कस्तो हुन्छ सभामुख चयन प्रक्रिया ?
सारांश
- संघीय संसद सचिवालयको बैठकले बिहीबारबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति गर्यो।
- सभामुखको मनोनयन २० गते र निर्वाचन २२ गते गर्ने सहमति भएको छ।
- सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभाको अध्यक्षता गर्नेछन्।
काठमाडौँ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू, सरकारका प्रतिनिधि र सचिवालयका पदाधिकारीको बैठकमा नयाँ सभामुख चयनको प्रक्रिया बिहीबारदेखि नै सुरु गर्ने सहमति जुटेको छ ।
बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले अधिवेशनको सुरुवात हुने दिन बिहीबारदेखि नै सभामुखको चयन प्रक्रिया सुरु गर्ने सहमति बनेको जानकारी दिए । उनका अनुसार २० गते सभामुखको मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने सहमति बनेको छ ।
- सभामुख चयन प्रक्रिया
निर्वाचनपछि बनेको प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था संविधानमा छ । त्यो बेलासम्म निर्वाचित सांसदहरूमध्येका ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था पनि संविधानमा छ । अहिले ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद ७८ वर्षीय अर्जुननरसिंह केसी छन् । उनले सभामुख निर्वाचित नहुँदासम्म सभाको अध्यक्षता गर्नेछन् ।
संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख शीर्षकमा लेखिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ मा सभामुखको निर्वाचन बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोकेको दिनमा हुने र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्ने उल्लेख छ । दलहरूबीच आज भएको सहमति अनुसार ज्येष्ठ सदस्य केसीले दिन तोक्नेछन् ।
सचिवालयले कार्यतालिका सार्वजनिक गरेपछि संसद्मा प्रतिनिधित्व गर्ने कुनै दलको एक सदस्यले अर्को सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ । प्रस्ताव दर्ता भएपछि चैत २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिनेछ । प्रस्ताव गरिएको सदस्य निर्विरोध भएमा ज्येष्ठ सदस्यले निर्वाचित भएको घोषणा गर्नेछन् । प्रतिस्पर्धा भएमा निर्वाचन हुनेछ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट रहेकाले उसले जसलाई उम्मेदवार बनाउँछ उही सभामुख हुने निश्चित छ ।
नजित्ने पदमा अरू दलले उम्मेदवार बनाउँछन् कि बनाउँदैनन् त्यो भने हेर्न बाँकी छ । एकभन्दा बढी सदस्यले सभामुखका लागि प्रस्ताव दर्ता गरेमा ती प्रस्तावलाई दर्ता क्रमका आधारमा क्रमशः संसद्मा छलफलमा लगिन्छ । बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्छन् । त्यसपछि क्रमशः संक्षिप्त छलफल गर्ने र ती प्रस्तावलाई ज्येष्ठ सदस्यले निर्णयार्थ पेस गर्ने कानुनमा उल्लेख छ ।

निर्णयार्थ प्रस्तुत गर्दा दस्तखतसहितको मत विभाजन गरिन्छ । सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले सदस्यहरूलाई हुन्छ, हुन्न र मत दिन्नँ भन्ने लबिमा हस्ताक्षर गर्न पठाउँछन् ।
सदस्यहरूले दस्तखत गरेपछि संसद् सचिवालयका कर्मचारीले नतिजाको जानकारी ज्येष्ठ सदस्यलाई गराउँछन् । त्यसपछि सभामा ज्येष्ठ सदस्यले प्रतिनिधिसभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतबाट जुन प्रस्तावमा उल्लेखित सदस्यले बहुमत प्राप्त गर्छ, त्यो सदस्य सभामुखमा निर्वाचित भएको घोषणा गर्छन् ।
सभामुख निर्वाचित भएपछि सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने अभ्यास छ । संसद् सचिवालयले दलहरूसँग छलफल गरेर सभामुखको निर्वाचन सकिएलगत्तै उपसभामुखको पनि निर्वाचन हुने मिति निर्धारण गर्ने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण