बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

सूर्यविनायक-धुलिखेल सडक : बजेटको समस्या सल्टियो, निर्माण सामग्रीको भाउले काम प्रभावित

मङ्गलबार, २४ चैत २०८२, २० : ००
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनामा बजेटको समस्या समाधान भए पनि निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले काम प्रभावित भएको छ।
  • अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बिटुमिनको मूल्य प्रतिलिटर ८० बाट १३५ रुपैयाँ पुग्दा निर्माण कार्यमा सुस्तता आएको छ।
  • आयोजनाको कुल भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ र आगामी एक महिनाभित्र साँगाको अन्डरपास सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा छ । सूर्यविनायकदेखि धुलिखेलसम्म दुई खण्डमा विभाजित गरी दुई लेनको सडकलाई ६ लेन (मुख्य ४ लेन र २ सर्भिस लेन) मा विस्तार भइरहेको छ । यस सडक पहिलो खण्ड (सूर्यविनायक–साँगा) मा ४८ प्रतिशत र दोस्रो खण्ड (साँगा–धुलिखेल) मा ६८ प्रतिशत भौतिक प्रगति भएको छ । 

२०७९ सालदेखि विस्तार सुरू भएको यो सडकमा बजेट अभावका कारण तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकेको आयोजनाको दाबी छ । अहिले म्याद थप गरेर काम भइरहेको छ । साथै, सरकारले बजेट उपलब्ध पनि गराउन  थालेको छ । तर पश्चिम एशिया द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र निर्माण सामग्रीमा देखिएको मूल्य वृद्धिका कारण अपेक्षित काम सम्पन्न गर्न चुनौती रहेको आयोजनाले जनाएको छ ।

बिटुमिन अभाव र मूल्यवृद्धिले काम प्रभावित
 
यस आयोजना निर्माणमा बजेटको समस्या केही हदसम्म समाधान भए पनि अहिले बाह्य कारणले गर्दा आयोजनाले महँगी र कच्चा पदार्थ अभावको नयाँ चुनौती सामना गरिरहेको छ । अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सडक निर्माणका लागि अत्यावश्यक बिटुमिन (अलकत्रा) पाउन कठिन भएको आयोजना प्रमुख विजयकुमार महतोले रातोपाटीलाई बताए ।

पछिल्लो समय अलकत्रा (बिटुमिन) को अभाव र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण काममा केही अवरोध पुगेको छ । आयोजना प्रमुख महतोले भने, ‘पहिले ८० रुपैयाँ पर्ने बिटुमिनको भाउ अहिले १३५ रुपैयाँसम्म पुगेको छ । भाउ बढेको मात्र छैन, पाउनै मुस्किल छ । यसले गर्दा निर्माण लागत बढ्नुका साथै कामको गतिमा समेत सुस्तता आएको छ ।’

महतोका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बिटुमिनको मूल्य साविकको ८० रुपैयाँबाट बढेर १३५ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ । साथै ढुवानी खर्चमा भएको वृद्धिका कारण निर्माण व्यवसायीले विस्तार कार्य प्रभावित भएको छ । 

चालु वर्षलाई १ अर्ब बजेट आवश्यक 

यसअघि यो आयोजनामा भुक्तानीमा समस्या देखिएको थियो । जसकारण सडक विस्तार ढिलाइ भइरहेको थियो । हाललाई बजेटको अभाव नरहेको र अर्थ मन्त्रालयबाट थप बजेट आउने प्रक्रियामा रहेको महतोले जानकारी दिए ।

यस आयोजनाका लागि अर्थ मन्त्रालयले भर्खरै २० करोड रुपैयाँ उपलब्ध गराएको छ । चालु आर्थिक वर्षभित्रै १५.८ किलोमिटर सडक खण्डको पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ उक्त रकम निकासा गरिएको हो । यद्यपि, आयोजनाका लागि चालु आर्थिक वर्षमा (असार मसान्तअघि) करिब १ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

आयोजना प्रमुख महतोका अनुसार हालसम्म १५ करोड रुपैयाँ बराबरको काम भइसकेको छ । उनका अनुसार थप बजेटका लागि सडक विभाग मार्फत पहल भइरहेको छ । आयोजनाले चालु वर्षका लागि तीन अर्ब रुपैयाँ माग गरेपनि सडक र पुलका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भएको थियो ।

कति बन्यो ?

निर्माणाधीन सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको पहिलो खण्ड (सूर्यविनायक–साँगा) मा ४८ प्रतिशत र दोस्रो खण्ड (साँगा–धुलिखेल) मा ६८ प्रतिशत भौतिक प्रगति भएको छ । कुल १५.८ किलोमिटर सडकखण्ड समग्रमा करिब ६० प्रतिशत भौतिक प्रगति पुगेको छ । 

यस आयोजनाको पहिलो खण्ड सूर्यविनायक–साँगा खण्ड ७.५ किलोमिटर छ । आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले जिम्मा लिएको यस खण्डको प्रगति ४८ प्रतिशत मात्रै छ । ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको थियो । हाल यस खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । २०७९ पुस २४ गते सुरु भएको यस खण्डको २०८३ फागुन २९ गतेसम्म म्याद थप गरिएको छ ।

यस्तै दोस्रो खण्ड साँगा–धुलिखेल ८.३ किलोमिटर दूरी छ । यो लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ गते जिम्मा लिएको यस खण्डको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । यस खण्डमा ३ किलोमिटर ६ लेन सडक र अन्य क्षेत्रमा साढे २ किलोमिटर कालोपत्रे भइसकेको छ । ४ अर्ब ५ करोड ६४ लाखको लागतमा बन्ने यो खण्डको म्याद २०८३ मंसिर २३ गतेसम्म थपिएको छ ।

यस सडकमा हाल दुई चरणमा (डीबीएम र वेरिङ कोर्स) कालोपत्रे गर्ने योजना छ । दोस्रो खण्डमा ३ किलोमिटर सडक ६ लेनमै पहिलो चरणको कालोपत्रे भइसकेको छ भने सूर्यविनायक क्षेत्रमा २ किलोमिटर खण्डमा कालोपत्रे सुरु हुने तयारी भए पनि अभावका कारण आयोजनाले जनाएको छ ।

साथै, यस आयोजना अन्तर्गत साँगामा निर्माणाधीन अन्डरपास आगामी एक महिनाभित्रै सञ्चालनमा आउने भएको छ । आयोजना प्रमुख महतोका अनुसार अन्डरपासको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम एक महिनाभित्र सम्पन्न गरी यहीँबाट सवारी सञ्चालनका लागि खुल्ला गर्ने तयारी भइरहेको छ । अन्डरपास सञ्चालनमा आएपछि साँगाको उकालो क्षेत्रको सडक विस्तारको काम अघि बढाउने उनको भनाइ छ ।

पुल निर्माणको अवस्था कस्तो छ ?
 
आयोजना अन्तर्गत तीनवटा पुलहरूको निर्माण कार्य पनि जारी छ, जसको हालसम्मको प्रगति १२ प्रतिशत रहेको छ । जगाती, पुण्यमाता र महादेव खोलामा निर्माण हुने तीनवटै पुलको प्रगति न्यून छ । हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले ५७ करोड ५० लाखमा ठेक्का लिएको यी पुलहरूमध्ये महादेव खोला पुलको काम १२ प्रतिशत मात्र सकिएको छ । 

जगाती र पुण्यमाता पुलको सुरूको डिजाइनमा केही परिवर्तन गरी भर्खरै निर्माण थालिएको छ । ‘डिजाइन एन्ड बिल्ड’ प्रविधिमा निर्माण भइरहेका यी पुलहरूको म्याद २०८३ मंसिर ५ गतेसम्म रहेको छ । पुल निर्माणमा ढिलाइ हुँदा आयोजनाको पूर्णतामा चुनौती थपिने देखिएको छ ।

साँगा र बनेपा क्षेत्रमा रहेका करिब पाँचवटा घर–टहरा हटाउने प्रक्रिया पनि जारी रहेको आयोजनाले जनाएको छ । यस्तै, सडक विस्तारका क्रममा रहेका बिजुलीका पोल हटाउने काम ८५ प्रतिशत सकिएको छ भने १५ प्रतिशत अझै बाँकी छ । साँगा र बनेपा क्षेत्रमा रहेका केही घर–टहरा हटाउन बाँकी रहेपनि त्यसकै कारण काम पूर्ण रूपमा नरोकिने आयोजनाको भनाइ छ । यो सडक विस्तार सम्पन्न भएपछि काभ्रे र भक्तपुरबिचको यातायात आवागमन निकै सहज र छिटो हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप