बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
उजाड सुकुमबासी बस्ती

भग्नावशेषमाथि उभिएर भक्कानिन्छन् सुकुमबासी

'जहाँ पुर्खाको सास छुट्यो, आज त्यहीँबाट बास उठ्यो'
शनिबार, १९ वैशाख २०८३, २० : ४६
शनिबार, १९ वैशाख २०८३

सारांश

  • बालाजुस्थित विष्णुमती खोला किनारको सुकुमबासी बस्तीमा शनिबार डोजर चलाएर वर्षौंदेखिका टहरा भत्काइयो ।
  • बस्तीका सुकुमबासीहरू भत्किएका घरटहराका भग्नावशेषमाथि उभिएर आफ्ना जिन्दगीका भत्किएका टुक्राहरू खोजिरहेका थिए ।
  • सुकुमबासीहरूले उचित व्यवस्थापनको माग गर्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौँ । शनिबार बिहानै बालाजुस्थित विष्णुमती खोला किनारको सुकुमबासी बस्तीमा डोजर चल्यो । 

सरकारले हिजो (शुक्रबार) नै डोजर चल्ने जानकारी बुधबार मात्र दिएको थियो । यद्यपि एकदिन ढिला गरी बस्ती खाली गरायो । यस बस्तीमा बिहीबार बिहानैदेखि खैलाबैला सुरु भइसकेको थियो, अनि दिनरात नभनी सुकुमबासीहरू टहरा खाली गर्न लागिपरेका थिए । 

शुक्रबारअघि नै ९० प्रतिशत टहरा खाली भइसकेका थिए, बाँकी रहेकाहरूले त्यस दिन दिनभर समय पाएका थिए । शुक्रबार डोजर नचले पनि शनिबार प्रहरीको बाक्लो उपस्थितिमा बस्तीमा चार वटा डोजर चल्यो । 
शनिबार डोजर पसेपछि बस्ती क्षणभरमै उराठलाग्दो बन्यो । सरकारले चलाएको डोजरले वर्षौंदेखि उभिएका सुकुमबासीका टहराहरू ढले । 

सम्भावित तनावलाई मध्यनजर गर्दै प्रहरीले पुल छेउबाटै कडा सुरक्षा घेरा हालेको थियो । बाहिरका कसैलाई पनि छिर्न अनुमति दिइएको थिएन । छेउमा घर हुनेहरू समेत बाहिरै रहन बाध्य भए । तर, हामी भने सुकुम्बासीका रुपमा भत्काउँदै गरेको भग्नावशेषभित्र प्रवेश गर्‍यौँ । त्यहाँ भित्रको दृश्यले जोकोहीको हृदय चिर्थ्यो । 

धेरैजसो सुकुमबासी आफ्नो थातथलो छाडेर हिँडिसकेका थिए, तर ३० वर्षदेखि त्यही किनारमा बस्दै आएकी सानुमाया स्याङ्गतान भने आँसु झार्दै डोजरले आफ्नो बस्ती भत्काएको हेरिरहेकी थिइन् । हामी उनको छेउमा पुग्यौँ, सोध्यौँ– बस्तीमा कोही छैनन् तपाईं कतै जानुभएन ? 

उनले उल्टो हामीलाई प्रश्न गरिन्, ‘तपाईंहरू को हो, किन भन्ने ?’ 

सानुमायालाई भन्यौँ, ‘हामी पत्रकार हो । अनि उनले भनिन्, ‘मेरो जाने ठाउँ कतै छैन । एक्लै थिएँ । म कहाँ जानु ? जाने ठाउँ कही छैन । भएको सानो टहरा पनि राज्यले डोजर चलाइदियो । दुई दिन सडकमै सुतेँ । अब यहीँ बस्नुको विकल्प मसँग छैन ।’ 

उनका आँखाबाट आँसुका धारा बगिरहेका थिए । 

उनको सबैथोक यही बस्ती र सानो टहरा थियो । अब उनलाई लागेको छ– टहरा बनाउन लागेको इँटा र काठ सम्हाल्छु अनि बेचर दुई दिन ज्यान पाल्छु । केही नभएका अन्य पनि त्यही खण्डहर टोलाइरहेका थिए । 

डोजरले भत्काएका घरटहराका भग्नावशेषमाथि उभिएर उनीहरू आफ्ना जिन्दगीका भत्किएका टुक्राहरू खोजिरहेका थिए । आँसु बगाउँदै घर बनाउन प्रयोग भएका जस्तापाता, फलामका डन्डी, इँटा, झ्याल–ढोकाका काठ र अन्य टुटेफुटेका सामानहरू बटुल्दै थिए । 

sukum-basi

त्यहीँ भेटिएका अर्का एक ४० वर्षीय रामविर सुनार पनि त्यहीँ थिए । उनको गुनासो थियो, ‘बस्ने बास त लुटियो, अब यी कवाडहरू बेचेर भए पनि दुई–चार दिनको छाक टार्नुछ ।’ डोजरले उजाडिएको भग्नावशेष खोस्रिँदै गर्दा उनमा निराशा र आक्रोश दुवै थिए । उनी यो बस्तीमा बसेको ४० वर्ष भयो । सरकारले एक्कासि बास खोसिदिएपछि उनलाई अब व्यवस्थापनको चिन्ता छ । 

अर्का एक युवा पनि खण्डहरभन्दा केही तल बसिरहेका थिए । उनी पनि बस्तीमा रहेका जस्तापाता, फलामका डन्डी, इँटा, झ्याल–ढोकाका काठ र अन्य टुटेफुटेका सामान सम्हान अरूलाई नदिने सोचमा थिए । ‘यी सबै सामान आफै सम्हाल्छु । सबै समान सम्हाल्दा बेचेर भए पनि केही दिन ज्यान पाल्न सकिन्छ । अन्य ठाउँमा राज्यले जग्गा दियो भने टहरा बनाउन काम लाग्छ,’ उनले भने । 

खण्डहरको एक कुनामा भेटिइन् ५० वर्षीया अम्बिका श्रेष्ठ । बालाजुको यस सुकुमबासी बस्तीमा बस्दै आएकी उनको ३१ वर्ष यहीँ बित्यो, तर सरकारले शनिबार डोजर चलाएपछि उनका आँसु रोकिएका छैनन् । ‘मेरो कोही छैन, म एक्लै छु । भाँडा माझेर, चिया बेचेर बनाएको एउटा सानो छाप्रो थियो, त्यो पनि सरकारले भत्काइदियो,’ अम्बिकाले रुँदै भनिन् । 

सुकुमबासी पहिचान गरेर व्यवस्थापन गर्ला भन्ने आसमा छिन् उनी । उनलाई सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि छ । 

‘नयाँ सरकारले केही गर्ला, सुकुमबासीको उचित व्यवस्थापन गरेर मात्रै बस्ती खाली गराउला भन्ने आशा थियो, ‘आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘तर त्यस्तो नभएर मानवीय व्यवहारसमेत देखाउन सकेन । कुनै विकल्पविना एक्कासि सरकारले सडकमा पुर्‍यायो, हामी बिचल्लीमा पर्‍यौँ ।’

अम्बिकाको जस्तै व्यथा सोही बस्तीकी ४५ वर्षीया नानु श्रेष्ठको पनि छ । निर्वाचनका बेला आफूहरूलाई भोट बैंकका रूपमा प्रयोग गरेको उनलाई लागेको छ । व्यवस्थापन गरेर मात्रै बस्ती हटाउने उम्मेवादरहरूले आश्वासन दिएको तर अहिले कुनै विकल्पविना बस्तीमा जोडर चलेपछि उनी आक्रोशित छिन् । 

सात पुस्तादेखि यहीँ हुर्किएको दाबी गर्ने उनी नेताहरूले दोहोरो चरित्र देखाएको आरोप पनि लगाइन् । 

‘नेताहरूले सुकुमबासी व्यवस्थापन गर्छौँ भनेका थिए, तर आज जनतालाई रुवाएर सडकमा पुर्‍याए,’ उनी आक्रोशित थिइन्, भनिन्, ‘कोठा खोज्न जाँदा कसैले पत्याउँदैनन् । कि हामीलाई राज्यले मारिदिनुपर्‍यो, कि त बस्ने ठाउँ दिनुपर्‍यो । सानो बच्चालाई पेटमा बोकेर सुत्केरी आमाहरू सडकमा पुगेका छन् । राज्यले अमानवीयता देखायो ।’  

४० वर्षदेखि सोही स्थानमा बस्दै आएकी माया स्याङ्तानको यहीँ छोराछोरी हुर्काइन् । राज्यले ४० वर्षसम्म दुःख गरेको ठाउँ भत्काइदिएपछि अहिले उनी इँटा बटुल्दै थिइन् । भनिन्, ‘प्लास्टिकले छाएको झुप्रोमा बस्दा पनि सरकारलाई किन लोभ लाग्यो ? सरकारले व्यवस्थापन गर्छु भन्छ, तर गर्दैन । यो सरकार पापी रहेछ ।’

काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउने नाममा सरकारले खोला किनारका अनधिकृत बस्तीमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ । आज मात्रै काठमाडौंका श्वयम्भू,अनामनगर धोवी खोला, माछापोखरी र तिलगंगामा समेत डोजर लगाएको छ । 

सुकुमबासी व्यवस्थापन आवश्यक छ । तर उचित व्यवस्थापनवीना बस्ती हटाउँदा सडकमा पुगेका सयौँ सुकुमबासीहरूको भविष्य भने अन्धकार बनेको छ । बालबालिकाहरूको शिक्षामा समेत असर पुगेको छ । उनीहरूले आफूहरूलाई हटाउनुअघि बस्ने ठाउँ देखाउनुपर्ने र चाँडै उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको एकसूत्रीय माग छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप