बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

लोकतान्त्रिक मोर्चा सङ्कटमा, रेशम चौधरीले छाडे साथ

बुधबार, २३ वैशाख २०८३, ११ : ४७
बुधबार, २३ वैशाख २०८३

सारांश

  • संघीय लोकतान्त्रिक मोर्चा सङ्कटमा परेको छ, जसको नेतृत्व जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले गरिरहेका छन् ।
  • मोर्चाका बैठकहरूमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छैनन्, नागरिक उन्मुक्ति पार्टी नेपाल बाहिरिएको छ र तमलोपा तथा जनमत पार्टीका नेताहरूको उपस्थिति पनि अनिश्चित छ ।
  • नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले नेतृत्व छाड्ने पक्षमा दलका नेताहरू नदेखिएकाले मोर्चामा बस्नुको औचित्य नभएको भन्दै आफूले मोर्चा छाडेसरह नै बुझ्दा हुने बताएका छन् ।

काठमाडौँ । तराई मधेस केन्द्रित दल मिलेर गठन भएको संघीय लोकतान्त्रिक मोर्चा सङ्कटमा परेको छ । मोर्चाको नेतृत्व जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले गरिरहेका छन् । यद्यपि अन्य दलहरूले मोर्चाप्रति त्यति चासो देखाएका छैनन् ।

संरक्षक ठाकुरले बेलाबेलामा आफ्नो पुरानो पार्टी कार्यालय बबरमहलमा बैठक बोलाउने गरे पनि अन्य दलका नेताहरूले त्यति चासो नलिएको बताइएको छ । मोर्चाका एक नेताले भने, ‘कहिलेकाहीँ राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो बैठकमा आउनुहुन्छ । त्यसबाहेकका नेताहरू बैठकमा समेत आउन छाड्नुभएको छ ।’

फागुन २१ मा चुनाव सम्पन्न भएपछि मोर्चाको बैठक पटक–पटक बसेको छ, तर कुनै पनि बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छैनन् । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल उक्त मोर्चाबाट बाहिरिइसकेको छ । वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा पनि बैठकमा अनुपस्थित हुन थालेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत कहिले बैठकमा आउने र कहिले नआउने गरिरहेका छन् ।

जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकता घोषणा भए पनि हालसम्म त्यसले पूर्णता पाएको छैन । त्यसैले मोर्चाको बैठकमा जसपा नेपाल र लोसपा नेपालका नेताहरू उपस्थित हुन्छन् । पटक–पटक बैठक बसे पनि त्यो प्रभावकारी हुन सकेको छैन । हालै बसेको मोर्चाको बैठकमा ‘पार्टी एकीकरणको खाका’ प्रस्तुत गरिएको छ । अर्को बैठकमा खाकामाथि छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

अहिलेसम्म मोर्चाको बैठक अनिश्चित बनेको छ । जसपा नेपालका नेताहरू लोसपा नेपालसँग एकता टुङ्गो नलागेसम्म अरु दलसँगको एकता प्रक्रिया अगाडि नबढाउने पक्षमा देखिएका छन् । जसपा नेपालका एक नेताले भने, ‘अहिले जसपा नेपाल र लोसपा नेपालबिच भएको एकता नै टुङ्गिएको छैन । अरु दलसँग तत्काल एकता अगाडि बढाउनु बेकार हुन्छ । अहिले हामी लोसपा र जसपा नेपालबिचको एकता टुङ्ग्याउनेतिर लागेका छौँ ।’

राष्ट्रिय मुक्ति पार्टीका एक नेताका अनुसार लोसपा र जसपा नेपालको एकता प्रक्रियामा के भइरहेको छ भन्ने उनीहरूबिचकै कुरा हो, तर मोर्चामा रहेका दलहरूको बिचमा एकता प्रक्रिया अगाडि बढाउन ढिला गर्नु हुँदैन । मोर्चामा एकताका लागि खाका पनि प्रस्तुत भइसकेको र त्यसमा छलफल गरेर तत्कालै अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उनले बताए । एकता नगर्ने हो भने स्पष्ट गर्नुपर्ने, अन्यथा दलहरूलाई अन्योलमा राख्न नहुने उनको भनाइ छ ।
 
एकताको प्रस्ताव पहिला जसपा नेपालबाटै आएको, तर अहिले आएर पार्टीहरूमा नेतृत्व परिवर्तनको कुरा उठ्न थालेपछि जसपा नेपाल पछाडि हट्न थालेको मोर्चाका नेताहरूको आरोप छ । नयाँ बन्ने पार्टीमा अहिलेको कुनै पनि अध्यक्ष नेतृत्वमा नरहने खाका प्रस्ताव गरिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्व छाड्ने पक्षमा देखिएका छैनन् । उनले एकीकृत पार्टीको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान लिएका छन् । त्यही भएर एकता प्रक्रियालाई उनले टार्न खोजेको मोर्चाका कतिपय नेताहरूको गुनासो छ ।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले भने, ‘नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने आवश्यकता छ, तर मोर्चामा रहेका दलका नेताहरू नेतृत्व छाड्ने पक्षमा देखिएका छैनन् । त्यसकारण त्यो मोर्चामा बस्नुको औचित्य छैन ।’

आफूले मोर्चा औपचारिक रूपमा नछाडेको तर अब छाडेसरह नै बुुझ्दा हुने चौधरीले प्रस्ट पारे । अब पुरानो तौरतरिकाले पार्टी नचल्ने उनको भनाइ छ । नेता, विचार, सिद्धान्त, कार्यदिशा सबै परिवर्तन हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि मोर्चामा रहेका दलका अध्यक्षहरू तयार हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप