बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एल क्लासिकोअघि रियलमा तनाव : चुवामेनीसँग ड्रेसिङ रुममा झगडापछि भालभर्डे अस्पताल भर्ना

शुक्रबार, २५ वैशाख २०८३, ११ : ५७
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • रियल मड्रिडका फेडेरिको भालभर्डे र औरेलिएन चुवामेनीबिचको झगडापछि भालभर्डे टाउकोमा चोट लागेर अस्पताल भर्ना भएका छन्।
  • यो घटना एल क्लासिको भन्दा तीन दिनअघि भएको हो र टाउकोको चोटका कारण भालभर्डेले बार्सिलोनाविरुद्धको खेल गुमाउने निश्चित भएको छ।
  • क्लबले भालभर्डेलाई १० देखि १४ दिनसम्म आराम गर्नुपर्ने जानकारी दिएको छ र दुवै खेलाडीमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाएको छ।

म्याड्रिड । स्पेनिस जाइन्ट रियल मड्रिडका मिडफिल्डर फेडेरिको भालभर्डे र औरेलिएन चुवामेनीबिच ड्रेसिङ रुममा झगडा भएपछि भालभर्डे टाउकोमा चोट लागेर अस्पताल भर्ना भएका छन्।

यो घटना आइतबार बार्सिलोना विरुद्ध हुने महत्त्वपूर्ण ‘एल क्लासिको’ भन्दा ठीक तीन दिनअघि बिहीबार बिहान भएको हो । टाउकोमा लागेको चोटका कारण भालभर्डेले बार्सिलोनाविरुद्धको खेल गुमाउने निश्चित भएको छ।

भालभर्डेले आफू अस्पताल गएको स्वीकार गरे पनि चुवामेनीसँग हातहालाहाल भएको कुरालाई भने अस्वीकार गरेका छन्। उनले आवेशमा आएर तर्कवितर्क गर्ने क्रममा झुक्किएर टेबलमा टाउको ठोक्किएको र निधारमा सानो चोट लागेपछि परीक्षणका लागि अस्पताल जानुपरेको बताएका छन्।

यद्यपि, क्लबले उनलाई ‘कन्कसन’ अर्थात् टाउकोमा गम्भीर चोट लागेको पुष्टि गर्दै १० देखि १४ दिनसम्म पूर्ण आराम गर्नुपर्ने जानकारी दिएको छ। रियल मड्रिडले यस घटनालाई लिएर दुवै खेलाडीमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाएको छ।

इन्स्टाग्राममा एक विज्ञप्ति जारी गर्दै भालभर्डेले लेखेका छन्, ‘मेरो टिममेटले मलाई कहिल्यै प्रहार गरेनन् र मैले पनि उसलाई हिर्काइनँ, यद्यपि मानिसहरूलाई हामीबिच हातहालाहाल भयो भन्ने पत्याउन सजिलो होला तर त्यसो भएको होइन।’

सिजनको अन्त्यतिर टिमले संघर्ष गरिरहेको देख्दा उत्पन्न भएको निराशा र रिसका कारण टिममेटसँग बहस हुन पुगेको भन्दै उनले माफी समेत मागेका छन्। उनले थपेका छन्, ‘यो परिस्थितिले मलाई दुखी बनाएको छ। मलाई लाग्छ कसैले यहाँ अफवाह फैलाइरहेको छ र उपाधिविहीन सिजन भएकाले हरेक कुरालाई अतिरञ्जित बनाइँदैछ।’

बुधबार पनि यी दुई खेलाडीबिच झगडा भएको खबर सार्वजनिक भएको थियो। रियलका कर्मचारीहरूले यस घटनालाई क्लबको प्रशिक्षण केन्द्र ‘भाल्डेबेबास’ मा अहिलेसम्मकै सबैभन्दा गम्भीर घटनाका रूपमा वर्णन गरेका छन् । घटनापछि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज, प्रशिक्षक अल्भारो अर्बेलोआ र कप्तान ड्यानी कार्भाहालबिच आपतकालीन बैठक समेत बसेको छ।

रियलका लागि यो सिजन निकै निराशाजनक रहेको छ। ला लिगामा बार्सिलोनाभन्दा ११ अंकले पछि रहेको रियल च्याम्पियन्स लिगबाट पनि बाहिरिसकेको छ। आइतबारको खेलमा जित निकाल्न नसके बार्सिलोनाले तीन खेल बाँकी छँदै लिग उपाधि रक्षा गर्नेछ। यस्तो संवेदनशील समयमा ड्रेसिङ रुमभित्र देखिएको विवादले क्लबलाई थप संकटमा पारेको छ।

यसअघि अल्भारो करेरास र एन्टोनियो रुडिगरबिच पनि विवाद भएको चर्चा चलेको थियो भने स्टार स्ट्राइकर किलियन एम्बाप्पे बिदा मनाउन सार्डिनिया गएको विषयमा समर्थकहरूले असन्तुष्टि पोखिरहेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप