यी हुन् यो वर्ष धेरै कमाउने ५ नेपाली फिल्म
सारांश
- चलचित्र विकास बोर्डको प्रतिवेदनअनुसार यस वर्ष ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन्।
- ‘परान’ १७ करोड ७६ लाखभन्दा बढी कमाइ गर्दै यस वर्षको सर्वाधिक सफल चलचित्र बनेको छ।
- ‘आबाट आमा’, ‘जेरी अन टप’, ‘उनको स्विटर’ र ‘जारी २’ क्रमशः उच्च कमाइ गर्ने शीर्ष पाँच चलचित्रमा परेका छन्।
काठमाडौँ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ को वार्षिक प्रतिवेदनअनुसार नेपाली चलचित्र क्षेत्रका लागि यो वर्ष व्यावसायिक रूपमा सुखद देखियो।
नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका कुल ५६ चलचित्रमध्ये थुप्रैले करोडौँको व्यापार गर्न सफल भए। यस वर्ष बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने उत्कृष्ट ५ नेपाली फिल्मको चर्चा यहाँ गरिएको छः
१. परान
यस वर्षको सर्वाधिक सफल चलचित्रको सूचीमा 'परान' पहिलो स्थानमा रहन सफल भएको छ। दीपकप्रसाद आचार्यको डेब्यु निर्देशन रहेको चलचित्रले १७ करोड ७६ लाखभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। गोल्छा समूहका शेखर गोल्छा र रञ्जित आचार्यको संयुक्त लगानी (बाइस्कोट सिनेमा) मा निर्माण भएको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी र महेश त्रिपाठीलगायतको अभिनय छ। सामाजिक र गम्भीर विषयवस्तुलाई कलात्मक रूपमा प्रस्तुत गरिएकाले पनि यसलाई दर्शकले रुचाएका हुन्।
२. आबाट आमा
यो वर्ष दोस्रो स्थानमा चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आबाट आमा’ परेको छ। आमाबुबा र छोराबिचको भावनात्मक सम्बन्धको कथा बोकेको यस चलचित्रले १३ करोड १३ लाखभन्दा बढीको व्यापार गर्यो। आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा विपना थापाको पुनरागमन र पल शाहको अभिनयलाई दर्शकले विशेष साथ दिए। साथै, बलिउड फिल्म 'गजनी' का भिलेन प्रदीप रावत र साइग्रेस पोखरेलको पनि फिल्ममा अभिनय थियो।
३. जेरी अन टप
पर्वतारोहण र प्रेमको त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्म ‘जेरी अन टप’ १२ करोड २८ लाख कमाउँदै यो वर्ष धेरै कमाउने फिल्मको तेस्रो स्थानमा अटाउन सफल भयो। सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माको मुख्य भूमिका छ। सगरमाथाको यात्रा र त्यस क्रममा उब्जिने प्रेमकथालाई यसले निकै आकर्षक ढङ्गले प्रस्तुत गरेको थियो।
४. उनको स्विटर
सामाजिक विषयवस्तुमा आधारित ‘उनको स्विटर’ यस वर्षको चौथो सफल फिल्म बन्न सफल भयो। आर्टमाण्डु प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मले ११ करोड ४१ लाखभन्दा बढीको व्यापार गरेको छ। नवीन चौहानको लेखन तथा निर्देशन रहेको यस फिल्ममा विपिन कार्की र मिरुना मगरको जोडीलाई दर्शकले निकै रुचाएका छन्। विल्सन विक्रम राई र सुनिल पोखरेलजस्ता सशक्त कलाकारहरूको पनि फिल्ममा अभिनय थियो।
५. जारी २
सिक्वेल फिल्म ‘जारी २’ ले ६ करोड २४ लाखभन्दा बढीको कमाइ गर्दै शीर्ष पाँचमा आफ्नो स्थान सुरक्षित गरेको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यस फिल्ममा दयाहाङ राई र मिरुना मगरको चर्चित जोडी दोहोरिएको छ। लिम्बू संस्कृति र सामाजिक परिवेशलाई समेटिएको यस फिल्ममा विजय बराल, बुद्धि तामाङ र ऋचा शर्माको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण