‘नयाँ सरकारले २४ घण्टा नबित्दै प्रतिशोध साँध्यो, सडक र सदनबाट प्रतिवाद गर्छौँ’
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले सरकारको आलोचना गरेको छ।
- एमाले नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन्।
- भट्टराईले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको र ओलीलाई पक्राउ गर्नु निन्दनीय कार्य भएको बताए।
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सरकारको आलोचना गरेको छ। एमाले नेता विशाल भट्टराईले नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै सरकारले प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन्। पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ओलीको पक्राउलाई निन्दनीय कार्य भन्दै कानुनी र संसदीय दुवै मोर्चाबाट यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्।
नयाँ जनादेशसहित आएको सरकारले जनता र देशको पक्षमा काम गर्ने अपेक्षा भए पनि सुरुमै प्रतिशोध साँध्न थालेको भट्टराईले बताए। ओलीलाई पक्राउ गर्न आधार मानिएको कार्की आयोगको प्रतिवेदन आफैँमा पूर्वाग्रही रहेको उनको दाबी छ।
आयोगले २३ गतेको घटनालाई मात्रै आधार मानेर दोषी ठहर्याएको तर २४ गते भएको त्यत्रो ठूलो विध्वंसलाई पूर्ण रूपमा बेवास्ता गरेको उनले बताए। आयोगले कसैलाई पनि किटानी ठहर गर्न नसकेको अवस्थामा सरकार बन्ने बित्तिकै प्रतिवेदन कार्यान्वयनको नाममा चालिएको कदम नितान्त राजनीतिक प्रतिशोध भएको उनको भनाइ छ। छानबिन गरेर दोषीमाथि कारबाही गर्न एमालेलाई कुनै आपत्ति नभए पनि एकातिरको घटनालाई मात्र आधार बनाइनु गलत भएको उनले प्रस्ट पारे।
प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने कुरा त्यसभित्रका विरोधाभासले नै प्रस्ट पार्ने भट्टराईले जिकिर गरे। उनका अनुसार आयोगले २३ गतेको घटनामा सुरक्षाकर्मीले सुरक्षा दिन खोज्दा उनीहरूलाई नै दोषी बनाएको छ भने २४ गते सुरक्षा नगरेको भन्दै फेरि उनीहरूलाई नै दोष दिएको छ। महाराजगन्जको प्रहरी चौकीमा अमानवीय तरिकाले प्रहरीहरूको हत्या हुँदा समेत प्रतिवेदन त्यसबारे पूर्ण रूपमा मौन रहेको भन्दै उनले असन्तुष्टि पोखे।
छानबिन समितिका संयोजक गौरीबहादुर कार्की सुरुदेखि नै पूर्वाग्रही रहेको भट्टराईको आरोप छ। कार्की आफैँमा विवादित व्यक्ति भएको र उनले पहिले नै ‘पक्रिनुपर्छ, थुन्नुपर्छ’ भनेर सार्वजनिक रूपमै फैसला सुनाउँदै हिँडेको भट्टराईले बताए।
आफैँ न्यायाधीश बनेर पहिले नै धारणा बनाइसकेका व्यक्तिको प्रतिवेदनलाई आधार मानेर पार्टी अध्यक्षमाथि गरिएको धरपकडलाई पार्टीले कुनै पनि हालतमा स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण