बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वर्ष समीक्षा

२०८२ एमालेका लागि पीडाको वर्ष : सत्ता ढल्यो, मन दुख्यो, सम्बन्ध टुट्यो !

आइतबार, २९ चैत २०८२, १६ : १५
आइतबार, २९ चैत २०८२

सारांश

  • २०८२ साल नेकपा एमालेका लागि सरकार ढल्ने, निर्वाचनमा पराजय भोग्ने र अध्यक्ष पक्राउ पर्ने जस्ता घटनाका कारण अत्यन्त पीडादायी वर्ष बनेको छ।
  • सत्ता मोह र आन्तरिक कमजोरीका कारण पार्टीको लोकप्रियता घटेर इतिहासकै कमजोर अवस्थामा पुगेको एमाले नेताहरूले स्वीकार गरेका छन्।
  • विगतका गल्तीबाट पाठ सिक्दै नेता-कार्यकर्ताबीचको सम्बन्ध पुनर्स्थापित गरी सुशासन र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने चुनौती एमालेसामु खडा भएको छ।

काठमाडौँ । २०८२ साल युवा पुस्ताका लागि खुसी र परिवर्तनको वर्ष बन्दै गर्दा नेकपा एमालेका लागि भने सबैभन्दा पीडा र दुःखको वर्षका रूपमा दर्ज भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार ढल्नु, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री स्वयं बालुवाटारबाट ज्यान जोगाउन हेलिकोप्टरमार्फत भाग्नु, फागुन २१ निर्वाचनमा लज्जास्पद पराजय भोग्नु र अन्त्यमा ज्यान मुद्दाको कसुरमा अध्यक्ष ओली नै पक्राउ पर्नुजस्ता घटना एमालेले २०८२ मै भोग्नुपर्‍यो । यी चार वटै घटना एमालेजनका लागि अत्यन्त पीडाबोध गराउने विषयका रूपमा विश्लेषण भइरहेको नेताहरू बताउँछन् ।

‘२०८२ साल एमालेजनका लागि अत्यन्त दुखद् र पीडादायी भयो,’ केन्द्रीय सचिव भानुभक्त ढकालले भने, ‘यो पीडा र दुःखभन्दा तल झर्ने र थप पीडित हुनुपर्ने ठाउँ बाँकी नरहेकाले आउँदै गरेको २०८३ साल हाम्रा लागि उज्ज्वल हुन्छ भन्ने आशा छ ।’

त्यसो त २०५१ सालमा सरकारको नेतृत्व गर्दा एमालेले कमाएको लोकप्रियता र जनताले गरेको विश्वास समेत २०८२ मा पुग्दा शून्यप्रायः हुन पुगेको पछिल्लो निर्वाचन नतिजाले नै देखाएको छ । यसो हुनुमा पार्टीका नेता–कार्यकर्तामा पलाएको चरम सत्तामोह र सत्ताको लोभ बढ्नु रहेको एमाले नेताहरू आफैँ स्वीकार गर्छन् ।

‘०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा बनेको सरकारले गरेका काम–कारबाहीले एमालेप्रति जनताको विश्वास र भरोसा बढेको थियो,’ एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘त्यसबेला सरकारका तर्फबाट जनताका लागि केही राम्रा कामको सुरुवात भएको थियो, जसले जनताको अपार विश्वास एमालेमा देखियो ।’

२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री बन्दा गरेका कामकै कारण २०५४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेले ६० प्रतिशत लोकप्रिय मत प्राप्त गर्न सफल भएको थियो ।

‘खासगरी २०५४ पछि एमालेभित्र सत्ताको लोभ र मोह तलदेखि माथिसम्मै गम्भीर समस्याका रूपमा देखापर्न थाल्यो,’ ज्ञवालीले भने, ‘जसले गर्दा हाम्रा कतिपय नेता–कार्यकर्ताको बानी–बेहोरा र प्रवृत्तिहरू सत्ताबाट लाभ लिने चिन्तनमा परिणत भए ।’

सोही कारण पछिल्ला दिनमा सत्ताका लागि जुनसुकै काम गर्न पछि नपर्ने चिन्तन एमाले नेता–कार्यकर्ताहरूमा झाङ्गिदै गयो । ‘लोकतान्त्रिक मान्यता कमजोर हुँदै गयो । पार्टी पद्धति र विचार–सिद्धान्त ओझेलमा पर्न पुग्यो,’ सक्रिय राजनीतिबाट अलग बनेका नेता ज्ञवाली स्मरण गर्छन्, ‘यतिसम्म कि जनताको बहुदलीय जनवाद (जबज) चुनावदेखि चुनावसम्म मात्रै हो भन्ने पर्न थाल्यो ।’

ज्ञवालीको विश्लेषणमा त्यसका बाबजुद २०७४ मा दुई पार्टी मिलेर चुनाव लडेपछि पुनः नेपाली जनताले भरोसा गरेर झन्डै दुई तिहाई हाराहारी मत दिएका थिए ।

२०७४ मा जनताले झन्डै दुई तिहाई मत दिए पनि नेतृत्वको टकरावका कारण तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा ३ वर्ष नपुग्दै छिन्न–भिन्न हुनपुग्यो । त्यसवेला नेकपा विभाजनमात्र भएन, एमाले नै दुई टुक्रा हुन पुग्यो । ‘जनताले विश्वासका साथ दिएको त्यो मतको सदुपयोग हुन सकेन, पार्टी फुट्यो, संसद विघटन गरियो । यी र यस्तै क्रियाकलाप क्रमशः बढ्दै गएपछि २०७५ पछि ओरालो लाग्न सुरु भयो,’ ज्ञवालीले स्मरण गरे ।

त्यसपश्चात कम्युनिस्ट–कम्युनिस्टविच अन्तरविरोध र दुश्मनी सुरु हुँदै गएको उनले बताए । ‘अन्तिममा संसदका दुई ठुला पार्टी मिल्ने र सरकार बनाउने अवस्थामा पुग्यो,’ उनले भने, ‘यहाँसम्म कि २०८४ को चुनावमा पनि कांग्रेस–एमाले मिलेरै जानेतर्फ समाजमा बढ्दै गएको असन्तुष्टि विष्फोटका रूपमा भदौ २३ र २४ को घटना हुन पुग्यो ।’

यति भइसक्दा पनि एमालेको नेतृत्व आत्मालोचित हुनेतर्फ गएन । बरु आलोचना गर्नेलाई भित्तामा पुर्‍याउने जस्ता निषेधकारी प्रवृत्ति बढ्दै गए । २०८२ भदौ २२ गते विधान अधिवेशन गरेको एमालेले सोही अधिवेशनबाट दुई कार्यकालको व्यवस्था र उमेरहदको सीमा हटायो । त्यसलत्तै भएको जेनजी आन्दोलनले एमालेलाई सत्ताच्युत मात्र गरेन, ०८२ मंसिर अन्तिम साता भएको एमाले दशौँ राष्ट्रिय महाधिवेशनले उनै ओलीलाई अध्यक्षमा तेस्रो कार्यकालका लागि अनुमोदन गर्‍यो ।

‘त्यसपछि भएको निर्वाचनमा एमाले ७८ सिटबाट तल झरेर २५ सिटमा सीमित बन्यो,’ ज्ञवालीले एमालेको शृङ्खलावद्ध ओरालो यात्राबारे भने, ‘हरेक कुरामा बिग्रदै गयो । यसो हुनुमा हाम्रा आफ्नै आन्तरिक कमजोरी प्रमुख कारण भए ।’

ज्ञवालीमात्र होइन, एमाले उपाध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरु बराल २०८२ साल एमालेका लागि केही सबल अनुभव बटुल्ने वर्ष भए पनि उत्तरार्द्धमा चुनौती सामना गर्नुपरेको बताउँछन् । 

‘२०८२ सालमा हामीले केही सबल अनुभव सँगाले पनि उत्तरार्द्धमा केही चुनौती थपिए र तिनीहरूलाई भोग्नुपर्‍यो,’ बरालले भने, ‘पछिल्लो ६ महिना एमालेमात्र नभएर नेपालकै समग्र राजनीतिका लागि सुखद् भएन ।’

उपाध्यक्ष बरालले विगतको अनुभवले राजनीतिक वैचारिक रूपबाट पार्टीलाई सबल र एकतावद्ध बनाउनुपर्छ भन्ने पाठ सिकाएको बताए । ‘नेता र कार्यकर्ताबिच टुटेको सम्बन्ध र दुखेका मनलाई पुनर्स्थापित गर्नुपर्छ, मल्हम पट्टी लगाउनुपर्छ,’ उनले रातोपाटीसँग भने, ‘विकास, सुशासन र आर्थिक समृद्धिको यात्राबाट एमाले पछि हट्दैन । त्यसका लागि अहिलेको सरकारलाई समेत खवरदारी गर्दै अघि बढ्छ ।’

प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा २०५१ पछि एमालेले कमाएको लोकप्रियता ०८२ मा पुग्दा गर्ल्यामगुर्लुम ढलेको मात्रै होइन, जनताको मन दुख्यो, नेता कार्यकर्ताको सम्बन्ध टुट्यो, जसले गर्दा इतिहासकै कमजोर अवस्था भोग्न बाध्य भयो ।

‘एमालेको ओरालो यात्रा २०७५ बाटै सुरु भएको हो । यो बिचमा सुध्रने मौका थियो, तर नेतृत्वले त्यसतर्फ बेवास्ता गर्‍यो,’ एमालेलाई नजिकबाट अध्ययन गरेका प्राध्यापक पोखरेलले भने, ‘यसको लक्षण २०७९ कै चुनावमा देखिएको थियो । त्यस वर्षको चुनावमा अनपेक्षित परिणाम आएका थिए, नयाँ शक्तिहरू उदाएका थिए ।’

त्यो चेतावनी एमालेलाई मात्र नभएर पुराना भनिएका सवै दललाई समेत भए पनि उनीहरू सच्चिनेतर्फ गएनन्, बरु दुई ठुला दल (कांग्रेस र एमाले) मिलेर आलोपालो सरकार चलाउनतिर लागे ।

‘यो सहमतिले एमालेको ओरालो यात्रालाई थप बल पुर्‍यायो,’ पोखरेलले भने, ‘त्यति हुँदा पनि लोकप्रिय मतमा एमाले नै अगाडि छ भन्ने दम्भ र अहंकार नेतृत्वमा चुलियो । जसले गर्दा चौतर्फी क्षति व्यहोर्दै इतिहासकै कमजोर बन्न पुग्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप