बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

विपक्षीको टिप्पणी : बालेन सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमा जलप मात्रै

सोमबार, २८ वैशाख २०८३, १८ : ४९
सोमबार, २८ वैशाख २०८३

सारांश

  • आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई विपक्षी दलहरुले कर्मकाण्डी र झुटको पुलिन्दाको संज्ञा दिएका छन् ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यक्रममा ठूलो परिवर्तन नदेखिने र केही जलप लगाएको टिप्पणी गरेका छन् ।
  • प्रमुख सचेतक ऐन महरले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने र गन्तव्यविहीन रहेको बताएका छन् ।

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई विपक्षी दलहरुले कर्मकाण्डीको संज्ञा दिएका छन् भने सत्तारुढ दलका सांसदले धेरै राम्रो कार्यक्रम आएको दाबी गरेका छन् ।

सोमबार दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सय बुँदे नीति तथा कार्यक्रमप्रति विपक्षी दलका नेताहरुले यस्तो टिप्पणी गरेका हुन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यक्रम निरन्तरमा  कर्मकाण्डी भएको टिप्पणी गर्दै कर्मकाण्डमा केही जलप लगाएर नीति तथा कार्यक्रम आएको बताए ।

‘यसले ठुलो परिवर्तनको दिशा लिने देखिँदैन । गरिनेछ, भनिनेछ जस्ता विषय छन्’, उनले भने, ‘२०८७ मा शुद्ध खानेपानी पहिलाकै कार्यक्रम हो ।’ उनले जनताको बिचमा देखिएको उर्लंदो र उरालिएको आकांक्षा र राष्ट्रिय स्रोत साधनस्रोतलाई कसरी सन्तुलन गर्ने र कस्तो बजेट आउँछ भन्नेमा प्रतीक्षा गर्नुपर्ने बताए । 

‘केही गर्न खोजिएजस्तो पनि छ तर एक्सन हेर्नुपर्छ । कर्मकाण्डभित्र केही जलप लगाएजस्तो भान पार्न खोजिएको छ । कार्यक्रम भन्दा पनि व्यवस्थापन मुख्य हो,’ सांसद केसीले भने । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री उठेर नहिँडेको भए राम्रो हुने बताए ।

अर्को प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा बाहेक अरु केही नभएको टिप्पणी गरे । ‘नीति तथा कार्यक्रम झुटको पुलिन्दा बाहेक केही होइन । कार्यन्वयन हुन नसक्ने खालको देखिन्छ’, महरले भने । 

एमालेका सांसद गुरु बरालले कार्यक्रम नितान्त परम्परावादी आएको बताए । ‘कार्यक्रमको कुनै गन्तव्य छैन’, उनले भने । 

नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यक्रममा नयाँ कुरा केही नआएको बताए ।

‘बालेन शाह नेतृत्वको नयाँ सरकारले केही आशा र उत्साहजनक नीति तथा कार्यक्रम ल्याउला भन्ने आशा लिएका थियौँ । तर नयाँ शब्द नआउँदा ऊर्जा हराएको जस्तो लाग्यो’, संसद् भवन परिसरमा सञ्चारकर्मीसँग दुलालले भने, ‘आफूले नै ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरेर नसक्दै प्रधानमन्त्रीले सुन्न बोर लागेर होला छोडेर हिँड्नुभयो । यो निरन्तरताको कार्यक्रम हो । यसमा नयाँ र कार्यान्वयन गर्न गाह्रो कुनै कुरा देखिएको छैन ।’

सत्तारुढ दल रास्वपाका सांसद जगदीश खरेलले समग्रमा धेरै राम्रो कार्यक्रम आएको बताए । ‘सामान्यतया विपक्षी दलले नीति तथा कार्यक्रम राम्रो भनेको सुनिँदैन’, पूर्वमन्त्री समेत रहेका खरेलले भने, ‘नीति तथा कार्यक्रम समग्रमा धेरै राम्रो छ । यसका आधारमा बजेट आउँछ र थप निखारता दिन्छ ।’

रास्वपा सांसद लीमा अधिकारीले सरकारको जोड सुशासनमा केन्द्रित रहेकाले सोही अनुसारको कार्यक्रम आएको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप