संघीय सरकारले प्रतिशोधको राजनीति गरेको मधेस प्रदेश सांसदहरूको आरोप
जनकपुरधाम । संघीय सरकारले विकास र शान्ति सुरक्षाको कामभन्दा व्यक्तिगत प्रतिशोधको राजनीति गरेको मधेस प्रदेश सभाका सदस्यहरूले आरोप लगाएका छन् ।
प्रदेश सभाको बैठकमा सांसदहरूले हाल गठन गरिएको छानबिन समितिको उद्देश्य निष्पक्ष अनुसन्धान नभई राजनीतिक प्रतिशोध साध्नु रहेको दाबी गरे । प्रदेश सभा सदस्य हरिनारायण यादवले बालेन शाह नेतृत्वको संघीय सरकारले जेनजी आन्दोलनको नाममा गठन गरिएको छानबिन समितिलाई व्यक्तिगत प्रतिशोधको साधन बनाएको आरोप लगाए ।
उनले गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको प्रतिवेदनलाई आधार बनाएर विभिन्न दलका नेतामाथि झुटा मुद्दा लगाई जेल हाल्ने प्रयास भइरहेको बताए । यसले देशको शान्ति सुरक्षा खलबलिन सक्ने चेतावनीसमेत उनले दिए । यादवले कांग्रेस र एमालेका नेताहरूमाथि झुटा मुद्दा लगाएर कारबाही गरिए भविष्यमा अन्य पार्टीको सरकार आएपछि पनि यस्तै प्रक्रिया दोहोरिन सक्ने अवस्था सिर्जना हुने बताए ।
त्यसैगरी अर्की प्रदेश सभा सदस्य सुरिता शाहले संघीय सरकारले देशमा शान्ति सुरक्षा कायम गर्नुभन्दा व्यक्तिगत प्रतिशोध साध्न खोजेको आरोप लगाइन् । उनले संघीय सरकार मधेसविरोधी रहेको दाबी गर्दै मधेसको मतबाट बनेको सरकारमा मधेसी, दलित तथा आदिवासी जनजातिको सहभागिता कति छ भन्ने कुराले नै धेरै कुरा स्पष्ट पार्ने बताइन् ।
अर्का सदस्य रामसरोज यादवले संघीय सरकार विदेशी प्रभावमा काम गरिरहेको आरोप लगाए । उनले जनताको मतअनुसार सरकार गठन भए पनि जेनजी आन्दोलनको छानबिन समिति गठन गरेर पूर्वमन्त्री तथा नेताहरूमाथि झुटा मुद्दा लगाउने तयारी भइरहेको भन्दै सरकार विदेशी योजनाअनुसार चलिरहेको आशंका व्यक्त गरे ।
यस्तै सदस्य देवी शर्माले संघीय सरकारको उद्देश्य व्यक्तिगत दुश्मनी मेट्नमा सीमित भएको आरोप लगाइन् । उनले एमाले र कांग्रेसका नेताहरूमाथि पक्राउ तथा झुटा मुद्दा लगाउने तयारी जारी रहेको बताइन् ।
बैठकमा अधिकांश सांसदहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन भएको बताए । सांसदहरूले भदौ २३ र २४ गते का विध्वंसका घटनामा संलग्न व्यक्तिहरूको छानबिन गर्नसमेत जोड दिए । साथै राजधानीदेखि प्रदेशसम्म मन्त्रीहरूको घर सम्पत्ति जलाउने घटनामा संलग्नहरूलाई कारबाही आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण