बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रामुपाको चुनावी समीक्षाः मधेसवादी एकता अभाव र रास्वपाको प्रभाव हारका मुख्य कारण

बिहीबार, १९ चैत २०८२, १४ : ४४
बिहीबार, १९ चैत २०८२

सारांश

  • रामुपाले प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै मधेसवादी शक्तिहरूसँग एकता नहुँदा पराजय भएको निष्कर्ष निकाल्यो।
  • मधेसवादी दलहरूले सरकार चलाए पनि जनस्तरबाट असन्तुष्टि आएको र रास्वपाले मधेसको भावना बुझेकाले मत कम आएको निष्कर्ष छ।
  • रामुपाले जिल्ला र निर्वाचन क्षेत्रमा समीक्षा बैठक गर्न र चैत मसान्तभित्र प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरेको छ ।

काठमाडौँमा उपलब्ध सचिवालय सदस्यहरूको बैठकमा चुनावी समीक्षा गर्दै रामुपाले मधेसवादी तथा अन्य पहिचानवादी शक्तिहरूबिच एकता हुन नसक्दा चुनावमा पराजय भोगेको निष्कर्ष निकालेको छ ।

तराई मधेसकेन्द्रित दलहरूबिच लोकतान्त्रिक मोर्चा बनेपछि पनि चुनावमा एकसाथ जान नसक्नुलाई रामुपाले आफ्नो कमजोरी स्विकारेको छ । साथै, मधेसवादी दलहरूबाट प्रधानमन्त्री बन्न नसक्ने जनधारणाका कारण तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेसको भावनालाई सम्बोधन गर्दै प्रधानमन्त्रीको उम्मेदवार प्रस्तुत गर्दा मधेसका जनताको झुकाव त्यतातिर गएकाले आफूलाई मत कम आएको रामुपाको निष्कर्ष छ । 

बैठकले मधेसवादी दलहरूले मधेस प्रदेश सरकार चलाए पनि सन्तोषजनक काम गर्न नसकेको गुनासो पनि जनस्तरबाट आएको ठहर गरेको छ । संघीय सरकारमा सहभागी हुँदा पनि सोचेअनुसार काम गर्न नसकेको गुनासो जनतामाझ रहेको रामुपाका महासचिव केशव झाले बताए । 

महासचिव झाले जानकारी दिएअनुसार मधेस प्रदेश तथा स्थानीय तहमा मधेसवादी दलभन्दा अन्य दलका प्रतिनिधि बढी भए पनि दोषको भार मधेसवादी दलमाथि नै थोपरिएको र त्यसको असर चुनावमा परेको निष्कर्ष पार्टीले निकालेको छ । 

चैत १७ गते बसेको उपलब्ध सचिवालयको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम र यसका कारणहरूको यथार्थ विश्लेषण गर्न जिल्ला तथा निर्वाचन क्षेत्रीय तहमा समीक्षा बैठक बस्न निर्देशन दिएको छ । 

समीक्षा बैठकमा चुनावमा पार्टीका नेता, उम्मेदवार, कार्यकर्ता तथा शुभेच्छुकहरूको भूमिका स्पष्ट रूपमा खुलाएर प्रतिवेदन पठाउन रामुपाले आज सर्कुलर जारी गरेको छ । जिल्ला तथा क्षेत्रबाट प्राप्त समीक्षाको विस्तृत प्रतिवेदन अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा चैतमसान्तभित्र पठाउन पनि निर्देशन दिइएको छ । 

जिल्लाहरूबाट प्राप्त समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आगामी वैशाख पहिलो साता पार्टीको बैठक बस्ने र त्यसको आधारमा थप समीक्षा गरिने महासचिव केशव झाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप