बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हलिउडका ठुला स्टारलाई पछार्दै रणवीरको ‘धुरन्धर २’ ले रच्यो इतिहास

शनिबार, २८ चैत २०८२, ०८ : १०
शनिबार, २८ चैत २०८२

सारांश

  • आदित्य धर निर्देशित फिल्म 'धुरन्धर २' ले १६८० करोड भारुको वर्ल्डवाइड ग्रस कलेक्सन गर्दै बक्स अफिसमा नयाँ इतिहास रचेको छ।
  • यो फिल्मले हलिउडका चर्चित स्टारहरूको फिल्मलाई पछि पार्दै सन् २०२६ को विश्वभर सर्वाधिक कमाइ गर्ने शीर्ष १० फिल्मको सूचीमा स्थान बनाएको छ।
  • भारतमा सबैभन्दा छिटो १०० देखि १००० करोडसम्मको माइलस्टोन पार गर्ने फिल्मको रूपमा यसले कीर्तिमान कायम गरेको छ।

मुम्बई । आदित्य धरले निर्देशन गरेको फिल्म धुरन्धर: द रिभेन्ज (धुरन्धर २) ले बक्स अफिसमा सुनामी ल्याएको छ। रणवीर सिंहको मुख्य भूमिका रहेको यस फिल्मको वर्ल्डवाइड ग्रस कलेक्सन १६८० करोड भारु पुगेको छ।

भारतमा मात्रै फिल्मले १०८० करोड भारुको नेट कलेक्सनको आँकडा पार गरेर नयाँ इतिहास रचेको छ। रिलिजको पहिलो हप्तादेखि नै रेकर्ड बनाउन थालेको यस फिल्मले पहिलो ८ दिनमा ६९० करोड भारु कमाएको थियो। दर्शकको क्रेजकै कारण दोस्रो हप्तामा २७१ करोड र तेस्रो हप्तामा १२० करोड भारुको व्यापार गर्न फिल्म सफल भयो।

बिदाको दिन मात्र नभई वर्किङ डेजमा पनि फिल्मको कमाइ स्थिर देखिएको छ। सोमबारदेखि बिहीबारसम्म फिल्मले दैनिक औसतमा १० करोड भारु कलेक्सन गरिरहेको छ।

भारतमा मात्र नभई विदेशमा पनि फिल्मले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। ओभरसिज मार्केटबाट फिल्मले हालसम्म ४०४ करोड भारु ग्रस कलेक्सन गरेको छ। यससँगै यो फिल्म भारतीय सिनेमाको इतिहासमै सबैभन्दा सफल ग्लोबल फिल्ममध्ये एक बनेको छ।

त्यति मात्र होइन, धुरन्धर २ सन् २०२६ मा विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने टप-१० फिल्मको सूचीमा समेत समावेश भएको छ। बक्स अफिस मोजोको रिपोर्ट अनुसार रणवीरको यो फिल्मले प्रोजेक्ट हेल मेरी, द सुपर मारियो ग्यालेक्सी मुभी र वुदरिङ हाइट्स जस्ता ठूला ग्लोबल फिल्मको एलीट सूचीमा आफ्नो स्थान बनाएको छ। चिनियाँ एनिमेटेड मुभी बुनी बियर्स: द हिडन प्रोटेक्टर (१३९ मिलियन डलर) लाई पछि पार्दै फिल्मले यो सफलता हात पारेको हो।

कमाइको मामिलामा धुरन्धर २ ले हलिउडका कयौँ ठूला स्टारका फिल्मलाई धुलो चटाएको छ। क्रिस हेम्सवर्थको फिल्म क्राइम १०१ ले रिलिजपछि ७२ मिलियन डलर कमाएको थियो, जुन धुरन्धरको तुलनामा निकै कम हो। त्यस्तै, रेचल म्याकएडम्सको सेन्ड हेल्प (९४ मिलियन डलर) र रिज अहमदको ह्यामलेट (७८ मिलियन डलर) लाई पनि यसले उछिनेको छ। जेन्डाया र रोबर्ट प्याटिन्सन जस्ता स्टारको फिल्म द ड्रामा ले जम्मा २६ मिलियन डलर कमाएको छ, जबकि धुरन्धर २ ले आफ्नो ओपनिङ विकेन्डमै ८० मिलियन डलर बटुलेको थियो।

यसले आफ्नो पहिलो पार्ट धुरन्धरको लाइफटाइम ओभरसिज कलेक्सनको रेकर्ड जम्मा १० दिनमै तोडेको थियो। यो सबैभन्दा छिटो १००० करोड (वर्ल्डवाइड) कमाउने फिल्म बनेको छ। साथै, भारतमा १०० करोडदेखि १००० करोडसम्मका सबै माइलस्टोन सबैभन्दा कम समयमा पूरा गर्ने रेकर्ड पनि यसैले बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप