बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानी ह्याकरद्वारा एफबीआई प्रमुखको व्यक्तिगत इमेल ह्याक, निजी तस्बिर र दस्ताबेजहरू सार्वजनिक

शनिबार, १४ चैत २०८२, ०७ : ३६
शनिबार, १४ चैत २०८२

सारांश

  • इरानसँग आबद्ध ह्याकरहरूले एफबीआई निर्देशक काश पटेलको इमेल ह्याक गरी व्यक्तिगत तस्बिर र दस्ताबेज सार्वजनिक गरे।
  • ह्याकर समूहले पटेलको वेबसाइटमा चुरोट पिइरहेको, गाडीमा घुमिरहेको र सेल्फी खिचिरहेको तस्बिरहरू राखेको छ।
  • एफबीआईले ह्याकको पुष्टि गर्दै जोखिम न्यूनीकरणका लागि कदम चालेको र ह्याकरहरूले सन् २०१० देखि २०१९ सम्मका इमेलहरू सार्वजनिक गरेका छन्।

वासिङ्टन डिसी । इरानसँग आबद्ध ह्याकरहरूको एक समूहले अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलको व्यक्तिगत इमेल ह्याक गरी त्यहाँ रहेका निजी तस्बिर र दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरिदिएका छन्। ‘हन्डाला ह्याक टिम’ नामक समूहले पटेलको नाम अब आफ्ना शिकारहरूको सूचीमा परेको दाबी गर्दै उनको वेबसाइटमा विभिन्न तस्बिरहरू राखेको हो।

सार्वजनिक गरिएका तस्बिरहरूमा पटेलले चुरोट पिइरहेको, पुरानो गाडीमा घुमिरहेको र रमको बोतलसँगै ऐना अगाडि उभिएर सेल्फी खिचिरहेको देखिन्छ। एफबीआईले पटेलको इमेल ह्याक भएको कुरा पुष्टि गर्दै यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चालिसकेको बताएको छ।

ब्युरोका प्रवक्ता बेन विलियमसनले ह्याक गरिएका तथ्याङ्कहरू पुराना भएको र त्यसमा सरकारका कुनै पनि गोप्य वा संवेदनशील जानकारी नरहेको दाबी गरे। ह्याकरहरूले सन् २०१० देखि २०१९ सम्मका करिब ३०० वटा इमेलको नमुना सार्वजनिक गरेका छन्, जसमा पटेलको व्यक्तिगत र कामसँग सम्बन्धित पत्राचारहरू छन्।

पश्चिमा अनुसन्धानकर्ताहरूले हन्डालालाई इरानी सरकारको साइबर गुप्तचर एकाइको एउटा हिस्सा मान्ने गरेका छन्। यो समूहले पछिल्लो समय अमेरिका र इजरायलसँग जोडिएका विभिन्न कम्पनी र अधिकारीहरूलाई निशाना बनाउँदै आएको छ।

हालै मात्र यस समूहले मेडिकल उपकरण प्रदायक कम्पनी स्ट्राइकर र रक्षा सामग्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी लकहिड मार्टिनका कर्मचारीहरूको विवरण पनि सार्वजनिक गरेको दाबी गरेको थियो।

इजरायली साइबर सुरक्षा कम्पनी चेक पोइन्टका अधिकारी गिल मेसिङका अनुसार यस्ता ह्याकिङको मुख्य उद्देश्य अमेरिकी उच्च अधिकारीहरूलाई लज्जित बनाउनु र उनीहरू असुरक्षित छन् भन्ने महसुस गराउनु हो। अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता इरानी ह्याकरहरूले आफ्नो साइबर सक्रियता ह्वात्तै बढाएका छन्।

यसअघि पनि सन् २०१५ मा तत्कालीन सीआईए प्रमुख र २०१६ मा हिलारी क्लिन्टनको चुनावी अभियानका अध्यक्षको इमेल ह्याक भएका घटनाहरू चर्चामा आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप