बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक कप खेलकुद प्रतियोगिता सुरु

मङ्गलबार, २४ चैत २०८२, १८ : २५
मङ्गलबार, २४ चैत २०८२

काठमाडाैँ । नेपाल एपीएफ रङ्गशालामा चैत्र २४ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०८२’ खेलकुद प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गरेका हुन् । 

प्रतियोगिताको उद्घाटन खेलमा रिले दौडतर्फ विजय भएका पुरुष तथा महिला खेलाडीहरूलाई  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले पुरस्कार समेत वितरण गरेका थिए । त्यसैगरी आजै सम्पन्न भएको फुटबल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली विजयी भएका छन् ।

विजयी सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरलाई ४–० ले, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई पेनाल्टी सुटआउटमा ४–३ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरी विजयी भएको हो।

त्यसैगरी भलिबलतर्फको खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरीलाई २५–१५, २५–२० र २५–१८ तथा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई २५–२०, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरी विजयी भएको हो।

प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान तथा ८ वटा बाहिनी मुख्यालय गरी ९ वटा कार्यालयका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स र कबड्डी गरी चार खेलहरू समावेश गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालका पुरुष तथा महिला गरी ६ सय २२ जना खेलाडी सहभागी रहेको सो प्रतियोगिता यही चैत्र २९ गतेसम्म सञ्चालन हुनेछ ।कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवान र विभिन्न विधाका खेलाडीहरूको उपस्थिति रहेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप