सात महिनापछि सम्पर्कमा आए सुदूरपश्चिमका सांसद प्रकाश देउवा
सारांश
- सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा सात महिनापछि औपचारिक रूपमा सम्पर्कमा आएका छन्।
- अमेरिकामा उपचार गराइरहेका देउवाले स्वास्थ्य समस्याका कारण प्रदेशसभा बैठकमा अनुपस्थित रहेको जानकारी सभामुखलाई गराएका छन्।
- उनले स्वास्थ्यमा सुधार भएलगत्तै नेपाल फर्केर संसदीय काममा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा सात महिना लामो समयपछि आधिकारिक सम्पर्कमा आएका छन्।
लामो समयदेखि सदनमा अनुपस्थित रहेका देउवाले सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै आफ्नो अवस्थाबारे जानकारी गराएका हुन्।
सभामुखलाई सम्बोधन गरिएको पत्रमा देउवाले आफू हाल अमेरिकामा रहेको र स्वास्थ्य समस्याका कारण विश्राम गरिरहेको उल्लेख गरेका छन्।
‘गत भदौ २८ गते व्यक्तिगत कामका सिलसिलामा म अमेरिका आएको थिएँ, तर यहाँ आएपछि स्वास्थ्यमा केही समस्या देखिएकाले चिकित्सकको सल्लाहअनुसार उपचार र आराममा रहनुपर्ने भयो,’ उनले पत्रमा लेखेका छन्।
स्वास्थ्यकै कारण यसअघि सञ्चालन भएका प्रदेशसभाका बैठकहरूमा सहभागी हुन नसकेको भन्दै उनले चैत २४ गतेका लागि तय गरिएको बैठकमा समेत आफू उपस्थित हुन नसक्ने स्पष्ट पारेका छन्। आफ्नो स्वास्थ्यमा पूर्ण सुधार भएलगत्तै नेपाल फर्केर संसदीय कामकारबाहीमा नियमित सहभागी हुने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
सुदूरपश्चिम प्रदेशसभा नियमावलीमा कुनै पनि सदस्य लगातार १० वटा बैठकमा सूचना नदिई अनुपस्थित रहेमा उनको पद रिक्त हुन सक्ने कानुनी व्यवस्था छ। सोही कानुनी जोखिमलाई मध्यनजर गर्दै लगातार आठ वटा बैठकमा अनुपस्थित भइसकेका देउवाले पद जोगाउन सभामुखलाई औपचारिक जानकारी गराएका हुन्।
नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाशबहादुर देउवा सुदूरपश्चिम सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण