शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

कथाः दोषी को ?

शनिबार, १९ साउन २०७५, ०७ : ५०
शनिबार, १९ साउन २०७५

-सूचना तिमल्सिना  

सीमान्तकृत भई जब म भावनासँग खेल्थे । अविचलित कहानीहरूसँग म टकराव गर्थें । म कहानीमा बग्थेँ । बहनुमा मेरो स्वार्थ रहन्थ्यो । इच्छा हुन्थ्यो । तिरस्कार छचल्किन्थ्यो । फेरि म बहन छोड्दैनथे । किनकि म सोच्थेँ, मैले जीवनको लक्ष्य यही राखेको छु । मदेखि भयभित भएको लक्ष्य कोठाको चित्र जस्तै आकार प्रकार बदिलिरहन्छ । चित्रको भाव बदल नहोस् भन्नाका निमित्त प्रत्येक दिन चित्रसँग घोरिन्थे । प्रत्येक हेराइलाई एकीकरण गर्दै लैजान्थे । सम्झन खोज्दा समष्टिगत रचना विलय हुन्थे र म चित्र हेर्न छाडिदिन्थे । 

बन्देज रहेका चित्रका खोलहरू म देख्न सक्छु । खोल्न र हेर्न ममा जाँगर चल्दैन । घरभरि थुप्रिएका सामान हेर्छु । त्यो अधिपत्य म एक्लो मानव भेट्छु र घर परित्याग गर्ने एक सोच उम्लिएर आउँछ । जोगी बन्ने लक्ष्य छैन, फिरन्ते बन्ने चाहना छैन । उम्लिएको भाव लक्ष्यविहीन बनी पोखिन्छ । आफूले आफैभित्र लुकाएको प्रतिमूर्तिको छायाले दच्काइरहन्छ । घर छोड्ने चाहना खरमा लागेको आगोझैँ दन्किरहन्छ । 
दिनभरी खान नपाएको पेट अब अत्याउन थाल्छ । खाना नखाने मेरो मानसिक दृण यही समाप्ति हुन्छ र फ्रिजमा एक चक्कर लगाउँछु । चिसिएको रित्तो फ्रिजदेखि वाकवाकी लाग्छ । किचेन दराजमा अड्किएको खाने कुराको खोलदेखि अत्यास लाग्छ । फेरि भोकै रहने ठहर गर्छु । पहिले जब आकृति हुन्थी । खाना कुरा सबैतिर छरिएको हुन्थ्यो । भोकले छटपटिएको समय हँुदैनथ्यो । 

म जस्तै गरी रित्तिएको किचेनलाई दयाभाव जगाई टुलुटुलु हेरिरहन्छु । निमेष भरका लागि भए पनि आफू भोको नरहेको भान पार्न खोज्छु । कमजोर गोडा कुर्सीमा आड लिन पुग्छ । टेबलमा एक टक घोरिइरहन्छु । पल्लो कुर्सीमा बसेर हाँस्दै तरकारी केलाइरहेकी आकृति देख्छु । उसको अनुहार छोप्न आएको कपाल मिलाइदिन खोज्छु । हात टेबलमा ठोक्किँदा चाल पाउँछु, आकृति भ्रम हो भनेर । 
मेरो आदर्श जहिल्यै स्वतन्त्रतामा थियो । मैले दिएको स्वतन्त्रता उपयोग गरी आकृति खुशी थिई । उसले पढ्न पाएकी थिई । जागिर गर्न पाएकी थिई । युद्धमा हारेको एक सिंहझैँ बनी किचेनबाट कोठामा झर्छु । टेबलमा छरिएको, रित्तिएको बियर र वाइनको बोतल थान्को लाउन खोज्छु । थन्क्याउँदा थन्क्याउँदै बोतलहरू भुइँमा झारिदिउँझैँ लाग्छ । झरेको बोतलमाथि कुल्चिदिने इच्छा प्रबल भएर जाग्छ । पीडाहरू रगत हुँदै बहाउन मन लाग्छ । फेरि आफूलाई सम्हाल्न कोठाबाट बाहिरिन्छु । 

माया जहिल्यै आवश्यकतासँग जोडिनुपर्छ नत्र यसको दोहन हुन्छ । मैले आकृतिलाई बताएको थिएँ । चार वर्ष मलेसिया बस्दा आकृतिले नेपालमा आफ्नो भविष्य सुरक्षित बनाएकी थिई । ऊ राम्रो वक्ता बनेकी थिई । मीठो गफ बुन्न जानेकी थिई । मैले दिएको स्वतन्त्रताले उसले एक अनुपम भविष्य पाएको बयान गर्थी । अरू विदेशमा बस्ने साथीहरूलाई गाली गर्दै भन्थी । “मूर्खहरू बूढीहरू काम गर्न जाँदा के–के गर्लान् भन्दै आतिन्छन् । बेरीबेरी फोन गरेर हैरान पार्छन् । कहाँ थिइस्, कोसँग थिइस् भनी पाठ गर्छन् । गल्ती नगर्नेहरूलाई पनि गल्ती गरिदिऊँ जस्तो गरेर । विश्वास लिन सक्दैनन्, विश्वास दिन सक्दैनन् । फेरि बूढीको खुशीका लागि विदेश गएको भन्दै कहलाउँछन् । कमसेकम बूढीहरू पनि उनीहरू जस्तै व्यस्त भए अहिलेको समस्या केही कम पो हुन्थ्यो कि !” 

उसको बोलीले मलाई ऐठन पाथ्र्याे । कतै मैले दिएको स्वतन्त्रता कमी पो छ कि भन्ने आशङ्का हुन्थ्यो । अनि म छाडिदिन्थेँ उसकै तरिकाले जीवन जिउन । वास्तवमा ऊ स्वतन्त्रता खिचेर लिन सक्थी । अनिदो कालरात्रीसँग म गल्छु । सम्झनाका झोकाहरूसँग लुकामारीमा हराउँछु । दिदीको गालीगलौजमा आँशु बहाएकी आकृति सम्झन्छु । उसको अनुहारमा बगेको आँशु बन्न मन लाग्छ र सान्त्वना स्वरूप उसलाई थुम्थुम्याउन मन लाग्छ । नामर्द, कसैले उच्चारण गरेझैं लाग्छ । आफ्नो बचावटका लागि चुरोटको सर्को छिटो तान्छु । 

चार वर्षपछि विदेश बसेर फर्कंदा आकृति खुशी भएकी थिई । म काठमाडौंमा घर बनाउने पक्षमा थिएँ । आकृति अरू कुनै काम गर्नुपर्ने विचार राख्थी । मेरो घर बनाउने सोच दिदीको सुझावले आड पायो र मेरो अडानको जीत भयो । काठमाडौंमा एउटा घर बन्यो तर पैसा सिद्धियो । दोस्रो पटक नयाँ बनेको घरको सामान जोड्न र भविष्य फेर्न विदेश गएँ । आकृतिले मानेकी थिइन । नेपालमा बस्नेपर्ने भनि अड्डी कसेकी थिई । म अन्तिम पल्ट भन्दै दुबई गएको थिएँ । 

फितलो निन्द्राबाट तन्द्रामा उत्रिन्छु । आलस्यपूर्ण बिहानीमा छतमा बसेर बाटोमा आँखा दगुर्याउँछु । स्कुल, कलेजका विद्यार्थी, अफिस हिँडेका मानिस, आफ्नो गन्तव्य खोजीमा भौँतारिएका मानिस सबै हतारमा देख्छु । जति हतारिए पनि यौवनकालको लक्ष्य राम्री श्रीमती र पैसाको खोजीमा तह लाग्छ । बुढेसकालको लक्ष्य चयनको आशमा समाप्ति हुन्छ । समाजको संरचना मूर्खहरूको पाठशालाझैँ लाग्छ, असन्तोषको लहर फैलिन्छ र अनायासै फुत्किन्छ– मूर्खहरू !

“कसलाई मूर्ख भन्छस्, सबैभन्दा बढी मूर्ख तैँ छस्”, दिदी मलाई पोल लाउँछिन् । उनले ल्याएको तरकारी र फलफूलले रित्तिएको किचेन भर्छिन् । मलाई फेरि विवाह गर्न उक्साउँछिन् । “आकृतिभन्दा कयाँै गुणा राम्री केटी अझै पाउँछस । हेर्दै जा, यो महिनामा तेरो झ्याइँ झ्याइँ पारेर बाजा बजाएर बिहे गरिदिन्छु । त्यसपछि तेरो वास्ता गर्न छाडिदिन्छु । दुःख दिइस् तैले मलाई । “दिदी गुनासो पोख्छिन्, राय सुझाव बाड्छिन् र घर फर्किन्छिन् ।” 

‘आकृतिभन्दा राम्री केटी’ न्याय नपाएको शब्दझैँ लाग्छ । बेला बेला आकृतिको गल्तीको आड ढाक्न आउने विचरणदेखि अवाक लाग्छ । ऊ पोइलाई छोड्न सक्ने आइमाई हो । डिभोर्सको पेपर हातमा दिएर गल्तीको सजाय भोग्छु भन्न सक्ने आइमाई हो । ऊ एकैचोटि दुईवटा सम्बन्ध स्थापित गर्न सक्ने आइमाई हो । मीठो गफमा अल्मल्याएर मेरो भविष्यमाथि खेलवाड गर्ने आइमाई हो । म आकृतिमाथि दोष, द्वेष, घृणा थुपार्न खोज्छु । मबाट विभाजित सोचाइ आकृतिको जगेर्ना गर्न खोज्छ र आकृतिको इच्छा बुझ्न नसक्नु आफ्नो गल्ती रहेको बताउँछ । 

दुबईमा हुँदा आकृति नेपालमा रमाउन सकेकी थिइनँ । ऊ मलाई फर्कन कर गरिरहेकी थिई । उसको जिद्दीपनलाई नकार्दै छिट्टै फर्कने आस्वाशन दिँदै काम गरिरहेको थिएँ । अनि एक दिन आकृतिले डिभोर्सपत्र जाहेर गरी । उसले मलाई दिँदै आएको धोकाप्रति पश्चताप भएको बताई । डिभोर्स माग्नसक्नु, अरूको जस्तै मैले स्वास्नी पोइल गएको हल्ला सुन्न नपर्नु, मैले दिएको स्वतन्त्रताको नतिजा हो भनी बयान गरी । मैले गर्व गर्ने माया र स्वतन्त्रता मेरो धज्जी उडाउँदै मलाई गिल्ला गरिरहे । 

आकृतिलाई दोषारोपण लगाई धोकेबाजको संज्ञा दिँदै आफू उत्रन खोज्छु । मेरो इतिहासभित्र रहेको रहस्यले डसिरहन्छ र पानीमाथिको ओभानो बन्न खोजेको भनी आरोप लगाउँछ । खासमा तँ पनि आकृति जस्तै होस् । फरक यत्ति हो तेरो बाहिरी सम्बन्ध एक–एक रातमा सीमित भए । आकृतिको चाहना रातसँग साटिँदै मायामा परिणत भए । जति आन्तरिक विवाद मच्चिए पनि आकृतिलाई आफ्नो दर्जामा राख्न चाहदिनँ । किनकि आकृति स्वास्नी मानिस थिई । उसले स्वास्नी मानिसको मर्यादा भुलेकी थिई । ऊ लोग्नेको नियन्त्रणमा होइन, समाजको नियन्त्रणमा थिई । 

के अरू स्वास्नी मानिस पनि आकृति जस्तै होलान् त ? अविश्वासको लहर फैलिन्छ । जति सम्झाउँदा पनि, विश्वासमाथि डडेलो लगाउँदा पनि एक्लो जीवन बिताउने आँट भने आउँदैन । बाध्य भई दिदीले ल्याएको बिहेको प्रस्ताव स्वीकार गरिदिन्छु । केटी भेट्न जान्छु । केटीको चञ्चलता, अनुहारको चमकदेखि आजित हुन्छु । म उसको माधूर्यतामा डुब्छु । ऊ त आकृतिभन्दा पनि राम्री रहिछ । एक्लो जीवन जिउने चाहना यही समाप्त हुन्छ । कता कता ऊ जस्तै बन्ने रहर चढेर आउँछ । चार दिवारभित्र एक महिनादेखि आफूले बिताएको कैदी जीवन दया जाग्छ । “थुक्क नामर्द आकृतिबाहेक अरू केटी नै नभए जसरी बिताए छस नि ।” आफूलाई आरोपित गर्दै मन्त्रमुग्ध भई हेरिरहन्छु । 

मलाई जीवनको असन्तुष्टिलाई पलाएन गर्न मन लाग्छ । शरम र शिष्टताको मुखुण्डो फाल्ने इच्छा जुर्मुराउँछ । उसलाई साथ लाएर घर लिई आउन मोह जाग्छ । ऊबाट छुटिँदा नमिठो पीडाको अनुभूत हुन्छ । घरमा बन्देज गरी छोपिएको चित्र निकाल्छु । पहिलेजस्तै कोठा रङ्गीन बनाउँछु । घर सजाउँछु । सिङ्गो घरमा खण्डित बनेर अड्केको आकृतिको सम्झना बेलाबेला मसँग तर्कना बनेर आउँछन् । ती तर्कनालाई फिस्स हाँस्दै उडाइदिन्छु । दिदी फूर्ति लाउँदै भन्छिन्– “काठमाडौँ एउटा घर हुनुपर्छ, पैसा हुनुपर्छ, राम्री केटी त फालाफाल पाइन्छ ।” 

दिदी बिहेको तालमेल मिलाउँदैछिन् । म बेचैनसाथ पर्खिरहेछु । छतबाट देखिने दृश्य र आकार फरक भएको पाउँछु । घोरिन्छु, घरको तल माथि गर्छु, नयाँ स्वास्नी र उसले बोकेर ल्याउने रङ्ग, कल्पनातीत संसारमा उड्न थाल्छु । विवाहको छिनोफानो हुन आलटाल हुन्छ । आलटाल हुँदाहुँदै कहानी समाप्त हुन्छ । दिदी आफन्तहरूको करामत भन्दै सराप्छिन् । “दोस्रो बिहेलाई घर हुँदैमा छोरी के दिई हाल्थे र ?” टिप्पणी गर्छिन् । मेरो रङ्गीन कल्पना इन्द्रेणीको रङ्ग बनी हराउँछ । म उही चिस्सिएको घरमा एक्लोपन गुजार्न फिर्ती हुन्छु । मलाई आकृतिले गिल्ला गरेझैँ लाग्छ । 

दिदी हैरान् बन्छिन । “स्वास्नी घरमा हँुदा भुसुना झैँ गन्छन् । फेरि स्वास्नी भएन भने मरौँलाझैँ गर्छन् । यो नक्चरो केटा मानिसको जात ।” दिदी भिनाजुसँगको रिस मेरो बिहे हुन नसक्नुमा पोख्छिन् । अब म यादमा हराउनुपर्ने मानिस पनि भेट्दिनँ । आकृति जसलाई मैले नयाँ स्वास्नीको आशमा सम्झनाबाट हटाइसकेको छु । अब ऊ भन्दै चिन्ता लिन मन लाग्दैन । म दुखित, चिन्तित, पीडित छु तर कारण जान्दिनँ, दोषी भेट्दिनँ । दोष आकृतिलाई लगाउँछु, पूर्ण रूपमा उसलाई दोषी मान्न सक्दिनँ । दोष सरकारलाई लागाउँछु, नेपालमा बसी काम गरिरहेका युवादेखि पूर्ण रूपमा दोषी भन्न सक्दिनँ । दोष परिवारको स्थितिलाई लगाउँछु, मरिसकेका बाआमाको चित्त दुखाउन मन लाग्दैन । त्यसैले दोषी यो बनेको घरलाई मान्छु । 

दिमाग भएको सर्वश्रेष्ठ मानिस र मानिसको दिमागी मैदानमा स्वन्तन्त्रता फुलाउन बनेको सरकारबीच एक घर दोषी बनि ठिङ्ग उभिइरहेछ । म त्यही दोषी घरको मालिक दोष हटाउने उपाय रच्दैछु र घर बेच्ने निर्णय गर्दैछु । साँच्चिकै घर दोषी थियो, आफूलाई मनाउँछु । मैले आकृतिले भनेजस्तै घर बनाउनुको सट्टा अरू केही गर्नु पथ्र्याे, नाके स्वर बजाउँछु । मेरो अघि एक दृण लक्ष्य देखापर्दछ । दिदी घर बेच्न नहुने अडान कस्छिन् । दिदीलाई फकाउँदै सपना देखाउँछु । घर बेचेर विजनेस गर्नेछु । विजनेस गरेर पैसा कमाउनेछु । त्यसपछि यस्तो घर त दुई चारवटा किन्नेछु । “बिहे नि ?” दिदी ठुस्किन्छिन् । थाहा छैन भागमा त एउटा बुढी पनि पर्छे वा पर्दिनँ तर दिदीको मन राख्न भनिदिन्छु– जति घर त्यति बूढी ल्याउनेछु, हेर्दै जाऊँ । दिदी पत्याउदिनन् तर मेरो ढिपीको अघि हार मान्छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप