सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
सडक निर्माणमा असर

बुटवल–गोरुसिङ्गे सडकमा पश्चिम एसिया द्वन्द्वको असर

बिहीबार, २६ चैत २०८२, १८ : ५२
बिहीबार, २६ चैत २०८२

सारांश

  • बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको भौतिक प्रगति २३ प्रतिशत र वित्तीय प्रगति १९ प्रतिशत पुगेको छ।
  • पश्चिम एसियामा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा निर्माण कम्पनीले कामदार कटौती गरेका छन्।
  • सडक निर्माणका लागि आवश्यक माटो र नदीजन्य पदार्थको अभावले काममा केही समस्या देखिएको छ।

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको निर्माण प्रगति २३ प्रतिशत पुगेको छ । गत वर्ष माघ १० गते शिलान्यास भएको यस आयोजनाको वित्तीय प्रगति भने १९ प्रतिशत छ ।
कुल ६९ किलोमिटर लम्बाइको बुटवल–चन्द्रौटा सडक खण्डमध्ये हाल गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर क्षेत्रमा निर्माण कार्य जारी छ । बाँकी १९ किलोमिटर विस्तार प्रक्रिया अघि बढाउने तयारी पनि गरिएको छ । 

हाल निर्माणाधीन ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरिएको छ, जसअन्तर्गत रुपन्देही र कपिलवस्तुमा २५–२५ किलोमिटर क्षेत्रमा काम भइरहेको छ । 

परियोजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलका अनुसार, रुपन्देही खण्डमा भौतिक प्रगति २२.२ प्रतिशत र वित्तीय प्रगति १८.९३ प्रतिशत पुगेको छ । बुटवलदेखि कोठी नदीसम्म फैलिएको यो खण्डपछि कपिलवस्तु खण्ड (कोठीदेखि गोरुसिङ्गेसम्म) पर्छ, जहाँ भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति १९.८३ प्रतिशत छ । 

gorusinge-sadak2

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष् निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा यो ठेक्का लिएका छन् । सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

पश्चिम एसिया द्वन्द्वको असर 

परियोजनामा सामान्यतया करिब ९ सय कामदार रहने भए पनि हाल करिब ५ सय मात्रै सक्रिय छन् । पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि निर्माण कम्पनीहरूले लागत नियन्त्रणका लागि कामदार कटौती गरेको छ । 

इन्जिनियर पौडेलका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माण क्षेत्रमा प्रत्यक्ष असर पारेको छ । उनी भन्छन्, ‘अहिलेका लागि केही कामदार घटाइएको छ, पछि अवस्था सहज भएपछि पुनः वृद्धि हुन सक्छ ।’
यस्तै निर्माणका लागि नदीजन्य पदार्थको पनि समस्या देखिएको छ । विशेषगरी, रुपन्देही क्षेत्रमा आवश्यक माटोको अभाव खड्किएको छ । यस क्षेत्रमा करिब ७ लाख घनमिटर माटो आवश्यक पर्ने भए पनि पर्याप्त स्रोत उपलब्ध हुन सकेको छैन । हाल सैनामैना नगरपालिकाबाट उपलब्ध माटो प्रयोग गरी सालझण्डी क्षेत्रमा काम भइरहेको छ । 

बुटवल क्षेत्रमा भने माटोको चरम अभाव छ । स्थानीय तहबाट आवश्यक सहजीकरण नहुँदा समस्या आएको परियोजनाले जनाएको छ । यता कपिलवस्तुमा नदीजन्य पदार्थ हाललाई उपलब्ध भए पनि आगामी आर्थिक वर्षका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । 

संरचना निर्माणमा भने तीव्रता

हाल सडक क्षेत्रमा पुल, कल्भर्ट, अन्डरपास, नाली, एनिमल क्रसिङ तथा विभिन्न प्रकारका रिटेनिङ वालहरूको निर्माण कार्य जारी छ । 

रुपन्देहीका जीतगढी–बेलबास चोक, नयाँ गाउँ, तामनगर, सैनामैनाको मुर्गिया बजार र बुद्धनगरमा ‘भेहिकल अन्डरपास’ निर्माण भइरहेका छन् । यस्तै, कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा पनि अन्डरपास निर्माण कार्य जारी छ । 

कपिलवस्तुमा १४ किलोमिटर क्षेत्रमा मोटो फिलिङ र ७ किलोमिटरमा ग्राभेलको काम सम्पन्न हुने क्रममा छ । त्यहाँका १० मध्ये ९ वटा पुल निर्माणाधीन अवस्थामा छन् । रुपन्देहीमा निर्माण हुने ६७ कल्भर्टमध्ये ३९ वटाको काम भइरहेको छ । ५ आकाशे पुलमध्ये ३ वटा निर्माण चरणमा छन् । साथै, दुई वटा एनिमल क्रसिङ निर्माण सम्पन्न भइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप