क्यानमा बहुमतबाट ६ वटा निर्णय, केही पदाधिकारी र केन्द्रीय सदस्यद्वारा बहिष्कार
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) को कोशी प्रदेशको साधारण सभाले विभिन्न ६ वटा निर्णय गरेको छ, जसमा केही पदाधिकारी र केन्द्रीय सदस्यले हस्ताक्षर नगरी बहिष्कार गरेका छन् ।
- संघले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बाट प्राप्त आम्दानी देशभरका ४५ वटा जिल्ला क्रिकेट संघहरूमा परिचालन गर्ने र प्रत्येकलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
- क्यानले यस वर्षदेखि हरेक वर्ष डिसेम्बरमा 'क्यान एनुअल अवाड्र्स' आयोजना गर्ने घोषणा गरेको छ र आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन तथा एनपिएलको आय-व्यय विवरण पारित गरेको छ ।
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को कोशी प्रदेशको विराटनगरमा आइतबार सम्पन्न वार्षिक साधारण सभाले विभिन्न ६ वटा निर्णय गरेको छ । यद्यपि उक्त निर्णय प्रक्रियामा भने केही पदाधिकारी र केन्द्रीय सदस्यले भने उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
क्यानको केन्द्रीय समितिमा निर्वाचित १७ र मनोनित २ जना गरेर १९ जना छन् । यसअघि एनपिएलको हिसाव किताव पारदर्शीता लगायतको माग गर्दै उपाध्यक्ष रोशन सिंहसहित थप ८ जना केन्द्रीय सदस्यले सचिव पारस खड्कालाई निवेदन दिएका थिए । साधरणसभामा सहभागी हुने ८७ मध्ये कतिजनाले हस्ताक्षर गरेनन् भन्ने विषय भने खुलेको छैन । यद्यपि स्रोतले ९ जनाले हस्ताक्षर नगरेको दाबी गरेको छ ।
उता, साधरणसभाले भने तल्लो तहको क्रिकेटलाई मजबुत बनाउन र खेलाडीहरूलाई प्रोत्साहित गर्न नयाँ योजनाहरू अघि सारेको छ । संघले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बाट प्राप्त भएको आम्दानीलाई देशभरका ४५ वटै जिल्ला क्रिकेट संघहरूमा परिचालन गर्ने निर्णय गरेको छ ।
जसअनुसार प्रत्येक जिल्ला संघले २ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्राप्त गर्नेछन् । यसका साथै, जिल्लाहरूले गर्ने क्रिकेट गतिविधि र कार्यक्रमहरूको प्रभावकारिताका आधारमा थप ‘स्कोर कार्ड ग्रान्ट’ समेत उपलब्ध गराउने नीति संघले लिएको छ ।
खेलाडीहरूको सम्मान र प्रोत्साहनका लागि क्यानले यसै वर्षदेखि हरेक वर्षको डिसेम्बरमा ‘क्यान एनुअल अवाड्र्स’ आयोजना गर्ने घोषणा गरेको छ । यस अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष र महिला), लाइफ टाइम एचिभमेन्ट अवार्ड र मोमेन्ट अफ द इयर जस्ता विधाहरूमा पुरस्कृत गरिनेछ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदनका साथै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो संस्करणको आय–व्यय विवरणलाई पारित गरेको छ । त्यसैगरी, सन् २०२६ का लागि संघको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेटलाई समेत सभाले अनुमोदन गरेको छ ।
आगामी दिनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) वा एसियाली क्रिकेट परिषद (एसीसी) बाट थप कार्यक्रमहरू प्राप्त भएमा त्यसलाई वार्षिक बजेट र कार्यक्रममा समायोजन गरी कार्यान्वयन गर्ने पूर्ण अख्तियारी केन्द्रीय कार्यसमितिलाई दिइएको प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साधारणसभामा क्यानका केन्द्रीय पदाधिकारी, सातै प्रदेश र विभिन्न जिल्ला संघका प्रतिनिधि, खेलाडी प्रतिनिधि र क्रिकेटसँग आबद्ध व्यक्तित्वहरूको सहभागिता थियो ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध युवा तथा खेलकुद मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेपछि उत्पन्न विवादका बीच सचिव पारस खड्काले संस्थाको हिसाब–किताब पारदर्शी रहेको दाबी गरेका छन् ।
विराटनगरमा आयोजित क्यानको वार्षिक साधारणसभाको उद्घाटन सत्रपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्काले क्यान र नेपाल प्रिमियर लिग (एनपीएल) लाई लिएर नियोजित रूपमा भ्रम फैलाइएको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका आर्थिक विवरण र कागजात उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई क्यानमाथि कारबाही गर्न निर्देशन दिएको छ । पटक–पटकको पत्राचारलाई अटेर गरेको आरोप लगाउँदै मन्त्रालयले चित्तबुझ्दो जवाफ नआए क्यानलाई निलम्बनसम्म गर्न सकिने चेतावनी दिएको छ ।
यस विषयमा सचिव खड्काले भने, ‘संस्थाको काम मन नपर्ने बित्तिकै अख्तियारमा बेनामी उजुरी गर्ने र भ्रम फैलाउने प्रवृत्ति हाबी भयो । हिसाब–किताब हेर्न चाहने सदस्यहरू कार्यालयमै आएर कागजात हेर्न सक्नुहुन्छ, तर संस्थाका गोप्य दस्ताबेज इमेलमार्फत जथाभावी पठाउने प्रावधान छैन ।’ उनले क्यानले आवश्यक सबै कागजात सम्बन्धित निकायमा बुझाइसकेकाले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
क्यानभित्र कुनै राजनीतिक हस्तक्षेप नरहेको र संस्था एकढिक्का भएर अगाडि बढिरहेको उनको दाबी छ । एनपीएलले नेपाली क्रिकेटमा ल्याएको व्यावसायिकतालाई सबैले सकारात्मक रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
क्रिकेट पूर्वाधारबारे चर्चा गर्दै खड्काले तल्लो मूलपानी मैदानलाई क्यानको स्वामित्वमा ल्याउन पहल भइरहेको र विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिए । आगामी वर्ष महिला यू–१९ विश्वकप आयोजनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिले मैदान निरीक्षण गरिरहेको उनले बताए । नेपालको मुख्य लक्ष्य ओडिआई मान्यता जोगाउँदै आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) बन्नेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
-
संसद्का चार विषयगत समितिको बैठक बस्दै
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण