बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

आइतबार, २२ चैत २०८२, २३ : ०३
आइतबार, २२ चैत २०८२

सारांश

  • भोजपुरमा मुन्दुम अल्ट्रा ट्रेल रेस सफलतापूर्वक सम्पन्न भयो।
  • प्रतियोगितामा विभिन्न विधाका विजेताहरूलाई पुरस्कार वितरण गरियो।
  • दौड हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा आयोजना गरिएको थियो।

भोजपुर । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ ।

यही चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो । मुन्दुम पदमार्गको प्रचारप्रसार तथा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तीनवटा स्थानीय तह र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

हतुवागढी–९ कोप्चेबाट सुरु भएको दौड आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६० किलोमिटर दूरीमा सञ्चालन गरिएको हो । प्रतियोगितामा ६० किलोमिटर पुरुष खुलातर्फ ओखलढुङ्गाका विनोद थापा मगर ६ घण्टा ५० मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । खोलुखुम्बुका अर्जुन कुलुङ द्वितीय र मिलन राई तृतीय बने । विजेताहरूले क्रमशः रु ८० हजार, रु ६० हजार र रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै महिला खुल्ला ६० किलोमिटर दौडमा खोटाङकी निर्मला राई प्रथम, रोल्पाकी आश्मा विक द्वितीय र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तृतीय बने । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु ८० हजार, रु ६० हजार र रु ४० हजार पुरस्कार प्राप्त गरेको आयोजक समितिका सचिव रविन थापाले जानकारी दिए ।

पुरुष खुल्ला ४५ किलोमिटर दौडमा काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू द्वितीय र भोजपुरका उमेश राई तृतीय बने । उनीहरूले पनि ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार पुरस्कार प्राप्त गरेका छन् । महिला ४५ किलोमिटरतर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोश्नी बुढा द्वितीय र भोजपुरकी रुश्मा राई तृतीय बनिन् । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार पुरस्कार प्राप्त गरेका छन् ।

भेट्रान ९४० वर्षमाथि० पुरुषतर्फ धरानका यामानाथ लिम्बू प्रथम, विजय राई द्वितीय र रेशम लिम्बू तृतीय बनिन् । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरेको आयोजक समितिका अध्यक्ष सन्दीप किरावाले बताए ।

भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र विनीता राई द्वितीय बनिन् । उनीहरूले क्रमशः रु २० हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, कोशी प्रदेशसभा सदस्य विनोद वान्तावा, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईलगायतले विजेतालाई पुरस्कार वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप