बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा बैठक

भदौ २४ को घटना : प्रतिनिधिसभामा आङ्देम्बे र बादल आक्रामक, लामिछाने र शाहीले उच्चारण नै गरेनन्

बिहीबार, १९ चैत २०८२, १७ : २७
बिहीबार, १९ चैत २०८२

सारांश

  • प्रतिनिधिसभाको पहिलो बैठकमा सांसदहरूले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमबारे आ–आफ्ना धारणा राखेका छन्।
  • कांग्रेसका आङ्देम्बे र एमालेका बादलले घटनाको गम्भीर छानबिन र जवाफदेहिताको माग गर्दा लामिछाने र शाहीले भने यस विषयमा मौनता वा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनबाट गठित प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सांसदहरूबिच घोचपेच भएको छ । पहिलो बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका एक एक सांसद र स्वतन्त्र सांसदले शुभकामना मन्तव्य दिएका थिए ।
 
निर्वाचनपछि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित पहिलो, नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो, नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो पार्टी बनेका छन् । ७ सिट जितेको श्रम सस्कृति पार्टी पाँचौँ र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी छैँटौ भएका छन् । पूर्वमन्त्री एवं वैज्ञानिक महाबिर पुन स्वतन्त्र सांसद रहेका छन् l  सिट संख्याको आधारमा निर्धारण गरिएको समयानुसार शुभकामना मन्तव्य दिनेक्रममा दलका नेताहरूबिच जेनजी आन्दोलनबारे घोचपेच भएको हो । 

सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले शुभकामना मन्तव्यका क्रममा जेनजी आन्दोलनबारे थोरैमात्रै बोले, त्यो पनि व्यङ्ग्यात्मक रूपमा । उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदकी आमालाई न्याय दिनुपर्ने विषय मात्रै बोले, अरु केही बोलेनन् । लामिछानेले सम्बोधनका क्रममा भने, ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुनमै संशोधन गरिएका, अध्यादेश ल्याइएका जस्ता गलत क्रियाकलापहरू अब यथाशीघ्र सच्चाइने कुरा म जानकारी गराउन चाहन्छु । न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन ।’ 

जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकको पक्राउबारे एमालेले बैठक सुरू हुने बित्तिकै आपत्ति जनाएको थियो । त्यसैको जवाफ दिएको शैलीमा लामिछानेले यो वाक्य बोलेका थिए । 

लामिछानेपछि शुभकामना मन्तव्य दिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले भदौ २३ र २४ गते दुवै दिनका घटनालाई एक/एक गरी केलाउन जरुरी रहेको बताए । ‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने, कसैले २४ को ध्वंस देख्ने २३ को दमन नदेख्ने ! यो प्रवृत्ति एकदम गलत छ,’ आङ्देम्बेले भने, ‘हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले समेत २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कारबाहीको सिफारिस गर्‍यो, तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो । यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न ।’

कांग्रेस सांसद आङ्देम्बेले सरकारलाई गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । ‘नयाँ प्रधानमन्त्रीज्यूलाई म ध्यानाकर्षण गराउन चाहन्छु— जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने,’ उनले भने, ‘म आग्रह गर्न चाहन्छु, सरकारले सुझबुझपूर्ण ढङ्गले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस् ।’ 

संसद् भवन, सिंहदरबारलगायतका भैतिक संरचना जलाइएको बारे पनि उनले सरकारको ध्यानाकर्षण गराए । ‘किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौँ भौतिक संरचना ? म सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ कांग्रेस सांसद आङदेम्बेले भने । 

घटनाका दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने मान्यतामा कांग्रेस प्रष्ट रहेको आङ्देम्बेले बताए । ‘कांग्रेस ’दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न’ भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको छ । यो मान्यतामा हामी आज पनि प्रस्ट र दृढ छौँ,’ आङ्देम्बेले भने ।
 
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भदौ २४ गतेको विध्वंस किन र के उद्देश्यका लागि भएको थियो भन्दै सरकारसँग जवाफ माग गरे । बादलले कुन उद्देश्यका लागि सिंहदरबार, राष्ट्रपति निवास, संसद भवन जलाइएको हो सो को कारण खोज्नुपर्ने बताए ।

‘सिंहदरबार किन जलाइयो ? संसद् भवन किन जलाइयो ?’ बादलले प्रश्न गर्दै भने, ‘आज कुन उद्देश्यको पूर्ति गर्न देशव्यापी रूपमा दमनचक्र र राज्य आतंक मच्चाइँदैछ ?’ 

उनले रास्वपाले जादुमय विजय हासिल गर्न बाह्य शक्तिले काम गरेको आरोप समेत लगाउन भ्याए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयमा सेनासहित विभिन्न दृश्य–अदृश्य शक्तिको निर्णायक भूमिका रहेको उनको आरोप थियो । 

बादलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा रास्वपाले जादुमयी जित निकाल्नुमा सेना, ब्युरोक्रेसी, सुशीला कार्की नेतृत्वको सरकार, कार्की आयोग, बारबार फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाए । 

‘यो जादुमय विजयमा क-कसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्, अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्स, मिडिया ट्रायलहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र  हत्याराका रूपमा स्थापित गरे,’ बादलले भने, ‘देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’

बादलले अदृश्य शक्तिहरू, टीओबी, अल्गोरिदम, मिडिया ट्रायलबाट राष्ट्रिय स्वतन्त्र पार्टीले चामत्कारिक विजय प्राप्त गरेको बताए ।
 
नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले नवयुवाहरूले भदौ २३ र २४ गते उठाएको प्रश्नलाई स्वीकार्ने बताए । ‘यस प्रकारको विकासले मात्रै पुगेन, यस प्रकारको गतिले पुगेन, यस प्रकारको शासन सुशासनले पुगेन भनेर त्यो एउटा सडकमै विद्रोह गरेको अवस्था हो,’ पुनले बैठकमा भने, ‘त्यसलाई हामी स्वीकार गरेर निर्वाचनमा गयौँ, निर्वाचनबाट जनमत आएको छ । जनमतलाई हामी सबैले स्वीकार गरेका छौँ ।’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जेनजी आन्दोलन र आगजनीको उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए । ‘जेनजी आन्दोलनका नाममा विद्यालय पोशाकमै बालबालिकालाई सडकमा उतार्ने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने र भदौ २३ तथा २४ गते सिंहदरबार र संसद् भवन लगायत देशका सर्वोच्च निकाय जलाउने कृत्यको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ,’ हर्क साम्पाङले सदनमामा माग गरे । 

बैठकमा शुभकामना मन्तव्य दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले भदौ २३ र २४ को घटनाबारे केही विषय पनि उठाएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप