जलेश्वर अस्पतालमा डायलासिस सेवा सुरु, आइसीयू सेवा कहिले होला सञ्चालन ?
सारांश
- महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा जनशक्ति अभावका कारण तीन वर्षदेखि थन्किएका डायलासिस मेसिनहरू अन्ततः सञ्चालनमा आएका छन्।
- डायलासिस सेवा सुरु भएसँगै स्थानीय मिर्गौला रोगीहरूले ठूलो राहत महसुस गरेका छन्।
- अस्पताल प्रशासनले अब छिट्टै आइसीयू र एनआइसीयू सेवा सञ्चालन गर्न गृहकार्य भइरहेको जनाएको छ।
जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा विगत तीन वर्षदेखि जनशक्ति अभावका कारण थन्किएर बसेका डायलासिस मेसिन एक साताअघि सञ्चालनमा आएको छ । डायलासिस सेवा सुरु भएसँगै मिर्गौला रोगी र उनीहरूका परिवारलाई राहत मिलेको छ । यससँगै अस्पतालमा आइसीयू, एनआइसीयू तथा अन्य विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने माग पनि बढ्दो छ ।
एक साताअघि मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री जङ्गीलाल राय, मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव तथा अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवले संयुक्त रूपमा डायलासिस युनिट उदघाटन गरेका थिए ।
अस्पतालमा रहेका ६ थान डायलासिस मेसिनमध्ये पाँच थान नियमित सञ्चालनमा आएको छ भने एक थान आकस्मिक अवस्थाका लागि जगेडामा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवका अनुसार लामो समयदेखि मेसिनहरू जनशक्ति र व्यवस्थापन अभावका कारण सञ्चालनमा आउन सकेका थिएनन् । अहिले आवश्यक प्राविधिक जनशक्ति उपलब्ध भएपछि सेवा सुचारु गरिएको र यसले जलेश्वरसहित आसपासका क्षेत्रका बिरामीलाई ठुलो राहत भएको उनले बताए ।
डा. श्रीवास्तवले आगामी दिनमा आइसीयू, एनआइसीयू तथा डिजिटल स्वास्थ्य सेवा सुरु गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए । उनले अस्पतालको सेवा विस्तारमा कर्मचारी, स्थानीयवासी तथा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री जङ्गीलाल रायले रातोपाटीसँग कुरा गर्दै अस्पतालको सेवा विस्तारमा प्रदेश सरकारको पूर्ण सहयोग रहने बताए ।
मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले कर्मचारीलाई इमानदारिताका साथ तोकिएको जिम्मेवारी समयमै पूरा गर्न र बिरामीको उपचारमा प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिएको जानकारी दिए ।
जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले यसअघि जलेश्वरका बिरामीलाई डायलासिसका लागि जनकपुरदेखि काठमाडौँसम्म सिफारिस गरेर पठाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अब आफ्नै ठाउँमा सेवा सुरु भएकाले ठुलो राहत पुगेको बताए ।
यसअघि जिल्लामा एउटा पनि डायलासिस मेसिन सञ्चालनमा नहुँदा मिर्गौला रोगीले जनकपुरसहित बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता थियो । यसले समय र खर्च दुवैमा दोहोरो मार परेको थियो ।
जलेश्वर नगरपालिका वडा नं. २ का विष्णु चौधरीले आफ्नी ४० वर्षीय पत्नी निलम चौधरीका दुवै मिर्गौलाले काम नगरेपछि हप्तामा दुई दिन डायलासिस गराउनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार विगत तीन वर्षदेखि हरेक सोमबार र बिहीबार पत्नीलाई जलेश्वरबाट जनकपुर डायलासिसका लागि लैजानुपर्ने बाध्यता थियो ।
‘गाडी भाडा, समय र अन्य खर्चले धेरै हैरानी हुन्थ्यो । एक पटक डायलासिसमा कम्तीमा चार घण्टा लाग्थ्यो,’ उनले भने, ‘पालो लिन बिहानै पुग्नुपर्थ्यो । अब आफ्नै ठाउँमा सेवा सुरु भएपछि त्यो झन्झट हटेको छ ।’
चौधरीका अनुसार सुरुसुरुमा एक पटक डायलासिस गराउँदा २५ सयदेखि तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको थियो । स्थानीय तह तथा स्वास्थ्य कार्यालयबाट सिफारिसपत्र लिएर जाँदा सेवा निःशुल्क हुने गरेको उनले बताए ।
चिकित्सकहरूका अनुसार मिर्गौलाले ९० प्रतिशतसम्म काम गर्ने क्षमता गुमाइसकेको अवस्थामा डायलासिस आवश्यक हुन्छ । नेपाल सरकारले डायलासिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ, जसले आर्थिक रूपमा कमजोर बिरामीलाई थप राहत दिएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरका डायलासिस थेरापिस्ट किसनकुमार रायका अनुसार मेसिनले शरीरमा बढी भएको तरल पदार्थ र फोहोर तत्व बाहिर निकालेर विशेष झोलको मद्दतले रगत शुद्ध बनाउने र पुनः शरीरमा पठाउने काम गर्छ ।
उहाँले डायलासिस गराइरहेका बिरामीलाई नियमित रूपमा खाना, पानी र औषधि सेवन गर्न आग्रह गर्दै लापरवाही गरे थप डायलासिसको जोखिम, कुपोषण, किड्नी फेल तथा मृत्युको सम्भावना समेत बढ्न सक्ने चेतावनी दिए ।
हाल जलेश्वर अस्पतालसँग पाँच जना मिर्गौलाका बिरामी नियमित सम्पर्कमा छन् । सेवा सुरु भएसँगै बिरामीको चाप अझ बढ्ने अपेक्षा गरिएको छ ।
यता, डायलासिस सेवा सुरु भएसँगै स्थानीयवासीले अब आइसीयू सेवा तत्काल सञ्चालन गर्न माग गरेका छन् । स्थानीय युवा जिरेखन पासवानले मधेस सरकारले अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरोन्नति गरे पनि आवश्यक जनशक्ति उपलब्ध गराउन नसक्दा सेवा विस्तार प्रभावित भएको बताए ।
उनले भने, ‘डायलासिस सेवा सुरु हुनु सकारात्मक कुरा हो । अब छिटै आइसीयू सेवा पनि सञ्चालन गरेर यस क्षेत्रका जनतालाई थप राहत दिनुपर्छ ।’
कोरोना कालमै प्रादेशिक अस्पताल जलेश्वरमा पाँच शय्याको भेन्टिलेटरसहितको आइसीयू जडान गरिएको भए पनि जनशक्ति अभावका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
हाल अस्पतालमा १५ शय्याका स्थायी दरबन्दीमात्रै छ भने ५० शय्याको अस्थायी दरबन्दी छ, जसको म्याद हरेक तीन–तीन महिनामा थप्नुपर्ने अवस्था छ । यही कारण सेवा विस्तारमा निरन्तर समस्या देखिएको अस्पताल प्रशासनको गुनासो छ ।
स्थानीयवासीले अस्पतालको विगतको गौरवपूर्ण इतिहास सम्झाउँदै अहिलेको अवस्थाप्रति असन्तोष व्यक्त गरेका छन् । जलेश्वर नगरपालिका वडा नं. ६, धवौलीका ६५ वर्षीय रामनाथ साहले भने, ‘यो अस्पताल पहिले निकै चर्चित थियो । यहाँ कालाजारको राम्रो उपचार हुन्थ्यो । बिहारबाट समेत बिरामी आउँथे । अहिले उपकरण भएर पनि थन्क्याएर राखिएको छ । अस्पताल रेफर केन्द्र बनेको छ ।’
जलेश्वर–२ का जानकी रमन यादवले चुनावी बाचा र वास्तविकताबिचको अन्तरप्रति प्रश्न उठाउँदै भनिन्, ‘चुनावका बेला नेताहरूको पहिलो एजेन्डा अस्पताल नै हुन्छ, तर जितिसकेपछि सबै बिर्सिन्छन् । यति ठुलो भवन छ, तर उपचारको नाममा अझै धेरै सेवा अभावमै छन् ।’
लामो समयदेखि लथालिङ्ग र रेफर केन्द्रको छवि बोकेको जलेश्वर अस्पतालमा डायलासिस सेवा सुरु हुनु सकारात्मक भए पनि स्थानीयले अस्पताललाई पूर्ण रूपमा सेवा–सुविधा सम्पन्न बनाउँदै आइसीयू, एनआइसीयू तथा अन्य विशेषज्ञ सेवा शीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण