बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कूटनीति

राजदूतहरूले गरे प्रशंसा, प्रधानमन्त्रीले मागे नेपाल निर्माणमा सहयोग

बुधबार, २५ चैत २०८२, १७ : २७
बुधबार, २५ चैत २०८२

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै परम्परागत कूटनीतिक शैली तोड्नुभएको छ।
  • राजदूतहरूले प्रधानमन्त्रीको कार्यशैलीको प्रशंसा गर्दै नेपालको विकास र स्थिरताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
  • प्रधानमन्त्री शाहले नेपालको असंलग्न परराष्ट्र नीतिलाई निरन्तरता दिँदै शान्ति र विकासका लागि सामूहिक सहकार्यमा जोड दिनुभएको छ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न देशका राजदूतसँग सामूहिक भेटवार्ता गरेका छन् । विगतका प्रधानमन्त्रीले राजदूतलाई एक्ला-एक्लै भेट्दै आएकोमा प्रधानमन्त्री शाहले त्यो परम्परालाई तोडेका छन् । प्रधानमन्त्रीले राजदूतहरूलाई सामूहिक भेट गरेकोमा कूटनीतिकवृत्तमा प्रशंसा भइरहेको छ ।  

प्रधानमन्त्री शाहले शालीन कूटनीतिक भाषा प्रयोग गर्दै राजदूतहरूसमक्ष आफ्नो कुरा राखेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । राजदूतहरूले आफ्नो कुरा राख्ने क्रममा छोटो समयमा देशमा उत्पन्न संक्रमणलाई व्यवस्थापन गरी नागरिकलाई भरोसा जगाउने गरी अगाडि बढेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए । 

नेपालमा स्थिरता कायम भएमा आफूहरूलाई पनि काम गर्न सजिलो हुने धारणा राजदूतहरूले राखेको परराष्ट्राका ती अधिकारीले बताए । ‘जेनजी आन्दोलनपछि सरकारले जसरी आ-आफ्नो काम कारवाही अगाडि बढाएको छ, त्यसमा राजदूतहरुले खुसी व्यक्त गर्नुभएको थियो र सँगै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।‘ नेपाली नागरिकको हितमा परिणाम दिने गरी सरकारले गर्ने हरेक काममा साथ र सहयोग रहने धारणा राजदूतहरूको रहेको उनले बताए । 

प्रधानमन्त्री शाहले नेपाल सबै मुलुकसँग समान व्यवहारका साथ काम गर्ने र देश बनाउनमा सबैको साथ सहयोग जरूरी रहेको बताएका थिए । नेपालले तय गरेको मूलभूत असंलग्न परराष्ट्र नीतिमा कुनै परिवर्तन नहुने र सबैसँग सहकार्य गरेर बढ्ने प्रधानमन्त्री शाहले बताएको ती अधिकारीले जानकारी दिए । ‘विकास निर्माणका थुप्रै काम गर्न बाँकी छन्, त्यसमा सबैको साथ सहयोग आवश्यक पर्छ,’ प्रधानमन्त्री भनाइ उद्धृत गर्दै उनले भने । 

नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यका साथ काम गरिरहेको बताए । उनले विश्वमा जारी द्वन्द्वले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए । 

‘यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री शाहले भने । 

उनले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए । यस्तै, राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको समेत प्रधानमन्त्री शाहले बताएको ती अधिकारीले जानकारी दिए । 

विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको प्रधानमन्त्री शाहले बताएका थिए । अहिलेको सरकार काम गर्नका लागि आएको र काम गर्नेबाहेक कुनै उपाय नरहेको उनले राजदूतहरूसँगको भेटमा बताएका थिए । 

शान्ति र विकास आफ्नो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपाली श्रमिक र अन्य नेपालीहरूको सुरक्षाका लागि पहल गर्न पनि राजदूतहरुलाई आग्रह गरे । नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेको र त्यसमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनले बताएका थिए । 
 
सामूहिक भेटमा विभिन्न २० देशका राजदूत उपस्थित थिए । जसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, चिनियाँ राजदूत चाङ माओमिङ, नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम, बेलायती राजदूत रब फेन, दक्षिण कोरियाका राजदूत पार्क तेयङ, जर्मनका राजदूत युगेन भोल्ज, बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमान, जापानी राजदूत मायदा तोरु, स्विस राजदूत डा. डानिएल मेउव्ली थिए । परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत पनि छलफलमा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप