माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय भवन तयार
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पालिकाको केन्द्र लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी जमिनमा गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको हो ।
गाउँपालिकाले सोमबारदेखि नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए । उनका अनुसार सुविधा सम्पन्न भवनमा पालिकाको सेवा सरेसँगै सेवाप्रवाहमा सहज हुने विश्वास गरिएको छ ।
“पुरानो भवन र साँघुरा कोठाबाट सेवा दिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । सुविधा सम्पन्न भवनले अब सेवाग्राहीलाई पनि सजिलो भयो, हामीलाई पनि काम गर्न सजिलो भयो”, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ।
गाउँपालिकाले साविक लाहाचोक गाविस रहेको भवनबाट सेवा दिँदै आएको थियो । पालिका नयाँ भवनमा सरेसँगै वडा कार्यालयले फराकिलो स्थानबाट काम गर्नेछ । यससँगै स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई सहज हुनेछ । गाउँपालिकाको तीन तलाको नवनिर्मित भवनको पहिलो तलामा शिक्षा, स्वास्थ्य, महिला बालबालिकालगायत विषयगत शाखाका कार्यालय रहनेछन् ।
दोस्रो तला योजना, पूर्वाधार, सूचना प्रविधि, आर्थिक प्रशासन, प्रशासन र प्रमुख प्रशासकीय अधिकृतको कार्यालय रहनेछ । तेस्रो तलामा अध्यक्ष/उपाध्यक्षको कार्यकक्षसहित, कार्यपालिका बैठक कक्ष, सभा हल र न्यायिक समितिको कार्यकक्ष रहनेछ ।
गाउँपालिकाको भवन निर्माणका लागि विसं २०७७ मा नयाँ बाटोरजिएस इन्जिनियरिङ जेभीसँग रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार वर्ष ढिला गरी भवन निर्माण गरिएको हो । गाउँपालिका भवनका लागि स्थानीयवासीले जमिन उपलब्ध गराएका थिए ।
निर्माण कम्पनीको ढिलासुस्ती, स्थानीयस्तरमा उत्पन्न विवाद र प्राविधिक समस्या उत्पन्न हुनु लगायतले ढिलाइ भएको पालिकाले जनाएको छ । पालिकाको भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख लगानी गरेका थिए । बाँकी रकम पालिकाले आन्तरिक स्रोतबाट लगानी गरेको हो ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले साँघुरो भवनबाट सेवा दिँदा अप्ठ्यारो भएकामा सुविधा सम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहज र सुधार हुने बताइन् । “पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा राम्रोसँग कुर्सी टेबलसमेत राख्न सकिने अवस्था थिएन । अहिले सुविधा सम्पन्न भवन बनाएर नयाँ भवनबाट सेवा सुरु गरेका छौँ । गाउँपालिकाको प्रशासनिकसहित विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुनेछ । सेवा प्रवाह छिटो, प्रभावकारी, व्यवस्थित र पारदर्शी हुनेछ”, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण