डिसहोमको नक्कली कर्मचारी बनेर ठगी, यसरी फन्दामा पर्यो गिरोह
सारांश
- डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने तीन जनाको गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले रिचार्ज बोनसको लोभ देखाएर ३६४ जनाभन्दा बढी व्यक्तिबाट २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन्।
- प्रहरीले उनीहरूको साथबाट नक्कली छाप, रसिद र अन्य ठगीमा प्रयोग गरिएका सामग्रीहरू बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डिसहोमको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ। विशेष अफरको लोभ देखाएर ग्राहकहरूबाट रकम असुल्ने कार्यमा संलग्न धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।
यो गिरोहले डिसहोमका नियमित ग्राहकहरूलाई फोन गरेर ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस रिचार्ज’ उपलब्ध गराउने भन्दै झुक्याउने गरेको पाइएको छ। उनीहरूले ग्राहकको विश्वास जित्नका लागि नक्कली रसिद र छापको समेत प्रयोग गर्ने गरेका थिए।
अनुसन्धानका क्रममा मुख्य योजनाकार आरती सिंखडाले करिब चार वर्षसम्म डिसहोमको सब-डिलर र इन्टरनेट सेवामा काम गरेको खुलेको छ। सोही समयमा उनले बनाएका पुराना ग्राहकहरूको विवरण प्रयोग गरी यो ठगी धन्दा चलाएको प्रहरीको दाबी छ।
प्रहरीले उनीहरूको साथबाट प्रविधि इम्पेक्स प्रालिको छाप, रसिद प्याड, आरती सिंखडाको नाममा रहेको नक्कली परिचयपत्र र ग्राहकहरूको हिसाब किताब राखिएको डायरी समेत बरामद गरेको छ।
आरतीले आफ्नै र श्रीमानको इसेवा, खल्ती तथा बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानबाट देखिएको छ। उनले प्रयोग गर्ने रसिद र छाप गोंगबुको एक आर्ट पसलबाट नक्कली बनाएको समेत पुष्टि भएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले हालसम्म ३६४ जनाभन्दा बढी व्यक्तिलाई ठगी गरिसकेका छन्। उनीहरूले सर्वसाधारणबाट २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ।
अहिलेसम्म सात जना पीडितहरूले मात्र कार्यालयमा औपचारिक निवेदन दिएका छन् भने अन्य पीडितहरू पनि सम्पर्कमा आउने क्रम जारी छ। आरतीको आफ्नै नम्बरबाट ८६ वटा डिसहोम अकाउन्टहरू खोलिएको समेत प्रहरीले पत्ता लगाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
यसैबीच डिशहोमले कम्पनीको सक्रियता र निगरानीका कारण संलग्न व्यक्तिहरु पक्राउ पर्न सफल भएको जनाएको छ ।
कम्पनीले सञ्चालन गर्दै आएको नियमित फिल्ड अनुगमन, आन्तरिक समीक्षा तथा ग्राहकबाट प्राप्त गुनासो र प्रतिक्रियाका आधारमा केही व्यक्तिहरुले डिशहोमको नाम प्रयोग गरी ग्राहकहरुलाई झुक्याएर रकम असुल्ने गतिविधि गरिरहेको तथ्य फेला परेको थियो ।
उक्त विषयलाई गम्भीर रूपमा लिँदै कम्पनीले आन्तरिक रूपमा आवश्यक तथ्य संकलन तथा प्रारम्भिक अध्ययन गरेको थियो । त्यसपछि प्राप्त विवरण र प्रमाण सम्बन्धित निकायसमक्ष समयमै उपलब्ध गराएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण