बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संसद्

कस्तो हुन्छ सभामुख चयन प्रक्रिया ?

बुधबार, १८ चैत २०८२, १७ : २४
बुधबार, १८ चैत २०८२

सारांश

  • संघीय संसद सचिवालयको बैठकले बिहीबारबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति गर्यो।
  • सभामुखको मनोनयन २० गते र निर्वाचन २२ गते गर्ने सहमति भएको छ।
  • सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभाको अध्यक्षता गर्नेछन्।

काठमाडौँ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू, सरकारका प्रतिनिधि र सचिवालयका पदाधिकारीको बैठकमा नयाँ सभामुख चयनको प्रक्रिया बिहीबारदेखि नै सुरु गर्ने सहमति जुटेको छ  । 

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले अधिवेशनको सुरुवात हुने दिन बिहीबारदेखि नै सभामुखको चयन प्रक्रिया सुरु गर्ने सहमति बनेको जानकारी दिए । उनका अनुसार २० गते सभामुखको मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने सहमति बनेको छ । 

  • सभामुख चयन प्रक्रिया

निर्वाचनपछि बनेको प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था संविधानमा छ । त्यो बेलासम्म निर्वाचित सांसदहरूमध्येका ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था पनि संविधानमा छ । अहिले ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद ७८ वर्षीय अर्जुननरसिंह केसी छन् । उनले सभामुख निर्वाचित नहुँदासम्म सभाको अध्यक्षता गर्नेछन् । 

संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख शीर्षकमा लेखिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’

Speaker

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ मा सभामुखको निर्वाचन बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोकेको दिनमा हुने र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्ने उल्लेख छ । दलहरूबीच आज भएको सहमति अनुसार ज्येष्ठ सदस्य केसीले दिन तोक्नेछन् । 

सचिवालयले कार्यतालिका सार्वजनिक गरेपछि संसद्मा प्रतिनिधित्व गर्ने कुनै दलको एक सदस्यले अर्को सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ । प्रस्ताव दर्ता भएपछि चैत २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिनेछ । प्रस्ताव गरिएको सदस्य निर्विरोध भएमा ज्येष्ठ सदस्यले निर्वाचित भएको घोषणा गर्नेछन् । प्रतिस्पर्धा भएमा निर्वाचन हुनेछ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट रहेकाले उसले जसलाई उम्मेदवार बनाउँछ उही सभामुख हुने निश्चित छ । 

नजित्ने पदमा अरू दलले उम्मेदवार बनाउँछन् कि बनाउँदैनन् त्यो भने हेर्न बाँकी छ ।  एकभन्दा बढी सदस्यले सभामुखका लागि प्रस्ताव दर्ता गरेमा ती प्रस्तावलाई दर्ता क्रमका आधारमा क्रमशः संसद्मा छलफलमा लगिन्छ । बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्छन् । त्यसपछि क्रमशः संक्षिप्त छलफल गर्ने र ती प्रस्तावलाई ज्येष्ठ सदस्यले निर्णयार्थ पेस गर्ने कानुनमा उल्लेख छ । 

Speaker prakriya

निर्णयार्थ प्रस्तुत गर्दा दस्तखतसहितको मत विभाजन गरिन्छ । सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले सदस्यहरूलाई हुन्छ, हुन्न र मत दिन्नँ भन्ने लबिमा हस्ताक्षर गर्न पठाउँछन् ।

सदस्यहरूले दस्तखत गरेपछि संसद् सचिवालयका कर्मचारीले नतिजाको जानकारी ज्येष्ठ सदस्यलाई गराउँछन् । त्यसपछि सभामा ज्येष्ठ सदस्यले प्रतिनिधिसभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतबाट जुन प्रस्तावमा उल्लेखित सदस्यले बहुमत प्राप्त गर्छ, त्यो सदस्य सभामुखमा निर्वाचित भएको घोषणा गर्छन् । 

सभामुख निर्वाचित भएपछि सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने अभ्यास छ । संसद् सचिवालयले दलहरूसँग छलफल गरेर सभामुखको निर्वाचन सकिएलगत्तै उपसभामुखको पनि निर्वाचन हुने मिति निर्धारण गर्ने जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप