहिलो सिनेटर बनेका थिए । उनी भन्दा अगाडि सन् १९४० मै अभिनेत्री हेलेन गहागन डग्लास कांग्रेस सदस्य बनेकी थिइन् ।
यद्यपि कलाकारिता पृष्ठभूमिबाट देशकै नेतृत्वमा पुग्नेमा हलिउड अभिनेता रोनाल्ड रिगनलाई लिनुपर्छ । रिपब्लिकन पार्टीबाट विजयी हुँदै उनले अमेरिकाको ४० औं राष्ट्रपतिको रूपमा सन् १९८१ देखिन १०८९ सम्म कार्यभार सम्हाले । उनको राष्ट्रपतीय कार्यकाललाई रिगन एरा भनेर चिनिन्छ ।

यस्तै वेस्ट मिन्स्टर प्रणालीको सुरुवातकर्ता देश बेलायतमा पनि कलाकारहरू निकै समय पहिलेदेखि राजनीतिमा प्रवेश गरेका थिए । दुई पटक ओस्कार अवार्ड जितेकी बेलायती अभिनेत्री ग्लेन्डा ज्याक्सन सन् १९९२ देखि २०१५ सम्म लेबर पार्टीका तर्फबाट संसद् सदस्य बनिन् । सन् १९९७ देखि १९९९ सम्म त ‘जुनियर ट्रान्सपोर्ट मिनिस्टर’ नै बनिन् । माइकल क्यासम्यान बेलायती अभिनेता तथा लेखक थिए । लेबर पार्टीबाट राजनीतिमा प्रवेश गरेका उनी पछि युरोपियन संसद् सदस्य बन्न सफल भए ।
इटालीका चर्चित कमेडियन बेप्पे ग्रिलो फाइभ स्टार मुभमेन्टबाट राजनीतिमा स्थापित भए । पछि उनी देशकै प्रमुख राजनीतिक शक्तिको नेतृत्वमा उदाए ।
आजको दिनमा सबैभन्दा बढी चर्चामा रहेको नाम हो भ्लोदिमिर जेलेन्स्की । कमेडियन हुँदै युक्रेनका राष्ट्रपति बनेका जेलेन्स्कीको कार्यकाल सुरु हुनासाथ रसिया-युक्रेन युद्ध सुरू भएको थियो, जसले पनि उनलाई सर्वाधिक चर्चामा ल्यायो । सन् २०२२ फेब्रुअरी २४ बाट सुरू भएको यो युद्ध आजसम्म चलिरहेको छ । यो युद्ध हुनुमा जेलेन्स्कीको अपरिपक्व कूटनीति जिम्मेवार रहेको पनि आलोचकहरूले आरोप लगाउने गरेका छन् । खैर, उनी कलाकारिताबाटै राजनीतिमा प्रवेश गरेर देशको नेतृत्वमा पुग्ने आधुनिक समयमा चर्चित व्यक्ति हुन् । टिभीमा राष्ट्रपतिको भूमिका निर्वाह गर्ने जेलेन्स्की वास्तविक राष्ट्रपति नै बन्न पुगे ।

छिमेकी मुलुक भारतको कुरा गर्दा दक्षिण भारत यस कुरामा अगाडि देखिन्छ । दक्षिण भारतीय सुपरस्टार एमजी रामाचन्द्रन तमिलनाडुको मुख्यमन्त्री बन्न सफल भए । उनले सन् १९७२ मा द्रविन्द्र मुन्नेत्र कझागम पार्टी गठन गरी राजनीतिमा प्रवेश गरे । सन् १९७७ मा भएको विधानसभा निर्वाचनमा उनको पार्टीले ऐतिहासिक जित हासिल गर्यो र रामाचन्द्रन तमिलनाडुको मुख्यमन्त्री बन्न सफल भए । त्यसपछि सन् १९८० र १९८४ को विधानसभा निर्वाचनमा पनि जित हासिल गर्दै मुख्यमन्त्री बने ।
एनटी रामा राव चर्चित तेलुगु अभिनेता थिए । उनी पनि पछि राजनीतिमा आए र तत्कालीन आन्ध्र प्रदेशको मुख्यमन्त्री बन्न सफल भए । सन् १९८२ मा तेलुगु देशम पार्टी स्थापना गरेर राजनीतिमा होमिएका रामा राव सन् १९८३, १९८४ र १९९४ मा गरी तीन पटक मुख्यमन्त्री बने । अहिले हामीले चिन्ने ‘आरआरआर’ फिल्मका हिरो जुनियर एनटीआर उनै एनटी रामा रावका नाति हुन् ।
दक्षिण भारतको राजनीतिमा छाएकी अर्की कलाकार हुन् जयललिता । चर्चित तमिल अभिनेत्री जयललिताले त मुख्यमन्त्रीमा रेकर्ड नै राखेकी छन् । सन् १९९१, २००१, २००२, २०११, २०१५ र २०१६ मा गरी छपटक अल इन्डिया अन्ना द्रविन्द्र मुन्नेत्र कझागम पार्टी अर्थात् एआईएडीएमकेबाट मुख्यमन्त्री बनिन् । यो पार्टी एमजी रामाचन्द्रनले स्थापना गरेका थिए । उनी तमिलनाडुमा ‘अम्मु उपनामले चिनिन्थिन् ।

बलिउड कलाकारहरू पनि राजनीतिमा थुप्रै छन् । हाल राजनीतिमा सक्रिय नभए पनि कुनै बेला बलिउड मेगास्टार अभिताभ बच्चन पनि लोकसभा सदस्य बनेका थिए । सन् १९८४ देखि १९८७ सम्म उनी भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट लोकसभा सदस्य बने । अलाहावाद क्षेत्रबाट निर्वाचित भएका उनले तीन वर्षमै लोकसभा सदस्य पदबाट राजीनामा दिएका थिए । पछि उनले राजनीतिमा आउनु आफ्नो गल्ती भएको र फेरि कहिल्यै नफर्किने बताएका थिए ।
अर्का अभिनेता शत्रुघन सिन्हा अहिले पनि राजनीतिमा सक्रिय छन् । उनी अहिले पश्चिम बंगालको असनसोल निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै तृणमूल कांग्रेसबाट लोकसभा सदस्य छन् । यसअघि उनी भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेसबाट समेत राजनीतिमा सक्रिय थिए ।
कुनै समयकी चर्चित बलिउड अभिनेत्री हेमा मालिनी अहिले बीजेपीको तर्फबाट लोकसभा सदस्य छिन् । सन् २००३ देखि २००९ सम्म राज्यसभा सदस्य रहेकी हेमा मालिनी सन् २०१४ को लोकसभा निर्वाचनमा उत्तर प्रदेशको मथुरा निर्वाचन क्षेत्रबाट निर्वाचित भइन् ।

२०१९ र २०२४ मा सोही क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भइन् । अर्की अभिनेत्री जया बच्चन पनि राज्यसभा सदस्य छिन् भने अभिनेता सनी देओल सन् २०१९ मा लोकसभा सदस्य निर्वाचित भएका थिए ।
चर्चित अभिनेत्री कंगना रनौत हाल बीजेपीबाट लोकसभा सदस्य छिन् । सन् २०२४ को चुनावमा उनी हिमाञ्चल प्रदेशको मण्डी क्षेत्रबाट निर्वाचित भएकी हुन् ।
राजनीतिमा आवद्ध हुने कलाकारहरूको संख्या भारतमा ठुलो छ । कुनै समय अक्षय कुमार, परेश रावल, गोविन्दा पनि राजनीतिमा आवद्ध भएका थिए तर उनीहरू पूर्णकालीन रूपमा सक्रिय भएननन् ।
अहिले तमिल सुपरस्टार थलापति विजयको चर्चा अरूभन्दा विशेष देखिएको छ । एमजी रामाचन्द्रन, जयाराम जयललितापछि तमिलनाडुको राजनीतिमा दबादबा बनाउने योजनामा छन् थलापति विजय । सन् २०२४ मा आफ्नो नेतृत्वमा तमिलागा भेत्री कझागम (टीभीके) घोषणा गर्दै उनी राजनीतिमा प्रवेश गरेका हुन् । सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावलाई लक्ष्य बनाएर उनले राजनीतिक अभियान चलाइरहेका छन् । उनको पार्टीको र्यालीमा हजारौं-लाखौंको संख्यामा मानिसहरूको उपस्थिति हुने गरेको छ ।

विश्वका विभिन्न देशको कुरा गरिसकेपछि नेपाली कलाकारहरूका राजनीतिक यात्राबारे चर्चा गरौं । खासगरी गणतन्त्र स्थापनापछि कलाकारहरु राजनीतिमा आकर्षित भएको देखिन्छ । अभिनेता भुवन केसी २०७४ सालको चुनावमा काठमाडौं-१ बाट उम्मेदवार बन्ने तयारी गरेर एमाले प्रवेश गरेका थिए । तर अन्तिममा एमालेले उनको टिकट खोसेर अर्कै व्यक्तिलाई दियो । गणतन्त्र स्थापनापछि नै अभिनेत्री रेखा थापा राजनीतिमा आवद्ध भइन् माओवादीमार्फत । तर उनले पनि चुनावमा टिकट पाइनन् र पछि राप्रपा प्रवेश गरिन् । २०७९ को निर्वाचनमा मोरङ-३ मा उम्मेदवार बनिन् तर पराजित भइन् । अभिनेत्री करिश्मा मानन्धर पनि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र पछि एमालेमा आवद्ध भएर राजनीतिमा लागिन् । अहिले राजनीतिमा उनी निष्क्रिय देखिन्छिन् ।
यी त भए ‘असफलता’का कुरा । तर कलाकारिताबाट आएर राजनीतिमा सफल भएको जबर्जस्त नाम बनेको छ- बालेन शाह । २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा भारी मतान्तरले बालेन निर्वाचित भएपछि उनको चर्चा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमै चुलियो । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा त उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार नै बनेर चुनावमा होमिए । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका उनले त्यहाँ एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गरे । बालेनले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।

यो निर्वाचनबाट संसद्मा राम्रै संख्यामा कलाकारिता पृष्ठभूमिका व्यक्तिहरू पुगेका छन् । अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्मा, गायक तथा सञ्चारकर्मी रमेश प्रसाईं, अभिनेत्री आशिका तामाङ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ सांसद बनेका छन् । उनीहरू सबै समानुपातिक प्रणालीतर्फबाट निर्वाचित रास्वपाका सांसद हुन् ।
कलाकारले राजनीति गर्नु हुँदैन भन्ने एउटा जबर्जस्त भाष्य पनि नेपालमा चलेको देखिन्छ । कतिपय व्यक्तिले भन्छन्- ‘कलाकारले राजनीति गर्नुहुँदैन, उनीहरू सबैका साझा हुन्’, ‘एउटा पार्टीमा लाग्दा सर्वस्वीकार्य हुन गाह्रो हुन्छ’ यस्तै यस्तै ।
यसो भन्नेहरूमध्ये कतिपयलाई मनमा राखेको कलाकार कुनै पार्टीगत आस्थामा नढल्कियोस् भन्ने चाहना पनि होला । कलाकार कुनै पार्टीको पक्षमा खुल्दा अडियन्सले नराम्रो मान्न सक्छन् र उसको सिर्जनालाई अडियन्सले नस्विकार्न सक्ने पनि हुनसक्ला । यस्तो उदाहरण नेपालकै केही कलाकारमा देखिएको पनि छ । अझ गायक-गायिकाको हकमा यसले निकै असर गरेको देखिन्छ ।
तर यति भन्दै गर्दा कुनै पेसा व्यवसायका मान्छे राजनीतिमा आउन नहुने हो र ? राजनीतिमा कुनै न कुनै पेसा गरिरहेकै व्यक्ति आउने होला । कोही शिक्षक-प्राध्यापक होलान्, कोही कर्मचारी, कोही सञ्चारकर्मी होलान् । अनि कोही व्यवसायी, कोही किसान, कोही मजदुर होलान् । कलाकार र खेलाडीले चाहिँ किन आउन नहुने हो र ? राजनीति पेसा होइन, सेवा हो । साथै, राजनीति प्रतिनिधित्व पनि हो । यो कोणबाट सोच्दा ठीक हुन्छ होला ।
अब अर्को छ सफल र असफलको कुरा । सेलिब्रेटीहरूले देश सम्हाले असफल हुन्छ भन्ने भाष्य पनि नेपालमा कहीँकतै बनेको देखिन्छ । यसमा जेलेन्स्कीको उदाहरण दिएको पाइन्छ । जेलेन्स्कीले आफ्नो देश युक्रेनका लागि कति राम्रो गरे, कति नराम्रो, छुट्टै बहसको विषय होला । तर यही ठाउँमा रोनाल्ड रिगन, एमजी रामाचन्द्रन, एनटी रामा राव र जयललिताको कुरा किन गरिँदैन ? उनीहरू कलाकारिताबाटै आएर राजनीति हाँक्न सफल भए ।
कलाकार कलाकारितामै सक्रिय हुँदाहुँदै राजनीतिमा आउनु ठीक नहुन सक्छ । कलाकारलाई सबैको साझा भनिन्छ । तर कलाकारितालाई थाँती राखेर सुझबुझका साथ राजनीतिमा आएर देश निर्माणमा योगदान दिन्छु भन्दा आपत्ति मान्नुपर्ने के छ र ? हाम्रो देशमा त कलाकारिता पृष्ठभूमिबाटै आएका बालेन शाह प्रधानमन्त्री बन्दैछन् होइन र ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण