कलाकारलाई लाग्यो चुनाव : फुसर्दिला र पाका कलाकार उम्मेदवार
सारांश
- नेपाल चलचित्र कलाकार संघको २०औँ महाधिवेशन आगामी जेठ ३ गते हुँदैछ, जसको तयारीका लागि कलाकारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
- यस पटकको निर्वाचनमा ५३६ जना कलाकारले मतदान गर्नेछन्, जसमा ३२५ जना आजीवन सदस्य र २११ जना साधारण सदस्य छन् ।
- मुख्य प्रतिस्पर्धा अभिनेता सविन श्रेष्ठ र कलाकार उत्तम केसीबीच हुने देखिएको छ, जसले आ-आफ्नो एजेन्डासहित चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
काठमाडौँ । अचेल सामाजिक सञ्जालमा कलाकारहरूका उम्मेदवारी घोषणासम्बन्धी पोस्टहरूको बाढी छ । देशमा कुनै आम निर्वाचन नजिकिएर यो चहलपहल बढेको भने होइन, यो तयारी त नेपाल चलचित्र कलाकार संघको २०औँ महाधिवेशनको तयारी हो ।
आगामी जेठ ३ गते हुने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । पर्दाका नायक, नायिका, सह–कलाकारदेखि खलपात्रसम्म चुनावी मैदानमा उत्रिएका छन् ।
विगतझैँ यसपटक पनि उम्मेदवारहरूको सूची हेर्दा लाग्छ– संघ–संस्था फुर्सदिलाले चलाउने हो ।
उम्मेदवारहरूको सूचीमा हाल चलचित्र क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित अनुहारभन्दा पनि केही समयदेखि पर्दामा कम देखिएका र पाका उमेरका बढी छन् ।
यो महाधिवेशन निकै उतारचढावका बीच हुन लागेको हो । यसअघि गत चैत्र २८ गतेका लागि तय गरिएको महाधिवेशन सदस्य विवादका कारण स्थगित भएको थियो । नयाँ सदस्य वितरण र नवीकरणमा धाँधली भएको भन्दै केही कलाकारहरूले असन्तुष्टि जनाएपछि संघभित्र आन्तरिक कलह चर्किएको थियो । तर, वर्तमान अध्यक्ष मोहन निरौलाका अनुसार अहिले ती सबै विवादहरू सुल्झिसकेका छन् ।
‘पहिलेको मितिमा हामीले सदस्य विवादका कारण निर्वाचन कमिटीलाई समयमा नामावली बुझाउन सकेका थिएनौँ’, अध्यक्ष निरौलाले भने, ‘अहिले सबै समस्या टुङ्ग्याएर नामावली बुझाइसकेका छौँ। अब महाधिवेशन समयमै हुनेछ ।’
महाधिवेशनको तयारी समेत सकिएको निरौलाको भनाइ छ । यस पटकको निर्वाचनमा ५३६ जना कलाकारहरूले मतदान गर्नेछन्, जसमा ३२५ जना आजीवन सदस्य र २११ जना साधारण सदस्य रहेका छन् ।
दुई प्यानल, छैन राजनीतिक दल
विगतका महाधिवेशनहरूमा कलाकारहरू स्पष्ट रूपमा राजनीतिक दलका प्यानल बनाएर चुनाव लड्ने गरेको देखिन्थ्यो, तर यसपटकको चित्र केही फरक र रोचक देखिएको छ । यस पटक मुख्य गरी दुई वटा प्यानल चुनावी मैदानमा छन्, जसमा विभिन्न राजनीतिक आस्था बोकेका कलाकारहरू एउटै टिममा अटाएका छन् ।
नेतृत्वका लागि अभिनेता सविन श्रेष्ठ र कलाकार उत्तम केसीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सविन श्रेष्ठ हालका महासचिव हुन् भने उत्तम केसी अघिल्लो महाधिवेशनमा महासचिवका प्रत्यासी थिए, यी दुवैका लागि अध्यक्ष पदको यात्रा पहिलो हो ।
अध्यक्ष उम्मेदवार केसी र श्रेष्ठ कलाकार संघका लागि आ–आफ्नो एजेन्डासहित प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरू दुवैले उठाएका एजेन्डा केही मिल्दाजुल्दा छन् भने केही फरक तर आकर्षक छन् ।
अध्यक्ष सविनको प्यानलबाट उपाध्यक्षमा पनाह अधिकारी र उद्धव प्रसाद भट्टराई चुनावी मैदानमा छन्। त्यस्तै महासचिवमा रामेश्वर बुर्लाकोटी र सचिवमा चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ उम्मेदवार बनेका छन् ।
कोषाध्यक्षमा पवित्र आचार्य र सह–कोषाध्यक्षमा पवन केसीले र सदस्य पदका लागि विनोद भट्टराई, नविन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, सुलेमान शंकर (इकु), छुल्ठीम गुरुङ, रामकृष्ण श्रेष्ठ, सुपा खनाल र राजेश गोसाईं चुनावी दौडमा छन् ।
अर्काेतर्फ केसी प्यानल पनि उत्तिकै बलियो देखिएको छ । यस प्यानलमा पूर्वअध्यक्ष रवीन्द्र खड्काको साथ रहेको चर्चा छ । यो प्यानलको उपाध्यक्षमा शिवहरि बैरागी र पुजना प्रधान रहेका छन् । महासचिवमा सुनिल कटुवाल र सचिवमा गोपाल ढकाल ‘छन्दे’ले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा तेजुला खतिवडा र सह–कोषाध्यक्षमा गीत नेपाल चुनावी प्रतिस्पर्धामा छन् । सदस्यहरूका लागि कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर, प्रेम पाण्डे, जीवन थापा, दमन रुपाखेती, सामना सिटौला, लक्ष्मण चौलागाईं, अनुमति नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाल, इन्द्रदोङ आम्दे, चन्द्रकला दाहाल र गोकुल सुवेदी चुनावी मैदानमा उत्रिएका छन् ।
कस्ता छन् अध्यक्ष उम्मेदवारका एजेन्डा ?
अध्यक्ष उम्मेदवार केसी र श्रेष्ठ कलाकार संघका लागि आ–आफ्नो एजेन्डासहित प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरू दुवैले उठाएका एजेन्डा केही मिल्दाजुल्दा छन् भने केही फरक तर आकर्षक छन् ।
उम्मेदवार केसीका एजेन्डामा संस्थागत सुधार र अधिकारको रक्षाको कुरा छन् । ‘एकता, सम्मान र अधिकार — कलाकारको भविष्य, हाम्रो जिम्मेवारी’ भन्ने मुख्य नारा बनाएका केसीले सार्वजनिक गरेको एजेन्डामा संघको गरिमा बढाउने र संस्थालाई थप व्यवस्थित बनाउने बताएका छन् ।
सदस्यता शुल्कमा सहुलियत र समायोजन, स्वास्थ्य र उपचार, पारिश्रमिक र अधिकार, भवन व्यवस्थापन, समन्वय र पहिचानलगायत छन् ।
त्यस्तै, सविनको एजेन्डाले अग्रजको सम्मान र स्वास्थ्य सुरक्षामा जोड दिएका छन् । अग्रज कलाकारको पुनस्र्थापना, औषधि र स्वास्थ्य सुरक्षा, कलाकारलाई कामको सहजता र सुटिङ सेटमा सहज वातावरण, जुझारु संस्था निर्माण, इमानदार नेतृत्व लगायत एजेन्डा उठाएका छन् ।
दुवैले थप एजेन्डा एक कार्यक्रमसहित सार्वजनिक गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण