मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

प्रलोपाले अँगाल्यो वामपन्थी विचारधारा, एकता र ध्रुवीकरणको नीति

शुक्रबार, २५ वैशाख २०८३, १३ : ३५
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफूलाई वामपन्थी, प्रगतिशील, देशभक्त र समाजवादी धाराको रूपमा स्थापित गर्ने निर्णय गरेको छ ।
  • प्रलोपाले समान विचार भएका शक्तिहरूसँग एकता र ध्रुवीकरणको नीति लिएको छ र संगठन सुदृढीकरणका लागि जनवर्गीय संगठन तथा स्थानीय तहसम्म कमिटी निर्माण गर्ने योजना अघि सारेको छ ।
  • पार्टीले सुकुम्बासी समस्याको न्यायोचित समाधानको माग गरेको छ र डा. बाबुराम भट्टराई तथा सुदन किराँतीको पार्टीबाट बाहिरिने निर्णयलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको छ ।

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीलाई वामपन्थी, प्रगतिशील, देशभक्त र समाजवादी धाराको रूपमा स्थापित गर्ने निर्णय गरेको छ । साथै प्रलोपाले समान विचार राख्ने शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने नीति लिएको छ।

पार्टीको अध्यक्ष परिषद्को बैठकले पहिलो एकता महाधिवेशनसम्मका लागि सन्तोष परियारको अध्यक्षतामा बैठकहरू सञ्चालन गर्ने गरी कार्य विभाजन समेत गरेको छ। गत वैशाख ११ र १२ गते सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष परिषद्ले सांगठनिक र राजनीतिक निर्णयहरू सार्वजनिक गरेको हो । 

बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको निर्मम समीक्षा गर्दै पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेकोमा गम्भीर आत्मआलोचना गरेको छ। सांगठनिक कमजोरी, पार्टी निर्माणको छोटो अवधि, आर्थिक अभाव र निर्वाचन तालमेलका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकाल्दै पार्टीले आगामी दिनमा विगतका कमजोरी नदोहोर्‍याउने संकल्प गरेको छ।

प्रलोपाले अबको राजनीतिक यात्रामा समाजवादी उद्देश्यका लागि गठन भएका नयाँ पार्टी, समूह र व्यक्तिहरूसँग संवाद, सहकार्य र एकताको नीतिलाई प्राथमिकता दिने निर्णय गरेको छ। सोही उद्देश्य अनुरूप पहिलो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गर्नका लागि ‘केन्द्रीय महाधिवेशन सचिवालय’ गठन गरिएको छ। उक्त सचिवालयमा अध्यक्ष परिषद्का सदस्यहरू, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरूको प्रतिनिधित्व रहनेछ भने प्रदेश सहइन्चार्ज र आयोगका प्रमुखहरूलाई आमन्त्रित सदस्यको रूपमा राखिएको छ।

पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा पनि बैठकले  निर्णय लिएको छ। गत वैशाखको केन्द्रीय कमिटी बैठकमा केही नेताहरूबाट भएको अराजक र अनुशासनहीन क्रियाकलाप भएको भन्दै प्रलोपाले आगामी दिनमा यस्ता गतिविधिहरूलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय शुक्रबार जारी विज्ञप्तिमा उल्लेख  छ।

संगठन सुदृढीकरणका लागि जनवर्गीय संगठन र जातीय एवं क्षेत्रीय मोर्चाका एकता भेलाहरू आयोजना गर्ने तथा स्थानीय तहसम्म कमिटीहरू निर्माण गर्ने कार्ययोजना अघि सारिएको छ। यस्तै, पार्टीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन स्थानीय तहलाई उत्पादन कार्यमा जोड्ने नीति लिइएको छ।

सामाजिक मुद्दाहरूमा प्रलोपाले सुकुम्बासी समस्याको न्यायोचित र दीर्घकालीन समाधानको माग गरेको छ। सुकुम्बासीहरूमाथि सरकारले अमानवीय व्यवहार देखाएको भन्दै भत्सर्नासहित पार्टीले उनीहरूको पक्षमा आवाज उठाउने निर्णय गरेको छ। आर्थिक व्यवस्थापनका लागि केन्द्रीय सदस्य र उम्मेदवारहरूले आर्थिक संकलन गर्ने र लेबी प्रणालीलाई नियमित बनाउने निर्णय समेत भएको छ।

यसैबीच, पार्टीका संरक्षकका रूपमा रहेका डा.बाबुराम भट्टराईले कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने इच्छा व्यक्त गरेपछि पार्टीले उनको व्यक्तिगत छनौटको सम्मान गर्दै शुभकामना व्यक्त गरेको छ।

त्यसैगरी, अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टीको साधारण सदस्य समेत नरहने गरी दिएको सार्वजनिक वक्तव्यपछि पार्टीले उनलाई पनि आगामी राजनीतिक यात्राको सफलताको शुभकामना दिएको छ।

बैठकले निष्क्रिय रहेका वा राजीनामा दिएका सदस्यहरूसँग आवश्यक संवाद गरी उचित निर्णय लिने र महाधिवेशनको समग्र योजना निर्माणका लागि छिट्टै सचिवालयको बैठक आयोजना गर्ने निर्णय गरेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप