बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु

शनिबार, १४ चैत २०८२, ०० : ५५
शनिबार, १४ चैत २०८२

सारांश

  • हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु भयो, जसको उद्घाटन मन्त्री मधुसुदन पौडेलले गरे ।
  • मन्त्रीका अनुसार, कृषि अनुदान वास्तविक किसानसम्म पुर्‍याउन कार्यविधि बनाइँदैछ ।
  • प्रदर्शनीमा विभिन्न कृषि उत्पादनहरू, प्रविधि र स्टलहरू राखिएका छन्।

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य सङ्घ हेटौँडाको आयोजनामा शुक्रबारदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु भएको छ ।

सो कृषि प्रदर्शनी बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले उद्घाटन गरे । उनले कृषि क्षेत्रको समग्र विकास गर्न आधुनिकीकरण, यान्त्रीकरण गर्न जरुरी भइसकेको बताए ।

मन्त्री पौडेलले अहिले कृषि क्षेत्रमा गइरहेको अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको यथार्थलाई दृष्टिगत गरी उत्पादन गर्ने वास्तविक किसानलाई मात्र कृषि अनुदान दिने कार्यविधि बनाइएको पनि उल्लेख गरे ।

यही चैत १६ गतेसम्म सञ्चालन हुने उक्त कृषि प्रदर्शनीमा प्रदेशका विभिन्न जिल्लाका साना किसान, कृषि सहकारी, कृषक महिलाहरूको विभिन्न कृषि उत्पादन, कृषि सङ्घ सम्बन्धित वस्तुहरू जस्तै अल्लोबाट बनेका, खाद्य वस्तु, दूधजन्य वस्तु, मह, अचार, गेडागुडी, मसला, बाँसका सामान, फलफूलका जुस, तोरी तेल, मस्यौरा, गुन्द्रुक, कृषि प्रविधिलगायतका ४० वटा स्टलहरू राखिएका छन् ।

कृषि उत्पादनहरूको विविधीकरण तथा बजारीकरणबाट कृषकलाई फाइदा पुर्‍याउने उद्देश्यले प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयको आर्थिक सहयोगमा प्रदेशस्तरीय कृषि प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप