एमाले–नेकपा एकता, पर्दा पछाडिबाट किन बज्दैछ ‘बेमौसमी’ बाजा ?
सारांश
- नेकपा एमाले र नेकपाबीच पार्टी एकताको चर्चा चले पनि दुवै दलका शीर्ष नेताहरूले यसलाई अस्वीकार गरेका छन्।
- नेताहरूले चुनावी समीक्षा र पार्टीको आन्तरिक सुधार नै अहिलेको मुख्य प्राथमिकता रहेको भन्दै एकताको चर्चालाई बेमौसमी बाजा भनेका छन्।
- अस्पतालमा भएको शिष्टाचार भेटघाटलाई आधार मानी गरिएको एकताको प्रचार आधारहीन र गलत भएको नेताहरूको दाबी छ।
काठमाडौँ । केही दिनयता नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच पार्टी एकता हुन लागेको भनेर सामाजिक सञ्जालदेखि नेता कार्यकर्ताविच व्यापक चर्चा र बहस भइरहेको छ ।
तर, यो चर्चाप्रति एमाले र नेकपाकै नेताहरूले अनभिज्ञता प्रकट गरिरहेका छन् । कतिपय नेताहरूले त एकताको आवश्यकता र औचित्यमाथि नै प्रश्न गर्दै अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्न छाडेर एकताको रटान लगाउनुलाई औचित्यहीन असान्दर्भिक प्रयत्नका रूपमा अर्थ्याएका छन् ।
एमाले नेता प्रदीप ज्ञवालीदेखि उपाध्यक्ष विष्णु पौडेलसम्मले पर्दा पछाडिबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले र किन चलाइरहेका हुन् ? भनेर प्रश्न गरेका छन् ।
‘नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो’, उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘यस यथार्थबाट अन्यत्र ध्यान मोड्नेगरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’

पूर्वमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले कुनै संस्थागत निर्णय भएको नभएको भन्दै मिडियातिर ‘वामपन्थी एकता’ को चर्चा सुरू भएछ भनेर अनभिज्ञता प्रकट गरेका छन् ।
‘पहिलो त, आजको चुनौती वामपन्थी या कम्युनिस्ट आन्दोलनको दायरामा मात्र सीमित छैन’, ज्ञवाली भन्छन्,‘ त्यसैले सङ्कटलाई फराकिलो क्यानभासमा राखेर हेरिनुपर्छ र तदनुरूपकै नीति अवलम्बन गरिनुपर्छ ।’
यस्तो अवस्थामा पहिलो कदम भनेकै सङ्कटको गाम्भीर्य बोध, निर्मम आत्म समीक्षा र व्यापक सुधार/पुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनपर्नेमा ज्ञवालीको जोड छ ।
‘पहिले आफू तङ्ग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुनसक्छ’, ज्ञवालीले एकता चर्चाबारे भनेका छन्, ‘अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन् । अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो ।’

विगतमा ठुला भनिएका कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) फागुन २१ को निर्वाचनपछि खुम्चिएर साना दलमा सीमित छन् ।
निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई झन्डै २ तिहाइ नजिक मत दिएकाले चैत १३ पछि कांग्रेससहित एमाले र नेकपा प्रतिपक्ष कित्तामा पुगेका छन् भने रास्वपाको एकल बहुमतको सरकार चलिरहेको छ ।
ताजा चुनावी जनमतलाई हेर्दा आगामी वर्ष हुने स्थानीय चुनावमा समेत नेपालका कम्युनिस्ट पार्टीहरू अस्तित्व रक्षाका लागि कठोर परिश्रम गर्नुपर्ने अवस्थामा पुगेका देखिन्छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा हाल एमाले तेस्रो र नेकपा चौथो दलको हैसियतमा छन् । विगतमा एकपछि अर्को गर्दै लामो समय सरकार र सत्तामा बस्दै आएका दुवै कम्युनिस्ट पार्टी आगामी पाँच वर्षसम्म संसदमा विपक्षीको भूमिकाबाट दायाँबायाँ हुने अवस्था देखिँदैन ।
चुनावको पछिल्लो नतिजाले उनीहरूलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आफूलाई रूपान्तरण गर्नुपर्ने र जनविश्वास जित्न थप मेहनत गर्नुपर्ने सन्देश दिएको छ । सोही सन्देश अनुसार एमाले र नेकपा दुवै पार्टीभित्र गम्भीर समीक्षा र रूपान्तरणको बहस चलिनैरहेको छ । यही सन्दर्भमा दुवै पार्टीका दोस्रो र तेस्रो तहका केही नेताहरू अस्तित्व रक्षाका लागि भएपनि एकता गर्नुपर्ने आवाज उठाइरहेका छन् भने केहीले उक्त आवाजलाई बेमौसमी बाजाको संज्ञा दिइरहेका छन् ।
यही बिचमा एमालेका पूर्वउपाध्यक्ष तथा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेताहरूबिच भएको भेटघाटले पनि पार्टी एकताका पक्षधरहरूलाई हौस्याएको देखिएको छ ।
_mbgYZv9V4d.jpg)
तर, कतिपयले यी दुई पार्टी सहकार्य र एकताका लागि छलफलमा जुटेको भन्दै तत्कालै पार्टी एकता गरिहाल्न लागेजसरी चर्चा समेत गरिरहेका छन् ।
यसको सङ्केत दिँदै केही दिनअघि एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले नै गरेका थिए ।
पाण्डेले वाम एकताका लागि नेताहरूको दौडधुप सुरु भएको भन्दै व्यक्तिका लागि नभएर स्पष्ट विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई न्यूनीकरण मात्र गर्ने बताएका थिए ।
दुई पार्टीबिच एकता र सहकार्यका लागि एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट तथा नेकपा नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरूबिच संवाद भइरहेको चर्चा भएपनि संवादमा रहेका भनिएका नेताहरूले समेत त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

कतिपयले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन परिणामले वाम सहकार्य हुँदै एकतासम्म जाने मनोविज्ञान सृजना गरेको बताएपनि तत्कालै त्यस्तो कुनै सम्भावना नरहेको दुवै पार्टीका जिम्मेवार नेताहरूले रातोपाटीसँगको औपचारिक कुराकानीमा बताएका छन् ।
नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट नेताहरूबिच भेटघाट र कुराकानी हुने गरेपनि त्यस्ता भेटघाट पार्टी एकता वा सहकार्य गर्ने तहसम्मका नभएको दाबी गर्छन् ।
‘नेताहरूबिच कहिलेकाहीँ भेटघाट, छलफल र संवाद हुनु कुनै नौलो होइन’, उपमहासचिव भट्टले रातोपाटीसँग भने, ‘हामी पुराना मानिस । ४० वर्ष सहकार्य गरेका नेताहरू भेट्दा अन्यथा प्रचार भइरहेको छ । त्यसैले ती भेटघाट र छलफलहरू सहकार्य वा पार्टी एकताका लागि नभई औपचारिकता लागि मात्र हुन् भनेर बुझ्न आग्रह गर्छु ।’

नेता भट्टले कहिलेकाहीँ नेताहरू बसेर चिया खाने गरेको कुरालाई कतिपयले आफूखुसी धेरै बुझेर गलत प्रचारबाजी भएको हुनसक्ने समेत बताए ।
नेकपा एमालेले चुनावको समीक्षा नै गरिनसकेको, अध्यक्ष चुनावयता कहिले शोकमा, कहिले हिरासतमा त कहिले अस्पतालमा बिताइरहेकाले पार्टी एकताको प्रसङ्ग चलाउनुलाई बेमौसमको बाजा बजाउनुजस्तै भएको भट्टको भनाइ छ ।
‘अध्यक्ष अस्पतालमा हुनुहुन्थ्यो, शनिवार साँझ मात्र उहाँ डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज भएर स्वस्थ भएपछि पार्टीको बैठक बस्ला । एउटा नीति निर्माण होला’, उनले भने ,‘जुनसुकै पार्टी पनि नीतिबाट चल्ने हो । चाहे कम्युनिस्ट पार्टी हुन् या डेमोक्रयाट नै किन नहुन् ?’
एमाले अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचन लगत्तै पितृ शोकमा रहेका थिए । ओलीलाई शोकबाट उत्रेलगत्तै चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो । १४ दिनपछि थुनामुक्त भएको केही दिनपछि ओली पित्त थैलीको शल्यक्रिया गरेर शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अर्कोतिर एमालेले चुनावी समीक्षा समेत गरिसकेको छैन । ओली अस्पतालबाट डिस्चार्ज भएपछि सचिवालय र केन्द्रीय कमिटी बैठक बसेर चुनावी नतिजाको ठोस विश्लेषणका आधारमा पार्टीले नीति बनाउने नेताहरू बताउँछन् ।
ओलीको शल्यक्रियापछि नेकपाका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ ओली भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । सोही भेटलाई लिएर कतिपयले आफूखुसी एकता हुनै लाग्यो भने चर्चा गरेको हुनसक्ने नेकपाका नेता श्रेष्ठको भनाइ छ ।

‘उहाँ बिरामी भएकाले म र हाम्रो संयोजक प्रचण्ड छुट्टाछुट्टै अस्पतालमा भेट्न गएका थियौँ । त्यसैलाई आधार बनाएर कतिपयले आफूखुसी प्रचार गरिरहेका होलान्’ श्रेष्ठ बताउँछन् ।
चुनावी परिणामले दुई पार्टीबिच एकता गर्नुपर्ने अवस्थामा पुर्याएको हो त ? भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘एमाले र नेकपाबिचको एकता त्यति सजिलो छैन र हुँदैन ।’
उनले बेला मौकामा दुई पार्टीका नेताहरूबिच भेटघाट हुने गरेपनि पार्टी एकताको प्रसङ्ग र उद्देश्यअनुसार नभएको प्रस्ट पारे । ‘पार्टी एकता वा सहकार्यको एजेन्डामा औपचारिक वा अनौपचारिक कुनै छलफल र संवाद भएको छैन’, श्रेष्ठले रातोपाटीसँग भने ।
एमालेका उपाध्यक्ष पृथ्वीसुव्बा गुरुङले पनि नेकपाका नेताहरूसँग पार्टी एकताका सन्दर्भमा कुनै छलफल र संवाद सुरु नभएको दाबी गरे ।
_e3DDfPI6hI.jpg)
बरु उनले सचिवालय र केन्द्रीय कमिटी बैठकमा चुनावी समीक्षा भएपछि बल्ल कसरी अघि बढ्ने भन्ने टुङ्गो लाग्ने बताए ।
‘नेकपा संयोजक प्रचण्ड हाम्रो अध्यक्षलाई भेट्न गएपछि पार्टी एकता गर्न थाले भनेर धेरैले बुझेका हुन् । तर त्यो विशुद्ध स्वास्थ्य र मानवीय संवेदनासँग सम्बन्धित विषय हो’ उपाध्यक्ष गुरुङको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. बेदुराम भुसाल दुई पार्टीबिच एकताका नाममा ‘ए’ शब्द पनि कहीँकतै उच्चारण नभएको बताउँछन् । नेता भुसालले संयोजक प्रचण्ड र अध्यक्ष ओलीविच अस्पतालमा भएको भेटमा समेत पार्टी एकताबारे कुनै चर्चा नभएको पार्टी नेताहरूलाई बताएको जानकारी दिए ।
‘संयोजक प्रचण्डले त्यससम्वन्धमा कुनै पनि कुरा भएन र भेटमा मैलै स्वास्थ्य लाभको कामना गरेँ । उहाँले एक वाक्य बोल्नुभयो त्यहाँभन्दा बढी केही भएको छैन’, प्रचण्डको भनाई उद्धृत गर्दै भुसालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण