अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा
कैलाली । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन् । जन्मजात दृष्टिविहीन उहाँले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे ।
विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन् । उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन् ।
उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् । गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उनलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उनी भन्छन्, “मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठुलो खुसी अरू केही हुँदैन ।” तर, उनको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु पर्यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उनी बताउँछन् ।
बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उनका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उनलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँडडुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो ।
यी कठिनाइले उनलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उनको सोच बदलियो । शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उनको आत्मविश्वास बढ्दै गयो । उनले बुझ्दै गए की शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ ।
एसएलसी उत्तीर्ण गरेपछि उनले शिक्षण पेसामा पाइला टेके । त्यो समय उनका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन । तर उनले कहिल्यै आफूलाई कमजोर ठान्नुभएन बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढे । अध्यापनसँगै उनले उच्च माध्यमिक तह उत्तीर्ण पनि गरे । कक्षामा उनी केवल पाठ्यपुस्तकका कुरा मात्र गर्नुहुन्न जीवनका अनुभव पनि साट्छन् ।
उनको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उनकी श्रीमती पनि दृष्टिविहीन छन् । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् । छोरीले सानो उमेरमै ठुलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् ।
चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ । उनी कहिलेकाहीँ गीत गाउँछन् भने कविता पनि लेख्छन् । सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ ।
समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । “पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,” उनी भन्छन् । गाउँमा कुनै कार्यक्रम हुँदा उनलाई विशेष रूपमा बोलाइन्छ । उनी अब केवल एउटा व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन् ।
उनका विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ । “हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,” उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण