शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभाको पहिलो बैठक

संसदका रोचक दृश्य : बादल गर्जिँदा सुधन रन्किए, महावीरले हँसाए

बिहीबार, १९ चैत २०८२, १८ : १२
बिहीबार, १९ चैत २०८२

सारांश

  • प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा एमालेले विरोध जनाउँदै बैठकमा अवरोध सिर्जना गरेको छ।
  • स्वतन्त्र सांसद महावीर पुनले आफ्नो मन्तव्य राख्दै सांसदहरूलाई हसाएका छन्।
  • नेकपा एमालेका नेता रामबहादुर थापा बादल आक्रामक रूपमा प्रस्तुत हुँदै विभिन्न आरोप लगाएका छन्।

काठमाडौंँ । फागुन २१ गतेको निर्वाचनबाट गठित प्रतिनिधि सभाको पहिलो बैठक आज भयो ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद् भवनको बहुउद्देश्यीय हलमा बैठकलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद् अजुननरसिंह केसीले सञ्चालन गरेका थिए । पहिलो बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका एक एक सांसदले सम्बोधन गरे l सत्ताधारी दल रास्वपाका सभापति एवं सांसद रवि लामिछाने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे र साना दलहरू नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल), नेकपाका सांसद वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ)  र राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गरे ।

यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि महत्त्वपूर्ण कुराहरू राखे । नयाँ संसद् भवनमा नयाँ जनमतसहित भएको पहिलो बैठकमा केही रोचक दृश्यहरू पनि देखिए । 

नेकपा एमालेका सांसदहरुले बैठक सुरु हुनासाथ उठेर विरोध जनाए । अर्थात् नयाँ प्रतिनिधिसभा बैठक अवरोधबाट सुरु भयो । एमालेका सांसदहरू उठेपछि सभा चलाइरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए । सरकारले नेपालको संविधानको मौलिक हकविपरीत काम गरेको भन्दै एमालेका सांसद बरालले धारणा राखे । उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाइ तत्काल रिहा गर्नु पर्ने माग गरे ।

कडा देखिए हर्क 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्को पहिलो बैठकमा समय अभाव भएको गुनासो मात्रै गरेनन्, समय सकिएपछि पनि बोलिरहे । सभामुख केसीले दुई पटक 'समय सकियो' भन्दा पनि उनी रोकिएनन् । साम्पाङलाई संसद् सचिवालयले ७ मिनेट समय छुट्याएको थियो । 

महावीरको महत्त्वपूर्ण समय

संसद‍्मा देखिएको अर्को रोचक दृश्य स्वतन्त्र सांसद महावीर पुनको हो । उनी संसदको रोस्टममा पुग्नेबित्तिकै आफू आउनै नपर्ने मान्छे आएको भन्दै सांसदहरूलाई हसाए । उनले आफू अन्तरिम सरकारको शिक्षामन्त्री हुँदा सुधारको काम गर्न ३ वटा अध्यादेश ल्याउन खोजे पनि नसकेको भन्दै नयाँ आउने सरकारले ल्याउनुपर्ने बताएका थिए । उनले त्यसो भनिरहँदा शिक्षामन्त्री सस्मित पोखरेलले उनका कुराहरू टिपिरहेका थिए । उनले सांसदहरूलाई शुभकामना दिँदै ‘रास्वपाका भाइबैनी’ भन्दै बधाई दिए । 

सुधनलाई तिर्खा 

गृहमन्त्री सुधन गुरुङले पहिलो बैठकमै तीन वटा अध्यादेश पेस गरे । तर संसद‍्मा कसरी अध्यादेश प्रस्तुत गर्ने भन्ने कुरामा केहीबेर अलमल भए । उनलाई सभामुख केसीले अध्यादेश पेस गर्न भनेपछि उनले अध्यादेश कहाँ छ भन्ने नै भेउ पाएनन् । त्यसपछि संसद्को रोस्टममा पुगेका गुरुङले पानी मगाएर खाए । गुरुमा ‘लो कन्फिडेन्स’ देखिएको थियो । निकै अफ्ठ्यारो गरी नेपाली भाषामा उनले अध्यादेश पढेका थिए । 

बादल गर्जिए, सुधन रन्किए 

नेकपा एमालेका संसदीय दलका नेताका रूपमा आज रामबहादुर थापा 'बादल'ले सम्बोधन गरे । उनी आक्रामक सुनिएका थिए । भदौ २३ गते विद्यार्थीलाई उचालेर ड्रेसमा ल्याएको देखि २४ गते संसद् भवन र सिंहदरबारमा समेत आगलागी लगाउन रास्वपाको अघोषित संग्लनता रहेको उनले आरोप लगाए । उनले आरोप लगाइरहँदा गृहमन्त्री गुरुङले भने 'धारेहात' लगाएजस्तो देखिएको थियो । उनले गृहमन्त्रीप्रति रुष्ट देखिएको संकेत गरेका थिए ।  

बादल र प्रचण्ड खासखुस 

कुनै समय जनयुद्धको एउटै मोर्चाका कमान्डर रहेका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले संसदीय दलका नेता 'बादल' संयोगले विपक्षी दलको सिटमा सँगै परेका छन् । उनीहरू रास्वपाका सभापति रवि लामिछाने बोल्दै गर्दा र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ बोल्दै गर्दा कुरा गर्दै थिए ।

बालेनले हर्कलाई अँगालो हाले 

सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनको चर्को आलोचना गर्ने श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बैठक सकेपछि प्रधानमन्त्री बालेनले बोलाएर नै अँगालो मारेका थिए । त्यसपछि उनलाई राईले मोबाइलमा केही देखाएका थिए । दुवै २०७९ मा स्वतन्त्र रूपमा मेयरमा निर्वाचित हुन् । राष्ट्रिय राजनीतिमा आएपछि राईले बालेनलाई एकोहोरो आरोप लगाइरहे पनि बालेनले खासै वास्ता भने गर्ने गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप