शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार: भिजिट भिसा प्रकरणमा माओवादीको ‘यूटर्न’, रास्वपाको अडान कायमै

शनिबार, ३१ जेठ २०८२, ०० : ००
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रले संसद अवरोध हटाउन दुई बुँदे सहमति जनायो, तर रास्वपाले उच्चस्तरीय छानबिनको अडान कायमै राखेको छ।
  • गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा अख्तियारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए, जबकि काठमाडौँमा ११ करोड ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • प्रदेश सरकारहरूले यथार्थपरक नीति तथा कार्यक्रम ल्याए, भने नयाँ शक्तिले भ्रष्टाचारलाई समस्याको रूपमा औंल्याएको छ।

काठमाडौँ । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१. माओवादीको ‘यूटर्न’
१३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सहज ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ शुक्रबार सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र संसद्को प्रमुख विपक्षी माओवादी केन्द्रले २ बुँदे सहमति गरे ।

भिजिट भिसाका नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र यसबारे संसदीय छानबिन समिति गठनको मागबाट यूटर्न हुँदै माओवादी दुई बुँदे सहमति गर्न राजी भएको हो ।

उक्त सहमति सत्तापक्ष र विपक्षीकाबिच भएको भनिएको छ भने २ बुँदेमा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौला र विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्

२. अडान कायमै

भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अडान कायमै रहेको जनाएको छ ।  उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको सो पार्टीले शुक्रबार एमाले र माओवादीबिच भएको २ बुँदे सहमतिमा सहभागी छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिनेछ । रास्वपा सांसद सुमना श्रेष्ठले भनिन्, ‘हाम्रो अडान कायम छ ।’

३. गृहमन्त्रीको स्पष्टीकरण

गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले भने, ‘ अनुसन्धानमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

४. बोर्डको पत्र

प्रतिनिधिसभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई ९० रुपैयाँभन्दा कम नेटवर्थ नरोक्न पत्र पठाएको छ । लेखा समितिले २०८१ जेठमा प्रतिसेयर ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपिओ निष्कासनको अनुमति नदिन निर्देशन दिएको थियो ।

 ५. ठगी

काठमाडौँको नरेफाँटबाट जेठ २५ मा लक्ष्मण पराजुली र अरुणराज शर्मा पक्राउ परे । उनीहरू युके पठाउने नाममा ११ करोड ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

मोरङको रतुवामाई नगरपालिका–१० घर भएर कपनस्थित सरस्वती नगर बस्दै आएका ४४ वर्षीय लक्ष्मण पराजुली ‘आइइएलटीएस’ पढाउने शिक्षक पनि हुन् ।

६. दुई सचिवको जवाफ

गृहसचिव गोकर्णमणि दुवाडी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जबाफ पठाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीलाई सात दिनभित्र दरबन्दी बमोजिम व्यवस्थापन गरी त्यसको जानकारी गराउन पत्राचार गरेका थिए ।

७. प्रचण्डको भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नो ढंगले अघि बढेपनि आफूहरुबीच आरोप–प्रत्यारोप नहुने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले रास्वपासंग माओवादीको मूलभूत विषयमा केही फरक नरहेको उल्लेख गरे । रास्वपाको अडानका कारणले केही समय रास्वपा आफ्नै ढंगले जाने र आफूहरुबीच बिमति र आरोप प्रत्यारोप नहुने उनको भनाइ छ ।

८. रवीन्द्र मिश्र र धवलशमशेर छिट्टै अदालतमा उपस्थित हुने

चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हाल ‘फरार’ छन् ।  उनीहरू आफ्ना कानुन व्यवसायीसँगकै परामर्शका आधारमा अदालतमा हालसम्म अनुपस्थित नभएको बताइएको छ । उनीहरू उपयुक्त समयमा छिट्टै अदालतमा उपस्थित भएर कानुनी लडाइ लड्ने राप्रपा स्रोतको भनाइ छ ।

९. प्रदेश नीति तथा कार्यक्रम

स्रोत साधन र कानुनको सीमितताबाट गुज्रिरहेका प्रदेश सरकारहरूले आफ्नो आर्थिक पहिचान पहिल्याउने प्रयास गरेका छन् ।

प्रदेश सरकारहरूले ल्याएका वार्षिक नीति तथा कार्यक्रममा यस्तो अवस्था देखिएको हो । ठुला कार्यक्रम र महत्त्वकांक्षी योजना ल्याउने गरेका प्रदेशले यसपटक ल्याएका योजनाहरू थप यथार्थपरक बन्दै गएका देखिएको हो ।

१०. दुर्गा प्रसाईं

तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंले अदालतमा दिएको बयानमा प्रहरीलाई मार्ने नियतले गाडी नचलाएको, प्रदर्शनस्थलमा अश्रुग्यास, ढुङ्गा र गोली प्रहार हुन थालेपछि संयमित भई ज्यान बचाउनका लागि निषेधित क्षेत्रमा सुस्तरी गाडी चलाएर गएको दाबी गरेका छन् ।
अदालतले पुर्पक्षमा पठाउने आदेश गरेसँगै उनी डिल्लीबजार कारागार चलान भएका छन् ।

११. नयाँ शक्तिको १० औँ स्थापना दिवस

पाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आर्थिक क्रान्तिको जनअपेक्षा अनुरूप परिणाममुखी हुन नसक्नुका प्रमुख कारणहरू निक्र्याेल गरेको छ । नयाँ शक्तिको १० औँ स्थापना दिवसको अवसरमा शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तीन बुँदामा समस्याको निक्र्योल गरेको हो ।

१२. अनेरास्ववियुमा २०१ सदस्यीय केन्द्रीय कमिटी 

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै सुजन कडरिया अध्यक्ष निर्वाचित भएका छन्। डा कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत मात्र पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप