आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
विश्व हाँसो दिवस

‘हाँसो एउटा अचूक औषधि हो, तर मानिसहरू हाँस्नै बिर्सिरहेका छन्’

आइतबार, २० वैशाख २०८३, २१ : ५३
आइतबार, २० वैशाख २०८३

सारांश

  • हाँसोलाई अचूक औषधि र शक्तिशाली थेरापीको रूपमा वर्णन गरिएको छ, जसले शरीरका तन्तुहरूलाई पुनर्जीवित गर्न मद्दत गर्छ।
  • बढ्दो तनाव, आकांक्षा र अस्वस्थ प्रतिस्पर्धाले गर्दा मानिसहरू हाँस्न बिर्सिरहेका छन्, जसले उनीहरूलाई दुखी बनाएको छ।
  • हास्य कलाकारिताको यात्रा बाल्यकालदेखि सुरु भएको र अभ्यास तथा मेहनतले यो कलालाई निखार्दै लैजाने कुरामा जोड दिइएको छ।

धेरै मानिसहरु सोच्दा रहेछन् । हसाउनु त केवल जोक भन्नु मात्र हो । तर हास्य त्यति सजिलो छैन । मेरो बुझाइमा हास्य यस्तो चिज हो, जुन दुखमा कहिल्यै आउँदैन । यो केवल सुख र प्रसन्नतामा मात्र आउँछ । मान्छेको शरीरका रक्त कोशिकाहरू र दिमागका नशाहरू जबसम्म एकदमै राम्रो मुडमा हुँदैनन्, तबसम्म हाँसो निस्किँदैन । हाँसो निस्किनका लागि मन र मस्तिष्क पूरै सफा हुनुपर्छ ।

अलिकति मात्र दुख भयो भने पनि हाँसो आउँदैन । मान्छेले दिनमा चार–पाँच चोटी मात्रै पनि मज्जाले खित्का छोडेर हाँस्न पाए शरीरका तन्तुहरू आफैँ रिसाइकल भएजस्तो हुन्छ । त्यसैले त म भन्छु, ‘हाँसो एउटा शक्तिशाली थेरापी हो, एउटा अचूक औषधि हो ।’

सामाजिक सञ्जालमा कहिलेकाहीँ हाँस्नका लागि हााँसिने कुराहरू आउँछन् भने कुनै कुरा त यस्ता हुन्छन् जुन नहाँसौं भन्दा पनि रोक्नै सकिँदैन । एक्सन ओरिएन्टेड हाँसोहरू दोहोर्‍याएर हेर्न पनि रमाइलो हुन्छ भने संवादमा आधारित हाँसो चाहिँ दोस्रो पटक सुन्दा ठिकै मात्र लाग्छ । आजभोलि मान्छेहरू हाँस्न बिर्सिरहेका छन् । जताततै तनाव छ । मान्छेका आकांक्षाहरू, चाहनाहरू र अस्वस्थ प्रतिस्पर्धा यति बढ्यो कि उसले आफ्नो खुसी नै कता हरायो पत्तै पाएन । उसले भन्दा मैले धेरै कमाउनु पर्छ, ऊभन्दा म ठुलो हुनुपर्छ भन्ने यो होडबाजीले मान्छेलाई आफैँले आफैँलाई दुःख दिने ठाउँमा पुर्‍याएको छ । यदि मान्छेले साधारण जीवन जिउने संकल्प गर्ने हो भने मात्र पनि उसलाई धेरै कुरामा हाँस उठ्न थाल्छ । 

तर विज्ञान र प्रविधिको यो दौडमा मान्छेको जीवन असाध्यै जटिल भएको छ । दिनको चार–पाँच पटक मात्रै भए पनि खित्का छोडेर हाँस्न पाउनु ठुलो भाग्य हो । एक्लै हुँदा पनि कतिपय कुराहरू सोचेर हाँस्न सकिन्छ, जसले शरीरका तन्तुहरूलाई पुनर्जीवित (रिसाइकल) गरेजस्तो महसुस गराउँछ । 

भनिन्छ रुवाउनभन्दा हसाउन गाह्रो छ । मेरो अनुभवमा यी दुवै काम उत्तिकै चुनौतीपूर्ण छन् । मान्छेको मनैदेखि हाँसो निकाल्न पनि उत्तिकै मेहेनत चाहिन्छ र उसको आँखामा आँसु ल्याउन पनि उत्तिकै गहिराइ चाहिन्छ । तर एउटा कुरा के सत्य हो भने, यदि मान्छे पहिले नै दुःखमा छ भने उसलाई अलिकति दुःख थपिदिँदा आँसु सजिलै झर्छ । तर त्यही तनावपूर्ण स्थितिमा रहेको मान्छेलाई हसाउन चाहिँ साँच्चै गाहै हुन्छ । 

harirr

मेरो हास्य यात्रा बाल्यकालदेखि सुरु भएको हो । म स्कुलमा छँदा टिचरहरूले पढाएर क्लासबाट बाहिर निस्किने बित्तिकै म अगाडि गएर उहाँहरूको क्यारिकेचर गर्थेँ । साथीहरू निकै हाँस्थे । फलानो सरको गर् न, फलानोको जस्तो बोल न भनेर उनीहरूले मलाई उक्साउँथे । उनीहरूको हाँसो र उक्साहटले मलाई झन् हौसला दिन्थ्यो । त्यतिखेर मलाई थाहा थिएन कि यो मेरो भविष्यको पेसा बन्नेछ । 

मेरो जीवनको पहिलो हास्यमा पहिलो स्टेज यात्राको कथा पनि निकै रोचक छ । मलाई अझै सम्झना छ, ७, ८ कक्षामा पढ्दा एउटा नाटकमा मलाई पर्दा पछाडिबाट कुकुर भुक्ने रोल दिइएको थियो । त्यतिबेला अहिलेको जस्तो इन्टरनेटमा साउन्ड इफेक्ट पाइँदैनथ्यो । साथीहरूले त साँच्चैको कुकुरलाई ल्याएर माइकको अगाडि कुटेर भुकाउने योजना बनाएका थिए । तर मैले म भुक्न सक्छु भनेपछि उनीहरूले मलाई मौका दिए । म यति राम्रोसँग भुकेछु कि नाटक सकिएपछि मलाई राम्रोसँग कुकुर भुकेको हुनाले यो प्रमाणपत्र दिइएको छ भनेर सर्टिफिकेट नै दिइयो । मेरो कलाकारिताको पहिलो पहिचान नै त्यही थियो ।

सुरुका दिनहरूमा स्टेज चढ्दाको डर अर्कै हुन्थ्यो । २०३४ सालको गाईजात्रा महोत्सवमा प्रज्ञा भवनमा राजा र राजपरिवारका सदस्यहरू अगाडि बसेर मेरो प्रस्तुति हेर्दै हुनुहुन्थ्यो । म यति धेरै नर्भस भएँ कि कण्ठ पारेको डायलग नै बिर्सिएँ । तर स्टेजमा पुगेपछि राजाहरू पनि त मान्छे नै हुन्, म पनि मान्छे हुँ, डराउनु हुँदैन भनेर आफैँलाई सम्झाएँ । त्यसपछि बिर्सिएका डायलगहरू सरासर सम्झनामा आए । आज यति वर्ष भइसक्यो, तैपनि नयाँ प्रोग्राम लिएर स्टेज जाँदा अहिले पनि एक किसिमको डर त लाग्छ नै । 

मेरो पारिवारिक परिवेश अलि फरक थियो । म सानै छँदा आमाबुबा बित्नुभयो । मलाई संगीत र कलामा सानैदेखि रुचि थियो । एकपटक मेरो भिनाजुले इन्डियाबाट ‘माउथ अर्गन’ ल्याइदिनुभएको थियो । तर मेरो आमाले बाहुनको छोराले यस्तो बाजा बजाउनु हुँदैन भनेर त्यो सामान नै लुकाइदिनुभयो । पछि जब म सफल भएँ, चिनिन थालेँ, तब दिदीहरूले पनि मेरो प्रतिभामा गर्व गर्न थाल्नुभयो । प्रज्ञा भवनमा बिभिन्न शोमा भाग लिनथाले । ति शोहरूले मलाई पहिचान मात्र दिएनन्, अलिअलि पैसा पनि दिन थाले । त्यसपछि मात्र यो पेसा सम्मानित र भरपर्दो रहेछ भन्ने विश्वास बढ्यो ।

हास्य गुण जन्मजातै

मलाई लाग्छ, हास्य कलाकारमा हुने गुण केही हदसम्म जन्मजात नै हुन्छ । तर त्यो गुणलाई निखार्ने र बढाउने काम चाहिँ अभ्यासले मात्र गर्छ । जति धेरै तल्लीन भयो, जति धेरै पिर गर्‍यो, त्यति नै यो कला माझिँदै जान्छ । हामीले एउटै प्रहसन तयार पार्न महिनौँ मेहेनत गर्थ्यौँ । पहिले एउटा कन्टेन्टले वर्षभरि पुग्थ्यो, किनकि डिजिटल मिडिया थिएन । अहिलेका भाइबहिनीहरूलाई म एकदमै सम्मान गर्छु । उहाँहरूले हप्तैपिच्छे नयाँ कन्टेन्ट निकाल्नुपर्छ, जो निकै चुनौतीपूर्ण काम हो । 

हामीले काम सुरु गर्दा पञ्चायत व्यवस्था थियो । राजनीतिक दलहरू प्रतिबन्धित थिए । हामीले व्यङ्ग्यको माध्यमबाट जनताका कुराहरू बोल्थ्यौं । सरकारले हामीलाई जोकर सोचेर सुरुमा खासै वास्ता गरेन, तर जब क्यासेटहरूको लोकप्रियता बढ्यो, तब सेन्सर कडा हुन थाल्यो । अञ्चलाधीशहरूले स्क्रिप्ट पढ्थे । तर हामी पनि बाठा थियौँ–लेखेर दिँदा एउटा दिन्थ्यौँ, स्टेजमा अर्कै बोलिदिन्थ्यौँ । हास्यव्यङ्ग्यको सुन्दर पक्ष नै घुमाएर भन्नु हो । सिधै भन्यो भने त्यो गाली हुन्छ, तर शब्दलाई खेलाई–खेलाई भन्यो भने त्यो व्यङ्ग्य बन्छ ।

hari

मलाई खुसी लाग्छ कि आज हास्य क्षेत्र धेरै विकसित भएको छ । टेलिभिजन इन्डस्ट्री नै हास्यव्यङ्ग्यले धानिरहेको छ । नयाँ पुस्तामा एकसेएक प्रतिभाशाली कलाकारहरू आएका छन् । यद्यपि, कहिलेकाहीँ द्विअर्थी शब्दहरूको प्रयोगले गर्दा अलि हल्कापन हो कि जस्तो महसुस हुन्छ । दर्शकको चाहना र समयको माग भनेर यसलाई छुट त दिन सकिएला, तर एउटा मर्यादाभित्र बसेर गरिने हास्यको आयु सधैँ लामो हुन्छ ।
मेरो लागि हास्यव्यङ्ग्यमा लागेर पाएको सबैभन्दा ठुलो उपलब्धि भनेको जनताको माया, इज्जत र यो पेसाप्रतिको दृष्टिकोणमा आएको परिवर्तन हो । पहिले हामीलाई जोकर भन्ने समाजले अहिले प्रतिष्ठित कलाकारको दर्जा दिएको छ । यो पेसाबाटै जीवन चल्यो, नाम र दाम दुवै मिल्यो । नयाँ पुस्तालाई म यही भन्न चाहन्छु –यो सजिलो पेसा होइन, यसमा टिकिरहन गाह्रो छ । त्यसैले गम्भीर अध्ययन र समाजप्रतिको दायित्व बुझेर मात्र यस क्षेत्रमा आउनुहोस् ।

अहिले म एउटा हास्यव्यङ्ग्य निबन्धहरूको किताबमा काम गर्दैछु । मेरो काम नै मान्छेलाई खुसी बाँड्नु हो, र यो यात्रा निरन्तर चलिरहनेछ । अन्त्यमा, मलाई यति धेरै माया गर्ने सम्पूर्ण दर्शकहरूलाई धन्यवाद दिन चाहन्छु । तपाईँहरू नै हाम्रो भगवान् हुनुहुन्छ । तपाईँहरूको मूल्याङ्कन र मायाले नै आज म यहाँसम्म आइपुगेको हुँ ।

आज विश्व हास्य दिवस हो । हास्य दिवसको सबैमा शुभकामना ! सधैँ हाँसिरहनुहोस्, किनकि हाँसो नै सबैभन्दा ठुलो औषधि हो । 

(दिग्गज हास्यकलाकार हरिवंश आचार्यसँग रातोपाटीका लागि कुबेर गिरीले गरेको कुराकानीमा आधारित)  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिवंश आचार्य
हरिवंश आचार्य
लेखकबाट थप