आठ महिनामा व्यापार घाटा ११ प्रतिशतले बढ्यो
सारांश
- चालु आर्थिक वर्षको आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
- समीक्षा अवधिमा निर्यात २०.८ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड र आयात १२.५ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६.२ प्रतिशतले बढेको व्यापार घाटा यस वर्ष झन् तीव्र बनेको हो ।
समीक्षा अवधिमा निर्यात र आयात दुवै बढे पनि आयातको आकार ठूलो हुँदा व्यापार असन्तुलन चुलिएको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ५७.२ प्रतिशतको उच्च दरले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात २५.३ प्रतिशत र अन्य मुलुकतर्फ ७.८ प्रतिशतले बढेको छ भने छिमेकी मुलुक चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतको ठूलो गिरावट आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल र चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, ऊनी गलैंचा र हस्तकलाका सामानको निर्यात घटेको छ ।
यता वस्तु आयाततर्फ भने १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ५.१ प्रतिशत, चीनबाट २१.२ प्रतिशत र अन्य मुलुकबाट २६ प्रतिशतले आयात बढेको छ । विशेष गरी भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण र दूरसञ्चारका सामग्रीको आयात बढेको तथ्याङ्कले देखाएको छ । खाने तेल, लसुन र दाल जस्ता वस्तुको आयातमा भने केही कमी आएको छ ।
व्यापारको समग्र अवस्था हेर्दा निर्यात-आयात अनुपातमा सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष १३.८ प्रतिशत रहेको यस्तो अनुपात यस वर्ष १४.८ प्रतिशत पुगेको छ । यसैगरी भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २० अर्ब ४१ करोड बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्ष १ खर्ब १९ अर्ब ४९ करोड बराबरको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण