बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निलम्बित मेयर थापासहित ८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

बिहीबार, १९ चैत २०८२, ११ : १४
बिहीबार, १९ चैत २०८२

सारांश

  • विशेष अदालतले सर्लाहीका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ तोकेको छ।
  • अख्तियारले मेयर थापासहित उपमेयर र पूर्वमन्त्रीविरुद्ध ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।
  • माछापोखरी निर्माणमा अनियमितता र वन क्षेत्र अतिक्रमण गरी रकम हिनामिना गरेको आरोप लागेको छ।

काठमाडौँ । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित उपमेयर लीलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमार विरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।

त्यस्तै, विमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजयकुमार, गोकुल भुजेल र लीलाकुमारी मुक्तानलाई विपक्षी बनाइएको छ । निलम्बित मेयर थापासहितले माछापोखरी निर्माणका नाममा पोखरी समेतका गैरकानुनी संरचना निर्माण गरी साबिक वन ऐन, २०४९ तथा प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ ।

अख्तियारले थापाविरुद्ध माछापोखरी निर्माणका नाममा ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । 

आयोगका अनुसार बागमतीको वडा नं. ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरेर बनेको खाल्डोमा माछापोखरी निर्माणका नाममा सङ्घ र प्रदेशबाट करोडौँ रकम माग गरी हिनामिना गरिएको छ ।

मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको, निर्माण पूरा नभएको अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको अभियोग पनि लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप