शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा निर्वाचित

‘व्यवसायीबिचको फुटले गर्दा मुद्दा कमजोर बने, म यसमा काम गर्छु’
आइतबार, १५ चैत २०८२, १० : ०८
आइतबार, १५ चैत २०८२

सारांश

  • नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा चयन भएका छन्।
  • नवनिर्वाचित अध्यक्षले व्यवसायीका हकहित र बजार सुधारका लागि योजना बनाउने बताए।
  • अध्यक्षले व्यवसायीहरूबीचको फुट र राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरे।

काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा चयन भएका छन् । शनिबार काठमाडौंमा भएको संस्थाको पाँचौँ अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र राई, उपाध्यक्षमा वीरबहादुर विक र महासचिवमा हेम राई निर्वाचित भएका छन् । सचिवमा रञ्जित लकान्द्री, कोषाध्यक्षमा कबीरमान सुनुवार, सह-कोषाध्यक्षमा कमल बराइली चयन भएका छन् । 

यसैगरी सदस्यहरूमा रमिता सुनार, रमेश विश्वकर्मा, राजकुमार सुनुवार, विश्वास शंकर, हर्कबहादुर शंकर, रञ्जित शंकर, स्मृति गदाल र रमेश विश्वकर्मा (ख) चयन भएका छन् । अधिवेशनले १५ सदस्यीय कार्यसमितिलाई नै निर्विरोध निर्वाचित गरेको हो ।

Sunchandi Manch1

करिब १० वर्षअघि काठमाडौँ उपत्यकामा सुनचाँदी व्यवसाय गरिरहेका युवाहरूको पहलमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च स्थापना भएको थियो । सुनचाँदी व्यवसायीका हकहितका विषयमा काम गर्दै आएको यो संस्था प्रदेश र जिल्लास्तरमा समेत फैलिने क्रममा छ । 

नवनिर्वाचित अध्यक्ष खेम तिरूवाले सुनचाँदी व्यवसायीहरूको हकहित र बजारको शुद्धताका लागि विशेष कार्ययोजना ल्याउने बताए । विशेषगरी बजारमा देखिएको विलासिता करको बोझ, नेपाल–भारत सीमामा रहेको भन्सार दरको बेमेल र स्थानीय बजारमा हुने गुणस्तरहीन मिसावट जस्ता चुनौतीलाई प्राथमिकतामा राखेर समाधान खोजिने उनले बताए । 

उनले राज्यले व्यवसायीका जायज मागहरूलाई सम्बोधन गर्न नसकेको गुनासो गरे । ‘व्यवसायीहरूले राज्यसँग भएको १२ बुँदे समझदारीलाई हुबहु पालना गरे पनि राज्यले भने आफ्नो प्रतिबद्धता पूरा गरेन । राज्यले व्यवसायीलाई आफ्नो तरिकाले पेल्ने काम मात्र गरिरहेको छ,’ रातोपाटीसँग उनले भने, ‘राज्यको यस्तो उदासीनताले समग्र व्यवसाय नै संकटमा परेको छ ।‘ उनका अनुसार पहिलो चरणमा उपत्यकाभित्रका सबै संघहरूसँग अन्तरक्रिया गरी साझा योजनाका साथ अगाडि बढ्ने तयारी मञ्चको छ ।

सुनचाँदी व्यवसायीका विभिन्न महासंघहरूमा बढ्दो राजनीतिक हस्तक्षेप र नेतृत्वको व्यक्तिगत स्वार्थका कारण व्यवसाय धराशायी बन्दै गएको पनि उनले बताए । नेतृत्व तहमा रहेका केही व्यक्तिहरूले भोलि सांसद बन्ने वा राजनीतिक पद हत्याउने लोभमा परेर समग्र व्यवसायीको भविष्य दाउमा राखेको उनको दाबी छ । ‘आफ्नो पार्टीलाई खुसी पार्नका लागि केही व्यक्तिहरूले २४ हजार सुनचाँदी व्यवसायीलाई बलि चढाएका छन् । व्यवसायीको नजरमा गिरेको यस्तो नेतृत्वले अब साख जोगाउन सक्ने अवस्था छैन,’ नवनिर्वाचित अध्यक्ष तिरूवाले भने, ‘व्यवसायीको नेतृत्वमा राजनीति हाबी हुन नहुने र व्यवसायलाई राजनीतिक छत्रछायाबाट मुक्त राख्नुपर्छ ।‘

व्यवसायीहरूबिचको फुटले गर्दा नै मुद्दाहरू कमजोर बनेको उल्लेख गर्दै उनले 'भाइ फुटे गवार लुटे' को उखान नेपालको सुनचाँदी क्षेत्रमा चरितार्थ भइरहेको बताए । हाल सुनचाँदी क्षेत्रमा तीनवटा महासंघ क्रियाशील हुनु दुर्भाग्यपूर्ण रहेको र पदको लडाइँले गर्दा साधारण व्यवसायीले दुःख पाएको उनको विश्लेषण छ । 

व्यवसायीहरूलाई राहत दिन र राज्यसँग बलियोसँग बार्गेनिङ गर्न एउटै र शक्तिशाली महासंघको आवश्यकता रहेको उनले औँल्याए । उनले मञ्चभित्रको आन्तरिक विवाद र संघर्ष अब समाप्त भएको भन्दै अब शिक्षित युवाहरूको प्रवेशले संगठनलाई अझ बलियो र एकढिक्का बनाएको दाबी गरे । नयाँ सरकार र अर्थमन्त्रीबाट व्यवसायीका माग सम्बोधन हुनेमा आफूहरूले आशा राखेको पनि उनले बताए ।

मञ्चका निवर्तनमान अध्यक्ष डम्बर बराइलीले आफ्नो कार्यकालमा कठिन परिस्थितिबाट संस्थालाई फेरि उठाउन सफल भएको बताए ।

Dambar

‘यो तीन वर्ष संस्थालाई एक ढिक्का बनाएर फेरि उठाउन सफल भयौं, यसमा सबैको साथीहरूको मेहनत र सहयोग रह्यो,’ उनले भने, ‘अब नयाँ नेतृत्व र नयाँ पुस्ता सम्मिलित कार्यसमितिले नयाँ उचाइमा पुर्‍याउनेमा विश्वस्त छु ।‘

कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले सुनचाँदी व्यवसायीहरूका मागलाई आफूले नजिकबाट नियालिरहेको र संसद्मा पनि यस विषयलाई उठाउने बताए । राष्ट्रियसभा सदस्य घनश्याम रिजालले आफूले पनि संसद् र संसदीय समितिमा सुनचाँदी क्षेत्रका समस्याहरूलाई जोडतोडले उठाइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप