सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्थलगत

टहरामा डोजर चलेपछि तीन दिनदेखि खुला आकाशमुनि सुतिरहेका नवराज

आइतबार, २० वैशाख २०८३, २० : ३०
आइतबार, २० वैशाख २०८३

सारांश

  • डोजर चलेपछि शंखमूलका २९ वर्षीय नवराज कार्की तीन दिनदेखि रुखमुनि आश्रय लिइरहेका छन् ।
  • उनको फर्निचर व्यवसाय सञ्चालन गर्ने वर्कसप भत्किँदा सामानहरु भग्नावशेषमा पुरिएका छन् ।
  • सरकारले वास्तविक सुकुमबासीको पहिचान गरी नाम दर्ता गर्ने प्रक्रियाबारे अनभिज्ञ रहेका नवराज कानुनी कारबाहीको डरले दुविधामा छन् ।

काठमाडौँ । शंखमूलको टहरामा डोजर चलेपछि २९ वर्षीय नवराज कार्की तीन दिनदेखि रुखमुनि रात काटिरहेका छन् । आइतबार मध्यान्ह उनी चाउचाउ खाएर भोक मेटाइरहेको अवस्थामा भेटिए । शुक्रबार टहरामा डोजर चलेपछि उनले ओढ्ने, ओछ्याउने लगायत केही सामान हतार–हतार बाहिर सारेका थिए । 

कोठा खोजेर सुरक्षित स्थलतर्फ निस्किन नवराजलाई सम्भव थिएन । सामान सार्दासार्दै टहरामा डोजर चलिहाल्यो । उनको टहरा बाहिर सडक छेउमा रुख थियो, त्यही रुखमुनि उनले ओढ्ने, ओछयाउने सामान सारे । विगत तीन दिनदेखि त्यही रुखमुनि उनले आश्रय लिइरहेका छन् । 

‘म यहाँ तीन दिनदेखि छु, पानी परोस् वा घाम लागोस्, म यहीँ बस्नेछु,’ नवराजले आकाशतिर हेरेर भने, ‘सबैभन्दा ठुलो डर झरीसँग लाग्छ । ओढ्ने जति भिजाउँछ ।’

नवराजको जीवन जेनतेन चलिरहेको थियो । उनले टहरा नजिकै फर्निचर व्यवसाय सञ्चालन गरिरहेका थिए । जुन काम उनले एक्लैले गर्थे । ‘त्यो मेरो आफ्नै थियो,’ उनले भने, ‘त्यसैबाट मेरो गुजारा चलिरहेको थियो ।’ उनको वर्कसप भत्केपछि सामानहरु भग्नावशेष स्थानमा पुरिएका छन् । टहरा भत्काइएपछि जाने ठाउँ कतै उनले रुखमुनि आश्रय लिएको दु:खेसो पोखे । 

सुकुमबासी बस्तीका संरचनाहरु भत्काउने कार्य छिटो भएको नवराजले बताए । उनले आफ्ना आधा सामान मात्र बचाउन सके । उनीसँग एउटा खाट र केही ओढ्ने ओछ्याउने मात्र बाँकी छन्, जुन अहिले रुखमुनि असुरक्षित छन् ।

अहिले विस्थापित भएका नवराज सुकुमबासी बस्तीमै जन्मिएका हुन् । उनीसँग राजधानीकै नागरिकता छ । कष्टकर बाल्यकाल बिताएका उनले १४ वर्षको हुँदा आमा गुमाए । उनका बुबा र दुई भाइ आफ्नो पुर्ख्यौली घर सोलुखुम्बु फर्किएका छन् । एक्लै संघर्ष गरिरहेका उनी सहाराबिहीन बनेका छन् ।

सरकारले वास्तविक सुकुमबासीको पहिचान गरेर नाम दर्ता गर्ने प्रक्रियाबारे उनी बेखबर छन् । नाम दर्ता गर्ने कुरामा उनी दुविधामा छन् । गाउँमा जग्गा भए कारबाही गर्छन् भन्ने सुनेका छन् । त्यही डरले कतै जान सकिरहेका छैनन । ‘नाम दर्ता गरेँ भने कानुनी कारबाही होला भन्ने डर छ,’ उनले भने । 

सरकारले खाना र बस्नका लागि गरेको व्यवस्थाबारे सोध्दा, नवराजले त्यसबारे शंका व्यक्त गरे । ‘मैले सुनेको छु कि समयमा खाना पाइँदैन, पेटभरि खान पनि पाइँदैन, बस्ने ठाउँ कस्तो हुन्छ कसलाई थाहा ?’ उनले थपे, ‘हामी मन्दिर नजिकै खाना बनाउन बाध्य छौं ।’ उनको स्वरमा निराशा र आक्रोश थियो । ‘जो आए पनि पेलिने हामी नै रहेछौं,’ उनले भने, ‘उनीहरूले बनाउनुपर्छ, भत्काउनु हुँदैन । मान्छेलाई रुवाएर प्रगति भन्न सकिँदैन ।’ कमजोर नागरिकहरूलाई सहाराविहीन बनाउने कार्यको सट्टा मानवीय समस्याको समाधानमा लाग्न सरकारलाई उनी जोड दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप