बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय बाइसौँ वर्षमा

बुधबार, ०२ वैशाख २०८३, २३ : ०१
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय २२ वर्षमा प्रवेश गरेको छ।
  • शिक्षालयले विपद् प्रतिकार्यमा राष्ट्रिय क्षमता बढाउन भूमिका खेलेको छ।
  • विभिन्न विपद्का घटनामा सशस्त्र प्रहरीले उद्धार कार्य गर्दै आएको छ।

चितवन । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापन तालिम शिक्षालयले दक्ष जनशक्ति उत्पादन गरी विपद् प्रतिकार्यका क्षेत्रमा राष्ट्रिय क्षमता बढाउन सफल भएको बताएका छन् ।

यहाँको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले शिक्षालयले प्रशिक्षण मात्रै नभई व्यावहारिक अभ्यासमा समेत निपुणता देखाएको बताए ।

विपद् घटना घटने बित्तिकै सशस्त्र प्रहरीलाई सम्झने गरिएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले प्राकृतिक विपद्, सडक दुर्घटनाका क्रममा उद्धार तथा गोताखोरको परिचालनलगायत विपद् प्रतिकार्यमा विशिष्ट पहिचान दिन बल सफल भएको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सडक दुर्घटनापछिको उद्धारका क्रममा प्रथम र अन्तिम विकल्पका रूपमा सशस्त्र प्रहरीले आफ्नो पहिचान बनाएको बताए ।

कार्यक्रममा महानिरीक्षक अर्यालले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसा पत्र र पुरस्कार तथा सेवा निवृत्त कर्मचारीलाई कदर पत्र प्रदान गरेका थिए ।

विसं २०५८ मङ्सिर २४ गते बेस क्याम्पका रूपमा स्थापित भएको उक्त युनिट २०६१ वैशाख २ देखि गढीमाई गणको मातहत रहने गरी विपद् उद्धार तथा जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ क्रियाशील रहँदै आएको छ ।

बहु–प्रकोपको जोखिममा रहेको नेपालमा विपद् व्यवस्थापनका सबै चरणमा व्यावसायिक ढङ्गबाट कार्य सञ्चालन गर्न दक्ष व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विसं २०६७ वैशाख १९ देखि विपद् व्यवस्थापन तालिम सञ्चालन हुँदै आएको त्यस अवसरमा जानकारी दिइयो ।

शिक्षालयमा भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जल उद्धार, गोताखोर, डोरीमार्फत उद्धार, आगलागी, सडक दुर्घटनाका क्रममा उद्धार र प्राथमिक उपचारसम्बन्धी तालिम सञ्चालन हुँदै आएका छन् । शिक्षालयबाट हालसम्म एक हजार २१९ जनालाई तालिम प्रदान गरिएको र एक सय ३५ जना तालिमरत रहेका जनाइएको छ ।

विसं २०६८ देखि हालसम्म एक सय ८३ सडक दुर्घटना, १३ पहिरो, एक सय ६७ नदीजन्य घटना, १२ आगलागी र १८ अन्य गरी कुल तीन सय ९३ वटा विपद्का घटनामा छ हजार ५१२ फौज परिचालित भई एक हजार सात जनाको जीवितै तथा चार सय २१ वटा शव उद्धार गरी परिवारको जिम्मा लगाइएको जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप