शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माइनस २० डिग्रीमा जमेका मानिसको चमत्कारिक पुनर्जन्म

शनिबार, ०५ वैशाख २०८३, ०७ : १२
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • रुसको याकुतियामा माइनस २० डिग्री तापक्रममा जमेका एक व्यक्तिलाई चिकित्सकहरूले ६ घण्टाको प्रयासपछि जीवित गराएका छन्।
  • अत्यधिक चिसोका कारण मृत घोषित भएका ती व्यक्तिलाई सावधानीपूर्वक शरीरको तापक्रम बढाएर पुनर्जीवन दिइएको हो।
  • पाँच दिनको उपचारपछि ती व्यक्ति पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका छन्।

साइबेरिया । रुसको साइबेरियाली क्षेत्र याकुतियामा चिसो कति खतरनाक हुन्छ भन्ने कुरा हालैको एउटा पत्याउनै नसकिने घटनाले पुष्टि गरेको छ। मार्च महिना लागे पनि यहाँको तापक्रम राती माइनस २० डिग्री सेल्सियससम्म पुग्छ।

यस्तो प्राणघातक ठिहीमा एक व्यक्ति सडकको बेन्चमा सुत्दा झण्डै बरफको ढिक्का बनेका थिए। चिकित्सकीय भाषामा मृत घोषित भइसकेका ती व्यक्तिलाई डाक्टरहरूले झण्डै ६ घण्टाको अथक प्रयासपछि जीवित गराउन सफल भएका छन्, जसलाई अहिले एउटा चिकित्सा चमत्कार मानिएको छ।

मिरनी सहरका ती अज्ञात व्यक्ति राती ढिलोसम्म बाहिर बसेर घर फर्कदै थिए। बाटोमा थकाइ लागेपछि उनी सडक किनारको एउटा बेन्चमा थकाई मार्न बसे र त्यहीँ निदाए।

अत्यधिक चिसोका कारण उनको शरीर बिस्तारै जम्न थाल्यो। बाटो हिँड्ने मानिसहरूले उनलाई देखेपछि तत्काल आपतकालीन सेवामा खबर गरेका थिए।

तर, एम्बुलेन्स आइपुग्दासम्म ती व्यक्तिको नाडी चलेको थिएन, रक्तचाप शून्य थियो र ईसीजी मेसिनले पनि उनको मुटुको धड्कन बन्द भएको देखायो। प्राथमिक उपचारका सबै प्रयास असफल भएपछि उनलाई 'क्लिनिकली डेड' अर्थात् मृत मानिएको थियो।

अस्पताल पुर्‍याइएका ती जमेका व्यक्तिलाई बचाउने जिम्मेवारी एनेस्थेसियोलोजिस्ट तथा पुनर्जीवन विशेषज्ञ दिमित्री बोसिकोभले पाए। उनले ती व्यक्तिको शरीरलाई निकै सावधानीपूर्वक र बिस्तारै डिफ्रोस्ट गर्ने अर्थात् पगाल्ने प्रक्रिया सुरु गरे।

शरीरलाई एक्कासि तातो बनाउँदा साना रक्तनलीहरू फुट्ने र मस्तिष्क तथा मिर्गौला फेल हुने जोखिम हुने भएकाले झण्डै चार घण्टा लगाएर शरीरको तापक्रम २४ बाट ३४ डिग्री सेल्सियसमा ल्याइयो। त्यसपछि मात्रै थप आधुनिक चिकित्सा प्रक्रिया सुरु गरियो।

झण्डै २५ मिनेटको लगातार प्रयासपछि मोनिटरमा पहिलो पटक मुटुको धड्कनको मधुरो सङ्केत देखियो। उपचार सुरु गरेको ५ घण्टा ३४ मिनेटपछि मात्र उनको अवस्था स्थिर भयो। चिकित्सकहरूले उनलाई एक दिनसम्म कृत्रिम कोमामा राखेका थिए।

भोलिपल्ट जब उनले आँखा खोले, डाक्टरहरू चकित परे। परीक्षणका क्रममा उनको मिर्गौला र अन्य महत्त्वपूर्ण अङ्गहरूले सामान्य रूपमा काम गरिरहेको पाइयो।

पाँच दिनको अस्पताल बसाइ र उपचारपछि उनी पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका छन्। मृत्युलाई जितेर आएका ती व्यक्तिको यो कथाले साइबेरियाको चिसो र त्यहाँका डाक्टरहरूको सीपलाई विश्वभर चर्चामा ल्याएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप