अन्ततः कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले दिए राजीनामा
सारांश
- कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
- ६५ वर्ष उमेर पूरा भएपछि पनि पदमा रहिरहने उनको निर्णय र विवादित कार्यशैलीका कारण उनी आलोचनामा परेका थिए।
- प्रदेश प्रमुख कार्यालयमा उनको राजीनामा पत्र पुगेको छ तर प्रमुखको अनुपस्थितिका कारण स्वीकृति हुन बाँकी छ।
सुर्खेत । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले अन्ततः राजीनामा पेस गरेका छन् । ६५ वर्ष उमेर पूरा भए पनि पदमा टाँसिरहन सङ्घर्ष गरिरहेका बुढाथोकीको विषयमा सञ्चार माध्यम र सार्वजनिक रूपमा व्यापक प्रश्न उठेको थियो । चर्को दबाबपछि अन्ततः उनी राजीनामा दिन तयार भएका हुन् ।
स्रोतका अनुसार, उनले मंगलबार साँझपख प्रदेश सभाकै एक कर्मचारीलाई एकान्तमा खटाएर राजीनामा पत्र तयार पारेका हुन् । उनको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ । प्रदेश प्रमुखको कार्यालयका एक अधिकारीले बुढाथोकीको राजीनामा आएको रातोपाटीलाई पुष्टि गरे ।
‘हिजो साँझपख निवेदनचाहिँ आएको छ,’ ती अधिकारीले भने, ‘यद्यपि प्रदेश प्रमुखज्यू बाहिर हुनुहुन्छ । उहाँ केही दिनपछि आउनुहुन्छ, उहाँ आएपछि छलफल वा निर्णय होला ।’
प्रदेश प्रमुख यज्ञराज जोशी केही दिनअघि आफ्नो घर कञ्चनपुर गएका छन् । उनी फर्किन केही दिन लाग्ने हुँदा राजीनामा स्वीकृत हुन पनि समय लाग्ने देखिन्छ ।
उमेर पूरा भए पनि पदमा रहिरहने बुढाथोकीको लालच, सभामुखको अस्वाभाविक सक्रियता
प्रदेश सचिव बुढाथोकी पछिल्लो समय निकै विवादमा तानिएका पात्र हुन् । दोहोरो सुविधा लिनेदेखि आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ भुक्तानी लिएको भन्दै उनको आलोचना भइरहेको छ ।
विगतमा केन्द्रको संसद् सचिवालयमा काम गरेका उनले दोहोरो सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पटक पत्र काटेको थियो ।
यद्यपि उनका धेरैजसो अभिलेख सचिवालयमा नभेटिने गरेको कर्मचारीहरू बताउँछन् । उनी ६५ वर्ष नाघेको कुरा पनि बाहिरी रूपमा थाह पाएपछि कर्मचारीले पत्र लेखेर बायोडाटा माग्नु परेको थियो ।
अहिले सांसदका स्वकीयहरूको पारिश्रमिक रोकेका बुढाथोकीले आफ्नो स्वकीय श्रीमतीको भने नियमित तलब लिइरहेको भन्दै सांसददेखि कर्मचारीहरु समेत उनको गतिविधिबाट दिक्क छन् ।
यद्यपि उनलाई सचिव पदमा कायम राख्न सभामुख नन्दा गुरुङले विगत एक हप्तादेखि सक्रियता बढाएकी थिइन् ।
एक कार्यकाल बिताइसकेर दोस्रो पटक ०८१ जेठ १३ गते प्रदेश सभा सचिवमा नियुक्त भएका बुढाथोकी चैत ४ गते ६५ वर्ष उमेर पूरा भएको हो । १६ गते सचिवालयका कर्मचारीहरूसँग भएको छलफलमा उनले आफ्नो उमेर पूरा भएकाले राजीनामा दिने बताए ।
तर सभामुख गुरुङले निरन्तरता दिन चाहेपछि उनले राजीनामाको निर्णय बदले । बुढाथोकीलाई निरन्तरता दिन सभामुख गुरुङ निकै सक्रिय भइन् । सचिवालय सम्बन्धी ऐनमा सचिव हुन ४० वर्ष पुगेको र ६५ वर्ष ननाघेको भन्ने शब्द उल्लेख छ ।
यद्यपि पाँच वर्ष कार्यकाल पूरा नभएको र ६५ वर्ष पूरा भएको अवस्थामा के गर्ने भन्ने उल्लेख नभएको भन्दै उनलाई सचिवालयमा कायमै राख्न सभामुख सक्रिय भएकी थिइन् ।
सभामुख गुरुङले आफैँ विधि विपरीत मुख्य न्यायाधिवक्ताको कार्यालयमा राय मागसहित पत्र लेखिन् । उनले नेपालको संविधानको धारा १६० को उपधारा (५) बमोजिम रायका लागि पत्र लेखिन्, तर त्यो विधिसम्मत नभएको र सभामुखले त्यसरी सचिवालयलाई बाइपास गरेर पत्र लेख्न नमिल्ने भन्दै सभामुखकै भूमिकामाथि प्रश्न उठ्यो ।
यतिसम्मकि यदि काम गराउन चाहनुहुन्छ, लिखित पत्र लेखिदिनुस् भनेर सचिवालयका कर्मचारीले भन्दा उनले ‘लिखित दिन्नँ, बरु यो मान्छे अयोग्य छ भने’ अदालत जानुहोस् भनेर कर्मचारीलाई भनेकी थिइन् ।
सभामुखको गतिविधिले व्यवस्थापिकाको गरिमामाथि नै आँच आउन सक्ने भन्दै सांसदहरूले नै प्रश्न उठाए ।
उनकै दल एमालेका नेता, कार्यकर्ताहरुले समेत प्रश्न उठाए । विवादकैबिच मंगलबार साँझ सचिव बुढाथोकीले राजीनामा दिन निवेदन तयार गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण