गृहमन्त्री गुरूङको सम्पत्ति विवरणमा २५ लाखको सेयर गायब
सारांश
- गृहमन्त्री सुधन गुरूङले स्टार माइक्रो इन्स्योरेन्समा २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरेको खुलेको छ।
- गृहमन्त्री गुरूङले प्रधानमन्त्री कार्यालयमा बुझाएको आफ्नो आधिकारिक सम्पत्ति विवरणमा उक्त सेयरको जानकारी लुकाएका छन्।
- सम्पत्ति शुद्धीकरणका अभियुक्तहरूसँग जोडिएको कम्पनीमा सेयर रहेको पाइएपछि गृहमन्त्रीको पारदर्शितामा गम्भीर प्रश्न उठेको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले सम्पत्ति शुद्धीकरणका अभियुक्तहरू दीपक भट्ट, सुलभ अग्रवाल लगायतको बिजनेसमा सेयर लगानी गरेको खुलेको छ ।
सुशासन र परिवर्तनको नारा दिएर भएको जेनजी आन्दोलनसँगै राजनीतिमा आएर छोटो समयमै शक्तिशाली पदमा पुगेका गुरुङ बिचौलिया दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्सको संस्थापक सेयर धनी रहेको खुलेको हो।
उक्त इन्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा सुधनको नाम छ । उक्त कम्पनीमा उनले २५ लाख रुपैयाँ सेयर लिएको लगानी भएको देखिएको छ ।
उक्त कम्पनी २०७९ सालमा लाइसेन्स पाएको लञु बीमा कम्पनी हो । आईओ समेत निष्कासन हुन बाँकी रहेको उक्त कम्पनीमा दीपक भट्ट लगानी रहेको कम्पनी इन्फिनिटी होल्डिङ्गस, जगदम्बा ग्रुप तथा शंकर ग्रुपको लगानी रहेको देखिन्छ । यी समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
उक्त इन्स्योरेन्समा सेयर भएको देखिए पनि सुधनले यो विवरण सम्पत्ति विवरणमा भने खुलाएका थिएनन् । गृहमन्त्री सुधनले गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा होप होल्डिङ्स र अनुज प्रमियम अपार्टमेन्टस् नामक कम्पनीमा मात्रै संस्थापक शेयर लगानी भएकबध उल्लेख गरेका थिए ।
यसबाहेक उनले धितोपत्र बजारमा कारोबार हुने सेयर भनेर २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर रहेको विवरण प्रस्तुत गरेका छन् । तर, स्टार माइक्रो इन्स्योरेन्सको यो सेयर धितोपत्र बजारमा कारोबार हुने प्रकृतिको शेयर होइन,त्यसैले यो शेयर यो समूहभित्र पर्दैन ।
बीमा प्राधिकरणमा सूर्यप्रसाद सिलवाल अध्यक्ष हुँदा सात वटा माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स प्रदान गरिएको थियो । यसरी लाइसेन्स पाएका सबै कम्पनीले दीपक भट्टकै प्रभावमा पाएको चर्चा हुने गरेकाे छ । यस्तो कम्पनीको संस्थापक सेयर हुनु तथा विवरण नदेखाउनुले सुधनको पारदर्शितामा प्रश्न उठेको छ।
त्यसो त, गुरूङ ‘हामी नेपा’ नामक संस्थालाई सबैभन्दा ठूलो वैदेशिक तथा आन्तरिक चन्दा दिनेमा पनि शंकर समूह नै अगाडि रहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो । यी घटनाले उनीमाथि गम्भीर प्रश्न उठ्ने देखिएको छ ।
यस विषयमा गृहमन्त्री गुरूङसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।



Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण