शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुवान्डा प्रस्थान गर्दै कप्तान इन्दुले भनिन्, ‘यसपटक नतिजा हाम्रै पक्षमा आउँछ’

बुधबार, ०२ वैशाख २०८३, १६ : ५५
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले रुवान्डामा हुने आइसिसी महिला च्यालेन्ज ट्रफीको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन्।
  • प्रशिक्षक हर्षल पाठकको नेतृत्वमा नेपाली टोलीले एक महिनाको विशेष बन्द प्रशिक्षण पूरा गरेको छ।
  • प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अप्रिल १८ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ।

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले रुवान्डामा हुने आइसिसी महिला च्यालेन्ज ट्रफीको उपाधि जितेर फर्कने विश्वास व्यक्त गरेकी छन् ।

आगामी अप्रिल १३ देखि रुवान्डामा सुरु हुने आइसिसी च्यालेन्ज ट्रफी खेल्न जानुअघि बुधबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा कप्तान इन्दुले यस्तो बताएकी हुन् । प्रतियोगितामा नेपालसहित आयोजक रुवान्डा, इटाली, अमेरिका र भानुआटु गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् ।

पछिल्लो समय टोलीको फिल्डिङमा निकै सुधार आएको उल्लेख गर्दै कप्तान इन्दुले भनिन्, “विपक्षीको खेल रणनीति नियालेका छौँ । त्यहाँको अवस्थाबारे बुझ्न एक दिनअगाडि नै पुग्दा हामीलाई फाइदा हुनेछ ।”

भारतीय प्रशिक्षक हर्षल पाठकको आगमनपछि नेपाली टोलीमा धेरै सकारात्मक परिवर्तन आएको उनको भनाइ छ । ब्याटिङ र बलिङमा सबै खेलाडीलाई विशेष भूमिका दिएर तयारी गराइएको जानकारी दिँदै उनले स–साना कुरामा ध्यान दिएको र दबाबको अवस्थामा कसरी खेल्ने भन्ने सिकेको बताइन् । बलिया राष्ट्रसँग शृङ्खला खेल्न पाउनु पनि टोलीका लागि सकारात्मक पक्ष रहेको बताउँदै उनले यसपटक राम्रो नतिजा ल्याउने दाबी गरिन् ।

क्यानले सोमबार मात्र आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि इन्दुको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको थियो । भारतीय प्रशिक्षक पाठकको प्रशिक्षणमा एक महिनाको बन्द प्रशिक्षण (क्याम्प) पछि टोली घोषणा गरिएको हो ।

प्रशिक्षक पाठकले तयारी निकै राम्रो भएको र विशेषगरी फिल्डिङ तथा ब्याटिङमा सुधार आएको बताए । उनले फिल्डिङको ‘प्लेसिङ’, गेम अवेयरनेस (खेल चेतना) र दबाबमा खेल्ने तरिकाबारे खेलाडीलाई सिकाइएको जानकारी दिए । क्षमतावान् टोली भए पनि केही कमीकमजोरीलाई क्याम्पमा सुधार्ने प्रयास गरिएको उनको भनाइ छ ।

खेलाडीहरू चुनौती सामना गर्न तयार रहनु सुखद सङ्केत रहेको बताउँदै पाठकले युवा खेलाडीको आगमनले टोली निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । चोटबाट फर्किएकी कप्तान इन्दु राम्रो ब्याटरसमेत रहेकाले उनको पुनरागमनले टोली थप बलियो भएको प्रशिक्षक पाठकको विश्वास छ । विपक्षीको खेलशैली हेरेर रणनीति बनाउने बताउँदै उनले पछिल्लो एक महिनाको तयारीले टोलीले सुखद नतिजा ल्याउने आशा व्यक्त गरे ।

यसअघि २९ सदस्यीय प्रारम्भिक टोलीबाट दुई चरणको छनोटपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिएको थियो । टोलीमा केही युवा खेलाडीले अवसर पाएका छन् । टोलीमा कप्तान इन्दुसहित उपकप्तान पूजा महतो, पूर्वकप्तान रुविना क्षेत्री, बिन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय र रचना चौधरी रहेका छन् ।

  • यस्तो छ खेल तालिका :

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अप्रिल १८ मा अमेरिकासँग खेल्नेछ । नेपालले दोस्रो खेल पनि अप्रिल १८ मै इटालीसँग, तेस्रो खेल अप्रिल २२ मा रुवान्डासँग र चौथो खेल अप्रिल २४ मा भानुआटुसँग खेल्नेछ ।

त्यसैगरी दोस्रो चरणका खेलहरूमा नेपालले अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवान्डासँग र अप्रिल ३० मा भानुआटुसँग खेल्ने तालिका छ । लिगको अन्तिम खेलमा नेपालले मे १ तारिखमा इटालीको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप