बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्रोएसियामाथि ब्राजिलको सानदार जित, विश्वकपअघि लयमा फर्कियो टोली

बुधबार, १८ चैत २०८२, ०९ : ३१
बुधबार, १८ चैत २०८२

सारांश

  • ब्राजिलले क्रोएसियालाई ३-१ गोलले हरायो, जुन विश्वकपको तयारी खेल थियो।
  • ड्यानिलो, इगोर थियागो र गेब्रियल मार्टिनेलीले ब्राजिलका लागि गोल गरे, क्रोएसियाका लागि माजेरले एक गोल फर्काए।
  • यो जितले ब्राजिललाई २०२२ को विश्वकपमा क्रोएसियासँगको हारको बदला लिन मद्दत गर्यो।

ओर्लान्डो । फ्रान्ससँगको मैत्रीपूर्ण खेलमा बेहोरेको हारलाई बिर्सिँदै ब्राजिलले विश्वकप तयारी खेलमा क्रोएसियालाई ३–१ गोलले पराजित गरेको छ। अमेरिकाको ओर्लान्डोमा मङ्गलबार राति भएको खेलमा ब्राजिलले सानदार पुनरागमन गर्दै जित निकालेको हो।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले विश्वकपका लागि अन्तिम टोली घोषणा गर्नुअघि भएको यो खेलमा ब्राजिलका लागि ड्यानिलो, इगोर थियागो र गेब्रियल मार्टिनेलीले गोल गरे। खेलको पहिलो हाफको इन्जुरी समयमा ड्यानिलोको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो। रियल मड्रिडका स्टार भिनिसियस जुनियरको उत्कृष्ट दौड र पासमा बोटाफोगोका आक्रामक खेलाडी ड्यानिलोले गोल गरेका थिए।

खेलको ८३ औँ मिनेटमा लोभ्रो माजेरले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए पनि दोस्रो हाफमा मैदान छिरेका एन्ड्रिकले खेलको नक्सा बदलिदिए। लियोनका फरवार्ड एन्ड्रिककै सक्रियतामा ब्राजिलले पेनाल्टी प्राप्त गर्‍यो, जसलाई ८८ औँ मिनेटमा इगोर थियागोले गोलमा परिणत गर्दै ब्राजिललाई पुनः अग्रता दिलाए। खेलको अन्तिम समयमा एन्ड्रिककै पासमा मार्टिनेलीले गोल गरेपछि ब्राजिलको ३–१ को जित निश्चित भयो।

यो जितसँगै ब्राजिलले सन् २०२२ को कतार विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा बेहोरेको हारको बदला समेत लिएको छ। छैटौँ पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको ब्राजिलले जुन १३ मा मोरक्कोविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। ब्राजिल रहेको समूह ‘सी’ मा हाइटी र स्कटल्याण्ड समेत रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप