बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुकुमबासी समस्या

पोखरा महानगरले सेतो पुर्जा दिएका २० हजार सुकुमबासीले लालपुर्जा पाउँदैछन् ?

शुक्रबार, १८ वैशाख २०८३, ११ : १३
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • पोखरा महानगरपालिकाले करिब २० हजार सुकुमबासी परिवारलाई सेतो पुर्जा वितरण गरेको छ ।
  • भूमि आयोगसँगको समन्वयमा १९ हजार ८५६ परिवारलाई निस्सा वितरण गरिएको र उनीहरूलाई चरणबद्ध रूपमा लालपुर्जा उपलब्ध गराइने महानगर प्रमुख धनराज आचार्यले बताए ।
  • तर, महानगरले सार्वजनिक, पर्ती तथा ऐलानी जग्गामा विनास्वीकृति निर्माण भएका संरचना ३५ दिनभित्र भत्काउन सूचना जारी गरेपछि सुकुमबासी त्रसित बनेका छन् ।

पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने करिब २० हजार सुकुमबासीलाई सेतो पुर्जा (निस्सा) वितरण गरिसकेको छ । महानगरका अनुसार भूमि आयोगसँगको समन्वयमा १९ हजार ८५६ परिवारलाई निस्सा वितरण गरिएको हो ।

उनीहरूलाई चरणबद्ध रूपमा लालपुर्जा उपलब्ध गराइने महानगर प्रमुख धनराज आचार्यले बताए । भूमि आयोग पूर्ण रूपमा सक्रिय भएपछि पहिलो चरणमा करिब ९ हजार भूमिहीन सुकुमबासी तथा दलित परिवारलाई सुरक्षित स्थानमा लालपुर्जा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

महानगरले यसबारे दोहोरो चरित्र देखाएको छ । उता लालपुर्जा वितरणको तयारी गरिरहेको दाबी गर्दा यता महानगरले नै सूचना निकालेर ३५ दिनभित्र सार्वजनिक, पर्ती तथा ऐलानी जग्गामा विनास्वीकृति निर्माण भएका संरचना भत्काउन आदेश दिएको छ ।

उपत्यका नगर विकास समितिले पनि अर्काे सूचना निकालेर ३५ दिनभित्रै सबै संरचना हटाउन भनेको छ । पोखराका अधिकांश जग्गा नगर विकास समितिको नाममा छन् । धेरै सुकुमबासी बसोबास गरिरहेका बसपार्कको जग्गामा सुकुमबासी भरिएका छन् ।

सूचना अनुसार जेठको पहिलो हप्ताभित्रै उनीहरूले ठाउँ खाली गरिसक्नुपर्छ । धेरैतिर आलोचना हुन थालेपछि मेयर धनराज आचार्यले हुलमुलमा स्वार्थ सिद्ध गर्न खोज्नेहरूका कारण समस्या भइरहेको बताएका छन ।

‘सार्वजनिक वा सरकारी जमिन बिनाअनुमति भोगचलन गर्ने, भाडा उठाउने वा सुकुमबासीको नाम र बहानामा हुलमुलमा व्यक्तिगत स्वार्थसिद्ध गर्ने गतिविधि अब सह्य हुँदैन,’ उनले भने, ‘तोकिएको समयसीमाभित्र सम्बन्धित स्थान खाली नगरे अनावश्यक राजनीतिक नारा वा दबाबको पर्वाह नगरी प्रचलित कानुनअनुसार कडा कारबाही अगाडि बढाइनेछ ।’

मेयर आचार्यले संवेदनशील तोकिएका ठाउँहरू जसरी पनि खाली गराउने चेतावनी दिए । यसको अर्थ सरकारी आयोजनाका लागि तोकिएको बसपार्क पनि खाली हुनेछ ।

‘पोखरा बसपार्क, खोलाघर, ताल किनारजस्ता संवेदनशील तथा सरकारी आयोजनाका लागि तोकिएका स्थानहरू जसरी पनि खाली गराइनेछ,’ उनले भने, ‘तर, त्यहाँ बसिरहेका वास्तविक सुकुमबासी परिवारलाई पहिचान गरी उपयुक्त र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने महानगरको स्पष्ट नीति भएकाले वास्तविक सुकुम्बासीहरू कोही पनि हतोत्साहित हुनु पर्दैन ।’

सुकुमबासीका नेताहरूचाहिँ सुकुमबासीभन्दा पहिले अतिक्रमण गरेर बनाइएका ठुला घर र व्यापारिक भवन भत्काउन चेतावनी दिन्छन् । सुकुमबासी तथा मजदुर नेता रुद्र गौतमले बसपार्क निर्माणका लागि जग्गा खाली गर्न आफूहरू तयार रहेको भन्दै त्यसअघि व्यापारिक मलमा डोजर चलाउन चेतावनी दिएका हुन् ।

‘बसपार्क कब्जा गरे भन्नेखालको जुन आशय व्यक्त भएको छ, यो कुरा सत्य होइन । बसपार्क निर्माणको निम्ति हामी आफैँ तयार छौँ,’ उनले भने, ‘यदि ती सबै हट्छन् र सबैमा डोजर लाग्छ भने हामी हाम्रो कार्यालयमा पहिला डोजर लगाउन तयार छौँ ।’

उनले बसपार्कको जग्गा कब्जा गर्ने ठुला घरहरूमा डोजर चलाउने ग्यारेन्टी दिन भनेका छन् ।

‘बसपार्कको जग्गा कब्जा गरेर बनाइएका ती ५ तले घरहरू र व्यापारिक महलहरूमा डोजर लाग्छ कि लाग्दैन ? हाम्रो प्रश्न यहाँनेर छ,’ उनले भने ।

गौतमले ३५ दिनभित्र महानगरले पक्षपातपूर्ण रवैया देखाए र ठुला संरचना नभत्काए ३६औँ दिनमा आफूहरूले नै मजदुर, गैंची, बेल्चा र डोजर लिएर ती महल भत्काउन जाने चेतावनीसमेत दिए । ‘हामी ३५ दिन पनि कुर्दैनौँ । यदि त्यहाँ डोजर चल्दैन भने हामी आफैँ डोजर लिएर जानेछौँ,’ उनले भने, ‘३६औँ दिनमा हाम्रा सबै सदस्यलाई लिएर आउन हामी आह्वान गर्छौं ।’

कास्की जिल्लाभर २५ हजार हाराहारी सुकुमबासी परिवार रहेको अनुमान छ । सबैजसोलाई सम्बन्धित पालिकाले सेतो पुर्जा वितरण गरिसकेको छ । उनीहरू लालपुर्जा प्राप्त गर्नेमा ढुक्क छन् । तर, सरकारले बस्ती खाली गर्ने सूचना जारी गरेपछि भने त्रसित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप